लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा नगरपालिकाको बजेट तपाइहरुलाई कस्तो लाग्यो ? यस्तो छ बजेट (पुर्णपाठ सहित )

IMG

नगर उप–प्रमुख श्री जगेश्वरदेवी चौधरीज्यूबाट नगरसभामा पेश भएको


आर्थिक वर्ष २०८१/०८२ को

बजेट वक्तव्य


तिलोत्तमा नगरपालिका

नगर कार्यपालिकाको कार्यालय

कुञ्जलापुर,मणिग्राम,रुपन्देही, लुम्बिनी प्रदेश, नेपाल

मिति : २०८१/०३/१०

 

आदरणीय नगरसभाका सभाध्यक्ष ज्यू, नगरसभाका सम्पूर्ण सदस्यज्यूहरु, सभाका सचिव ज्यू तथा टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हेरिरहनुभएका र रेडियोबाट यस कार्यक्रमको प्रत्यक्ष प्रसारण सुनिरहनु भएका नगरबासी लगायत सम्पूर्ण महानुभावहरु

तिलोत्तमा नगरपालिकाको नगर उप–प्रमुख एवं बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजकको हैसियतले म यस सम्मानित नगरसभामा आगामी आर्थिक वर्ष ०८१/०८२ वार्षिक बजेट प्रस्तुत गर्न उपस्थित भएको छु । 


यस अवसरमा सर्वप्रथम मुलुकको सार्वभौमसत्ता, स्वाधिनता, भौगोलिक अखण्डता, राष्ट्रिय हित स्वाभिमान, लोकतन्त्र तथा सामाजिक न्याय र परिवर्तनका लागि भएका विभिन्न आन्दोलनहरुमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने  सम्पूर्ण ज्ञात अज्ञात सहीदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथै  सवै प्रकारका आन्दोलनहरुको नेतृत्व गर्नुहुने अग्रजहरुप्रति हार्दिक सम्मान व्यक्त गर्दै घाईते, बेपत्ता एवं पिडित परिवारहरुलाई स्मरण तथा सम्मान व्यक्त गर्न चाहन्छु । 


नेपालको वर्तमान संविधानमा उल्लेखित राज्यका निर्देशक सिद्धान्त तथा नीतिहरु संघ र प्रदेश सरकारका नीति तथा कार्यक्रम, चालु आवधिक योजना, दीगो विकासका लक्ष्य, संघीय, प्रादेशिक तथा स्थानीय ऐन, कानून र कार्यविधिहरुबाट निर्देशित हुँदै यसै सम्मानित नगरसभाबाट स्वीकृत नगर सरकारको आ.व ०८१÷०८२ को  नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्ने गरी एंवम नीति तथा कार्यक्रमको उद्देश्य “समृद्ध नगर खुशी नगर वासी” को मुल मर्मलाई आत्मसात गर्दै  बजेट तर्जुमा गरेको छु । यसै गरी राजनैतिक दलका नेतृत्वका सुझाव, विगतको अनुभव, नागरिक समाज, निजी क्षेत्र, सहकारी क्षेत्र, टोल विकास संस्था, स्थानीय सामुदायिक संघ संस्था, वुद्धिजीवी,सरोकारवाला निकाय, संचारकर्मी लगायतका क्षेत्रहरुबाट विभिन्न माध्यमबाट प्राप्त राय, परामर्श तथा रचनात्मक सुझावहरुलाई समेत समेट्दै आगामी आ.व. २०८१/०८२  को अनुमानित बजेट प्रस्ताव गरेको छु । 


यो बजेट तिलोत्तमाबासीको तीव्र विकासको उत्कट चाहनालाई आत्मसाथ गरी सबै क्षेत्रको समतामुलक विकासलाई दृष्टिगत गर्दै तयार पारिएको छ। तिलोत्तमा नगरले स्थापित गरेको गरिमालार्ई थप उचाँइमा पुर्याउने गरी ल्याइएको यस बजेटले तिलोत्तमा नगरपालिका भित्रका बहुआयामिक पक्षहरुलाई सम्बोधन गर्ने प्रयत्न  गरेको छ।


