
तिलोत्तमा,२०८१ जेष्ठ १ गते। मंगलापुर-कान्छीबजार सडक खण्ड अन्तर्गत दोस्रो चरणको निर्माण प्रक्रिया अघि बढाइएको छ। मंगलबार तिलोत्तमा नगरपालिका नगरप्रमुख रामकृष्ण खाणको प्रमुख आतिथ्यतामा शिलान्यास गरिएको छ। शिलान्यास गरीएसंगै सडकको निर्माण प्रक्रिया झन् तिव्र बन्नेमा नगरप्रमुख खाण आशाबादी हुनुभएको छ। यस्तो खालको सडक नगरपालिकाले एक्लै बनाउन नसक्ने भन्दै एडीबीको सहयोगमा नेपालमै यो ठुलो सहयोग रहेकोले सडक निर्माणलाई उत्सवको रुपमा हेर्दै सबैको सहयोग अपरिहार्य रहेको बताउनु भयो। नगरप्रमुख खाणले आयोजना समयमै सक्न र सडक निर्माण चरण पुरा गर्न स्थानियबासीसंगै जनप्रतिनिधि,प्राबिधिक र कर्मचारीसबैको सहयोग आवश्यक रहेकोले सबैलाई सहयोगी भूमिका खेल्न आग्रह गर्नुभयो।
मंगलापुर-कान्छीबजार सडक खण्ड अन्तर्गत मंगलापुर चोकदेखि पुर्वतर्फ केन्द्रबाट करिव ६.५ किलोमिटर मध्ये सडक बेवरा कान्छीबजार सडक जम्मा १.८४ निर्माण कार्य सुरु हुने तिलोत्तमा नगरपालिका योजना शाखाका प्रमुख इन्जिनियर प्रदिप वनले बताउनुभयो।हाल त्यस खण्डको सो सडक केन्द्रदेखि दुवै किनारातर्फ ४/४ मिटर छ। अब सडकलाई विस्तार गरी केन्द्रदेखि दुवै किनारातर्फ गरेर १३ मिटर बनाउने योजना छ। लामो समयअघि संचालन गरिएको बेवरा कन्छिबजार सडक जनसंख्या र सवारी साधनको वृद्धिपछि विस्तार आवश्यक परेको हो।
पहिलोपटक १ वर्षअघि एडीबीको सहयोगमा मंगलापुर कान्छीबजार सडक विस्तार आयोजना सुरु गरिएको थियो। पहिलो चरणमा मंगलापुरदेखि बेवरासम्मको निर्माण कार्य तिव्र रुपमा भैरहेको छ भने बेवरादेखि कन्छिबजार सडक निर्माण दोस्रो चरणमार्फत निर्माण गरिने नगरपालिकाका योजना शाखा प्रमुख प्रदिप बनले बताउनुभयो।करिव १ वर्ष १ महिनामा सम्पन्न गर्ने गरी निर्माण थालिएको दोस्रो चरणको बेवरा कान्छीबजार सडक विस्तारमा १९ करोड रूपैयाँ लाग्ने अनुमान गरिएको छ। बेवरामा वडा अध्यक्ष गोपाल प्रसाद घिमिरेको अध्यक्षतामा गरिएको शिलान्यास कार्यक्रममा निर्माण ठेक्का कम्पनी आशिष आशीर्वाद निर्माण सेवा, मकवानपुरका प्रतिनिधि, आयोजनाको सुपरभिजन हेर्ने कन्सल्ट्यान्ट टीमका टीम लिडर, जनप्रतिनिधि,स्थानियबासीहरुको उल्लेख्य उपस्थिति रहेको थियो।
कमेन्ट गर्नुहोस्