लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमाको गर्भवती तथा सुत्केरीसंग उपमेयर कार्यक्रम प्रभावकारी बन्दै

IMG

तिलोत्तमा, जेष्ठ २९ गते २०८१। कुपोषणका कारण गरिव, मजदुर तथा बिपन्नहरुका बालबच्चामा कुपोषण देखा पर्दै गएपछि तिलोत्तमा नगरपालिकाले आफ्नो बजेट नीति तथा कार्यक्रममै कुपोषणका बिरुद्ध एक अभियान ल्यायो। अघिल्लो कार्यकालमै जनप्रतिनिधिको रुपमा उपप्रमुख जगेश्वर देवी चौधरीको सम्योजकत्त्वमा संचालित सो कार्यक्रमले निरन्तरता पाउँदै तिलोत्तमा भरिका गर्भवती तथा सुत्केरी आमासंगै बच्चाहरुमा समेत कुपोषण नहोस भनि अभियान नै चलायो। 


बढी जसो मजदुर बर्गका घरपरिवारमा देखिने कुपोषणले बच्चालाई मात्रै होइन आहाराको कमिमा आमाहरुलाई समेत असर पार्दै गयो। सोहि कुरालाई मध्येनजर गर्दै तिलोत्तमा नगरपालिकाका उपप्रमुख जगेश्वर देवी चौधरीले बजेटमै आहारका लागि कार्यक्रम राखी नगरभित्रका स्वास्थ्य चौकी बर्थिंग सेन्टरहरुमा सो सेवा उपलब्ध भएको बताउनुहुन्छ। 


नगर भित्रका महिलालाई स्वास्थ्य संस्थामै प्रसूति गराउने, गर्भवती तथा सुत्केरी महिला र नवजात शिशुमा हुने कुपोषणको दर घटाउन गर्भवती तथा सुत्केरी महिलासंग उपमेयर” कार्यक्रम सुरु गरिएको उपप्रमुख जगेश्वर देवी चौधरीको भनाई छ । सो कार्यक्रमबाट बाल मृत्युदर एवं मातृ मृत्युदर घटाउने लक्ष्य लिइएको र यसले दिगो विकासका लक्ष्यलाई पनि नगरपालिकामा लागू हुन सहयोग पुर्‍याउने अपेक्षा गरिएको उपप्रमुख चौधरीले बताउनुभयो। 


कार्यक्रम अन्तर्गत पालिकाले चारपटक सुत्केरी जाँच गरेको गर्भवती महिला तथा सुत्केरीहरुका लागि पौष्टिक आहार वितरण गर्दै आएको छ । तिलोत्तमा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ज्ञानप्रसाद पौडेलका अनुसार यसरी उपलब्ध गराइने पौष्टिक आहारमा स्वादिलो अण्डा, हरियो सब्जी, गेडागुडी,दुध, मासु लगायतका मिठो दलिया र विशेष प्रकारको पौष्टिक आहार वितरण सुरु गरिएको पौडेलको भनाई छ ।


साउनयता सुत्केरी भएकी ४५ दिने महिला तथा स्वास्थ्य संस्थामा नियमित जाँच गराइरहेकी गर्भवती महिलालाई उपप्रमुख चौधरी आफैं घरमा पुगी बधाई तथा शुभकामना दिँदै पोषण सामग्री वितरण गर्ने कार्यक्रम हुँदै आएको स्वास्थ्य शाखा तिलोत्तमाका स्वास्थ्य अधिकृत लक्ष्मी आचार्यले बताउनुभयो।  छन् । यसले महिलाहरुमा स्वास्थ्य संस्थाप्रति विश्वास बढाएको उहाँको भनाइ छ ।


सुबिधा सम्पन्न र दक्ष स्वास्थ्यकर्मी सहितको सेमरा स्वास्थ्यचौकी र आनन्दबन स्वास्थ्य चौकी गरि २ वटा बर्थिंग सेन्टर रहेको तिलोत्तमामा महिलाहरुले स्वास्थ्य संस्थालाई अधिकतम प्रयोग गरुन् भन्ने उद्देश्यले घरदैलोमा शुभकामनासँगै गर्भ अवस्थामा हुने जटिलताबारे पनि जानकारी पनि दिंदै आएको स्वास्थ्यकर्मी आचार्यले बताउनुभयो।


यसैबीच स्वास्थ्यकर्मीसँगै सम्बन्धित महिलाको घरघरमै पुगेर १ हजार ५० रुपैयाँ बराबरको पौष्टिक आहार वितरण गर्ने गरिएको छ । नगरपालिकामा सरदर वार्षिक करिव २९ सय शिशुहरु जन्मिने गरेको तथ्यांक रहेको छ । यस वर्ष पालिकाले करिव २० लाख बजेट बिनियोजन गरिएको नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाणले बताउनुभयो । उहाँले यो बजेट जन्मदर तथा बसाईसराई आउने र जनसंख्याको आधारमा अपुग भए आवश्यकता अनुसार थप रकम यसैको लागि छुट्टयाउन सकिने बताउनुभयो।


यससँगै तिलोत्तमाका सबै वडामा रहेको स्वास्थ्य चौकीबाट प्रसूति केन्द्रमा शिशु जन्म दिने महिलालाई नगद सहित सुपानेट पनि वितरण गर्ने गरिएको पौडेलले जानकारी दिए । यसरी सुत्केरीलाई आवश्यक पर्ने अण्डा, घ्यू, काजु, किसमिस, बदाम, नरिवल, ज्वानो, भेली र हर्लिक्स जस्ता सामाग्री खरिद गर्न सो रकम सहयोग गरिएको उनको भनाई छ। नगरपालिकामा यी प्रसुति केन्द्रमा जाने गर्भवती महिलाहरुलाई लक्षित गरी नि:शुल्क २ वटा एम्बुलेन्सको व्यवस्था पनि रहेको स्वास्थ्य शाखा प्रमुख ज्ञान प्रसाद पौडेलले जानकारी दिए ।


कमेन्ट गर्नुहोस्