वित्तीय संघीयता अनुरुप विभिन्न तह र निकायहरुबाट प्राप्त हुने अनुदान र राजस्वलाई प्राथमिकीकरण गरी बजेटका प्राथमिकता र उद्धेश्य हासिल हुने कार्यक्रमहरुमा लगानी केन्द्रित गरेको छु । यो लगानीबाट, कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि, गरिबी न्यूनिकरण र रोजगारी तथा स्वरोजगारका अवसरमा वृद्धि गर्दै समग्र नगरको सन्तुलित विकास हासिल हुने अपेक्षा गरेको छु।


यस बजेटमा नगर सरकारको क्षेत्राधिकार भित्रका कर तथा गैरकर, राजश्व परिचालन र व्यवस्थापनलाई प्राथमिकतामा राखिएको छ । निर्धारित समयमै विकास आयोजनाको नतिजामूलक कार्यान्वयन गर्नको लागि संचालित महत्वपूर्ण योजनाहरुलाई आगामी आ.व.मा सम्पन्न गर्ने गरी प्राथमिकताका साथ बजेटको व्यवस्था गरेको छु ।


बजेट मार्फत रोजगारी सिर्जना गर्ने, अनुत्पादक तथा अनावश्यक खर्च घटाउने, चालु खर्चमा मितव्ययिता ल्याउने गरी बजेट प्रस्ताव गरेको छु । यसैगरीे मध्यमकालिन खर्च संचरना अनुरुप योजनाको प्राथमिकीकरण सहित स्रोतको सुनिश्चितता गरी बजेटलाई बढी बस्तुपरक र कार्यान्वयनयोग्य बनाईएको छ । 


यस बजेटको सबल कार्यान्वयनले नगरपालिकाको आर्थिक, सामाजिक, पूर्वाधार क्षेत्र, वातावरण तथा विपद व्यवस्थापन, सेवा प्रवाह , स्थानीय न्याय निरुपण र सांस्कृतिक तथा मानव विकासमा थप टेवा पुग्ने अपेक्षा लिएको छु । 


आदरणीय सभाध्यक्षज्यू

आगामी आ.व. २०८१/०८२ को बजेट देहायका उद्देश्य प्राप्तिमा केन्द्रित रहनेछ । “समृद्ध नगर ः खुसी नगरवासी“ भन्ने लक्ष्य हासिल गर्नको लागि वलियो आधार तय गर्नु यस बजेटको मूल उद्देश्य रहनेछ भने अन्य उद्देश्यहरु देहाय अनुसार रहेका छन् ।

क)   गुणस्तरीय स्वास्थ्य सेवाको पहँुच सबै नगरबासीमा सुनिश्चित गर्ने।

ख)  शिक्षा क्षेत्रमा लगानी गरी समग्र नगरको शिक्षाको गुणस्तरमा वृद्धि गर्ने।

ग) उपलब्ध साधन स्रोत, श्रम, शक्ति, पुँजी र प्रविधिको एकीकृत परिचालन मार्फत   

 रोजगारी सिर्जना गर्ने।

घ) मानविय विकास अवधारणाई मूर्त रुप दिने ।

ङ)समतामुलक समाज र समावेशी विकासलाई अगाडि बढाउने ।

च) उद्यमशिल नगर र नवप्रर्वतनमा आधारित योजना मार्फत युवा जनशक्तिलाई नगरमै सम्भावना देखाउने ।

छ) वातावरण विपदका क्षेत्रमा लगानी बृद्धि गरी समुन्नत र सुरक्षित नगर निर्माण गर्ने ।

ज) नगरको आर्थिक, भौतिक तथा सामाजिक पूर्वाधारको विकास गरी “समृद्ध नगर : खुसी नगरबासी“ को लक्ष्यलाई प्राप्त गर्ने । 


यस बजेटका प्राथमिकताहरु देहाय अनुसार रहेका छन् ।

क)   शिक्षा, स्वास्थ्य  तथा कृषि क्षेत्रको परिमाणात्मक र गुणात्मक अभिवृद्धि गर्ने।

ख)   कृषिको आधुनिकीकरण र व्यवसायिकरण गरी कृषिमा आत्मनिर्भर नगरपालिका बनाउने ।

ग)   पूर्वाधार विकास मार्फत नगरको रुपान्तरण गर्ने। 

घ) पर्यटन पूर्वाधार तथा ऐतिहासीक तथा पुरातात्विक स्थलहरुको संरक्षण गर्ने ।

ङ) वातावरण संरक्षण, विपद् व्यवस्थापन तथा जलवायु परिवर्तनका जोखिम पहिचान तथा  न्यूनीकरण गर्ने।

