
प्रकाश पाण्डे, रुपन्देही, १ असार । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा नगरभित्रका सामुदायिक विद्यालयहरुलाई पालिकाले सवारी साधन संचालनको लागि अनुदानको ब्यवस्था गरेको छ । नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयलाई सवारी साधन खरिद गर्न पचास प्रतिशत अनुदान रकम उपलब्ध गराएको हो ।
समुदायमा शिक्षाको पहुँच बढाउन यस्तो अनुदानको कार्यक्रम लागु गरिएको तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँणले जानकारी दिनुभयो । वि.सं. २०७४ सालदेखि यस्तो अनुदानको कार्यक्रम सुरु गरिएको हो। हालसम्म मावि तहका १५ वटा विद्यालयलाई १० लाखका दरले पालिकाले रकम उपलब्ध गराएको छ । यो पचास प्रतिशत रकम हो ।पालिकाभित्र आधारभूत तथा मावि तहका ४२ वटा सामुदायिक विद्यालय रहेका छन् । बाँकी रहेका विद्यालयलाई क्रमशः रकम वितरण गरिने पालिकाले जनाएको छ । नगरपालिकाका शिक्षा तथा खेलकुुद शाखा प्रमुख गंगाराम आचार्यले मावि तहका विद्यालयलाई रकम वितरण गरेपछि आधारभूत तहका विद्यालयलाई क्रमशः बितरण गरिने उल्लेख गर्नुभयो । नगरभित्र दुईवटा गुरुकुल आवासीय विद्यालय पनि रहेका छन् ।
नगरपालिकाले सवारी साधन खरिद गर्न अनुदान रकम उपलब्ध गराएका विद्यालयलाई हरेक वर्ष १ लाखका दरले तेल खरिद गर्न समेत रकम उपलब्ध गराउने गरेको आचार्यले बताउनुभयो । तेल खरिद गर्न यो रकम प्रयाप्त भने नभएको विद्यालयहरुले जनाएका छन् ।गौतमबुद्ध मावि तिलोत्तमाका प्राचार्य मृगेन्द्रप्रसाद रिजालले नगरपालिकाले उपलब्ध गराएको १ लाख रकम प्रयाप्त नभएपनि केही महिनालाई सहयोग पुग्ने बताउनुभयो । यो अनुदानको कार्यक्रमले नगरको शैक्षिक विकासमा मद्दत पुर्याएको उहाँले उल्लेख गर्नुभयो ।तिलोत्तमाका आधारभूत तहका विद्यालयहरुले भने ईरिक्सा संचालन गरिरहेका छन् । कतिपयले भाडामा ईरिक्सा संचालन गरेका छन् । विश्वशान्ति सामुदायिक आधारभूत विद्यालयका प्राचार्य डोलराज पाण्डेले आधारभूत तहका विद्यालयलाई पनि सवारी साधान संचालनको लागि अनुदान रकम उपलब्ध गराउनुपर्ने माग गर्नुभयो । मावि तहका विद्यालयलाई दिइने तेल खर्च आधारभूत विद्यालयलाई पनि उपलब्ध गराउनुपर्ने उहाँको भनाई छ । आधारभूत तहका विद्यालयलाई खर्च ब्यवस्थापन गर्न कठिन रहेको पनि उहाँले उल्लेख गर्नुभयो ।
आगामी आर्थिक वर्षमा तिलोत्तमाका मधवलिया मावि र बरवलिया माविलाई सवारी साधान खरिद गर्न रकम उपलब्ध गराउने योजना रहेको नगरपालिकाले जनाएको छ। नगर कार्यपालिकाको बैठकले हरेक बर्ष विद्यालयमा विद्यार्थीको चाप र अवाश्यकता हेरेर उक्त रकम उपलब्ध गराउँदै आएको छ । हालसम्म सवारी साधन खरिद गर्न र तेल खर्च बापत तीन करोड रकम वितरण गरिसकेको नगरपालिकाले जनाएको छ ।
कमेन्ट गर्नुहोस्