च) समविकास, समभाव मार्फत समग्र नगर वासीलाई एकताबद्ध बनाउने ।

छ) समन्यायिक विकास र विकासका प्रतिफलमा न्यायपूर्ण पहुँच कायम गर्ने।

ज)   शासकीय प्रबन्ध, भ्रष्टाचार नियन्त्रण, सुशासन र सेवा प्रवाहमा प्रभावकारिता र न्यायमा पहँच स्थापीत गर्ने। 


नगर सरकारले बजेटका उद्धेश्यहरु हासिल गर्न र प्राथमिकता प्राप्त आयोजनाहरु कार्यान्वयन गर्न संघीय सरकार र प्रदेश सरकारसँग समन्वय र सहकार्य गर्नेछ । नगरमा उपलब्ध श्रम, सीप पूँजी, क्षमता र ज्ञानको प्रभावकारी उपयोग गरी रोजगारी सिर्जना गर्न सहकारी र निजी क्षेत्रसँगको सहकार्यलाई प्राथमिकतामा राखिने छ ।



आदरणीय सभाध्यक्षज्यू,

अव म चालु आ.व. २०८०/०८१को हालसम्मको यथार्थ आय र व्यय तर्फको विवरण प्रस्तुत गर्न चाहन्छु ।

गत आ.ब ०८०/०८१ का लागि.बजेट रकम  रु.२ अर्व ७३ करोड ८४ लाख ३९ हजार  ५सय २९ को बजेट प्रस्तुत गरिएको थियो । जसमध्ये चालुतर्फ १ अर्व १ करोड ७२ लाख ५ हजार ९ सय ६६ र पूजिगत तर्फ रु.१ अर्व ७२ करोड १२ लाख ३३ हजार ५ सय ६३ खर्च अनुमान रहेको थियो । 


नगरसभाबाट स्वीकृत बजेट अनुसार आ.व. ०८०÷०८१ मा आन्तरिक राजश्व परिचालनतर्फ ४५ करोड २४ लाख ५० हजार लक्ष्य राखिएकोमा चालु आ.व.को ज्येष्ठ मसान्तसम्म १९ करोड ९७ लाख ६१ हजार ४ सय ६४ रुपैया उठेको छ । वित्तिय हस्तान्तरण मार्फत प्राप्त हुने अनुदान रकम चालु आवको जेष्ठ मसान्त सम्म १ अर्ब  ६३ करोड २१ लाख ८५ हजार ५ सय ७ रुपैया स्थानीय संचितकोषमा प्राप्त भएको छ


चालु आ.व को जेष्ठ मसान्त सम्म कुल खर्चको ४३.६५ प्रतिशत खर्च प्रगती भएको छ। जसमध्ये चालु तर्फ ६६.२ प्रतिशत र पुँजीगत तर्फ ३१.३२ प्रतिशत खर्च भएको छ। त्यसैगरी यस आ.वको जेष्ठ मसान्त सम्म ३२ करोड ५६ लाख ९० हजार २ सय ५८ रुपैया सामाजिक सुरक्षा भत्ता वितरण गरिसकिएको छ।


आदरणीय सभाध्यक्षज्यू,

अब म आगामी आ.व. २०८१/०८२ का लागि तिलोत्तमा नगरपालिकाको आम्दानीका स्रोतहरुको संक्षिप्त विवरण राख्न चाहान्छु ।

क) आन्तरिक राजश्वतर्फ : रु. ३२ करोड ६६ लाख २५ हजार रुपैया आम्दानी हुने लक्ष्य राखिएको छ । 

ख) अन्तर सरकारी वित्तिय हस्तान्तरण तथा बचतबाट ः रु. २ अर्व ४३ करोड ९५ लाख ९७ हजाररुपैया प्राप्त हुने लक्ष्य लिइएको छ। 

ग) आगामी आ.वमा नगरको  कुल बजेट रु  २ अर्व७६ करोड ६२ लाख २२ हजार रुपैया हुने प्रक्षेपण गरिएको छ । जसमध्ये चालु खर्च तर्फ १ अर्ब २४ करोड ४३ लाख ७४ हजार अर्थात ४४.९९ प्रतिशत र पूँजीगत तर्फ १ अर्व ५२ करोड १८ लाख ४८ हजार खर्च अर्थात ५५.०१प्रतिशत हुने अनुमान रहेको छ।


यसको विस्तृत विवरण अनुसूची १ मा समावेश गरिएको छ ।

यसका अतिरिक्त  संघीय तथा प्रदेश सरकार र अन्य साझेदार संस्था मार्फत सहलागानीका कार्यक्रम प्राप्त हुन सक्ने सम्भावना समेत रहेको हुँदा यसरी प्राप्त हुने बजेटबाट कार्यान्वयन गर्नको लागि साझेदारी कार्यक्रम अन्तरगत समेत बजेट प्रस्ताव गरेको छु।

आदरणीय सभाध्यक्षज्यू,अव म आगामी आ.व.को लागि क्षेत्रगत कार्यक्रम तथा विनियोजन प्रस्तुत गर्न चाहान्छु ।


स्वास्थ्य

स्वास्थ्य सेवामा सबै नागरिकको पँहुच सुनिश्चित गर्ने कार्यलाई थप सुधार सहित निरन्तरता दिईने छ । अपाङ्ग, अशक्त, दिर्घ रोगी, फोहोरमैलाबाट प्रभावितका लागि स्वास्थ्य विमा, जिरो होम डेलिभरी नगरपलिका घोषणा, गर्भवती तथा सुत्केरी सँग उपमेयर कार्यक्रम, वातानुकुलित खोप केन्द्र निमार्णका लागि आवश्यक बजेट विनियोजन गरेको छु । समग्रमा स्वास्थ्य क्षेत्रमा ९ करोड ४५ लाख २२ हजार  बजेट प्रस्ताव गरेको छु।


शिक्षा

शिक्षा क्षेत्रको समग्र विकासको लागि शिक्षा क्षेत्र सुधार कार्ययोजनाले निर्धारण गरे बमोजिम कार्यक्रम सञ्चालन गर्न, वालमैत्री नगरको दिगोपनाका लागि आवश्यक बजेट विनियोजन गरेको छु।

सामुदायिक विद्यालयहरुमा वालविकास कक्षा व्यवस्थापन, यातायातका साधनमा अनुदान, विद्यालयमा योग शिक्षा कार्यक्रम, आत्महत्या न्यूनिकरण तथा लागू औषध नियन्त्रण सम्बन्धी सचेतनामुलक कार्यक्रम, नगर प्रमुख शैक्षिक सुधार कार्यक्रमका लागि आवश्यक बजेट विनियोजन गरेको छु । नगरको समग्र शिक्षा प्रणालीमा सुधार गर्ने, शिक्षा क्षेत्रको समग्र विकास तथा  व्यवस्थापनका लागि समग्रमा शिक्षा क्षेत्रमा ४५ करोड ६९ लाख ८५ हजार बजेट प्रस्ताव गरेको छु।


कृषि, पशुपालन र सिँचाई 

नमूना कृषक प्रर्वद्धन, कृषिको व्यवसायीकरण, आधुनिकीकरण, कृषिमा आत्मनिर्भर नगरपालिका निर्माण, धान खेतीमा हाँस पालन, मल विउ विजन प्रविधीमा उत्पादनमा आधारित अनुदानका लागि आवश्यक वजेट विनियोजन गरेको छु ।

कृषि तथा पशुपन्छि विकास क्षेत्रको उत्पादन तथा उत्पादकत्व अभिवृद्धि र  बजारीकरणका क्रियाकलाप संचालन गर्न आवश्यक बजेटको प्रस्ताव गरेको छु। किसानलाई दुग्ध उत्पादनका आधारमा अनुदान दिने व्यवस्थालाई शतप्रतिशत बृद्धि गरी बजेट प्रस्ताव गरेको छु । समग्रमा कृषि, पशुपालन तथा सिँचाईका लागि २ करोड ३७ लाख ७९ हजार बजेट प्रस्ताव गरेको छु।



भवन, शहरी विकास र पूर्वाधार

एडिवि, वल्र्ड बैंक, दातृ निकाय, संघ प्रदेश सरकार सँगको सहकार्य, समन्वय र साझेदारीमा नगर क्षेत्र भित्रका भौतिक पूर्वाधार, सडक नाली तथा वहुृउद्देश्यीय भवनको स्तरउन्नती गर्ने र  मंगलापुर कान्छिबजार सडक यसै आ.व मा सम्पन्न हुने गरि कार्य अघि बढेको छ। एडिबि सँगको सहकार्यमा ठुला भौतिक पूर्वाधार निर्माण कार्य अघि बढाउने गरी आवश्यक बजेट प्रस्ताव गरेको छु। समग्रमा भवन, शहरी विकास र पूर्वाधार विकासका लागि ९८ करोड ७१ लाख  बजेट बिनियोजन गरेको छु।


वडा कार्यालयहरुको अधुरो वाउण्ड्रीवाल सम्पन्न गर्न, विभिन्न वडाहरुमा सभाहल, नगर प्रहरी आवास निमार्ण, कुञ्ज पार्क वाटर फाउण्टेन, ढाक्रेवास पर्यटन पूर्वाधार, मातृशिशु अस्पताल, खरको छानो मुक्त नगरपालिका, एक वडा एक किलोमिटर सडक निर्माण कार्य समेतलाई आवश्यक बजेट विनियाजन गरेको छु ।  



वातावरण तथा विपद् व्यवस्थापन एवं सरसफाई

तिलोत्तमा नगरपालिकालाई सुरक्षित समुन्नत र वातावरण मैत्री नगर बनाउन सिक्स लेन सडक सौन्दर्यीकरण, हरियाली प्रर्वद्धन, विपद स्वंम सेवक तालिम, आपतकालिन कार्य संचालन केन्द्रको व्यवस्थापन, उज्यालो तिलोत्तमा , विभिन्न पार्क तथा उद्यान निमार्ण, नदि कटान नियन्त्रण, करहिया बोटानिकल गार्डेन निर्माण, शव चिस्यान केन्द्र निमार्णकोे लागि आवश्यक बजेटको व्यवस्था गरेको छु ।  


युवा, खेलकूद तथा मनोरञ्जन 

युवामैत्री स्थानीय शासन घोषणा, फुटबल, भलिवल तथा क्रिकेट कप आयोजना तथा खेलकुद पूर्वाधार निर्माण लगायतका लागि  १ करोड ११ लाख ५० हजार बजेट विनियोजन गरेको छु।


लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण 

नगर प्रमुख नवप्रर्वतन कार्यक्रम तथा नगर उप प्रमुख उद्यमशिलता विकास केन्द्रको प्रभावकारी सञ्चालनका लागि आवश्यक बजेट विनियोजन गरेको छु।महिला, वालवालिका, जेष्ठ नागरिक, जातीय विभेद न्यूनीकरण, लैङ्गिक हिंसा न्यूनीकरण, समतामूलक समाज निर्माण र राज्यले अवलम्वन गरेको समावेशी विकासलाई प्रवद्र्धन गर्नका लागि  नगर सरकार प्रतिवद्ध रहेको छ । क्षेत्रगत जनसाख्यिक संरचना र सम्बन्धित वर्ग र समुदायको आवश्यकता अनुसार सामाजिक सुरक्षा, सीप विकास, आय आर्जन, लैङ्गिक मैत्री नगरपालिका निमार्ण, उद्यमशिल नगर, क्षमता विकास तथा सिप विकास तालिम  लगायत कार्यक्रममा आवश्यक बजेट विनियोजन गरेको छु। समग्रमा सामाजिक समावेशिकरणका लागि अनुमानित २ करोड ७९ लाख ७५ हजार बजेट रकम प्रस्तावित गरेको छु । 

सार्वजनिक सेवा प्रवाह, सुशासन तथा संस्थागत विकास


भ्रष्टाचार र अनियमितता विरुद्ध अवलम्बन गरिएको शुन्य सहनसिलताको नीतिलाई निरन्तरता दिई सेवा प्रवाहलाई सेवाग्राहीमैत्री र पारदर्शी वनाईने छ । स्थानीयवासीहरुलाई सूचनाको हकको प्रत्याभूत गराई संस्थागत सुशासन कायम गर्नको लागि सार्वजनिक रुपमा आवधिक समीक्षा, सार्वजनिक सुनुवाइ जस्ता कार्यक्रम संचालन गर्न आवश्यक बजेट व्यवस्था गरेको छु । सार्वजनिक सेवा प्रवाह र विकास  व्यवस्थापन कार्यलाई प्रविधीमैत्री र पारदर्शी बनाउनको लागि विद्युतीय प्रणालीको विकास गर्न आवश्यक बजेटको प्रस्ताव गरेको छु ।


नगरपालिकामा कार्यरत करार कर्मचारीहरुका लागि सामाजिक सुरक्षा कोषमा आवद्धता, वडा कार्यालयहरुमा घुम्ति शिविर, कर्मचारीहरुको क्षमता विकास तथा स्थानीय संचार क्षेत्रको विकास र सो क्षेत्रमा क्रियाशिल सञ्चारक्रमीहरुको क्षमता विकासको लागि आवश्यक बजेट विनियोजन गरेको छु। 


आकस्मिक पूर्वाधार

नगरक्षेत्रभित्रका आकस्मिक भैपरी आउने अत्यावश्यक भौतिक पूर्वाधार विकास र अन्य विकास सम्बन्धी कार्यका लागि मर्मत संभार कोषबाट सम्बोधन गर्न आवश्यक बजेट प्रस्ताव गरेको छु ।  साथै वडाको क्षेत्रभित्र पर्ने आकस्मिक र भैपरी आउने समस्याहरुलाई सम्बन्धित वडाभित्रैबाट तत्काल सम्वोधन गर्नको लागि प्रत्येक वडा समितिको निर्णय बमोजिम खर्च गर्ने व्यवस्थालाई निरन्तरताको लागि प्रस्ताव गरेको छु । 


आदरणीय सभाध्यक्षज्यू,

यसरी समग्रमा तिलोत्तमा नगरपालिकाको आ.व. २०८१/०८२ को कूल बजेटको आकार रु. २ अर्व ७६ करोड ६२ लाख २२ हजार रुपैया रहने गरी सन्तुलित बजेटको प्रस्ताव गरेको छु । जसमध्ये चालुतर्फ ४५.०१ प्रतिशत र पूजीगततर्फ ५४.९९ प्रतिशत खर्च प्रस्ताव गरिएको व्यहोरा सम्मानित सभा समक्ष पुनः जानकारी गराउन चाहन्छु।


मैले प्रस्तुत गरेको बजेटको कार्यान्वयनबाट समृद्ध नगर सुखी नगरवासीको लक्ष्यलाई मुर्त रुप दिने गरी नगरवासीहरुको जीवनस्तरमा प्रत्यक्ष रुपमा गुणात्मक परिवर्तन एवं नगर सरकारको प्रभावकारिताको अभिवृद्धि भई नागरिकहरुले स्थानीय सरकारको सवल र प्रभावकारी उपस्थिति रहेको महसुस गर्ने छन् भन्ने विश्वास लिएको छु । प्रस्तुत बजेट तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा आम स्थानीयवासी र सरोकारवाला सम्पूर्णबाट रचनात्मक सहयोगको अपेक्षा गर्दछु ।


यो बजेट तर्जुमा गर्दा मार्ग निर्देशन गर्नुहुने यस क्षेत्रलाई प्रतिनिधित्व गर्नुहुने संघ तथा प्रदेश सभाका माननीयज्यूहरु नगर प्रमुखज्यू, विषयगत समितिका संयोजकहरु, नगर कार्यपालिकाका सदस्यज्यूहरु, नगर सभाका सदस्यज्यूहरु, राजनीतिक दलका प्रतिनिधीज्यूहरु, प्रमुख प्रशासकीय अधिकृत लगायतका कर्मचारीज्यूहरु, टोल विकास संस्था, स्थानीय वुद्धिजीवी, नागरिक समाजका अगुवा, संघ संस्था, सहकारी, नीजि क्षेत्र, सञ्चारकर्मी लगायत सम्पूर्ण नगरवासीहरुमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।


जगेश्वर देवी चौधरी 

नगर उप–प्रमुख

मिति २०८१/०३/१० गते

कमेन्ट गर्नुहोस्