
तिलोत्तमा,२०८१ बैशाख १० गते।रुपन्देहीको तिलोत्तमा नगरपालिकाले ‘एक वडा एक किलोमिटर सडक कालोपत्रे’ गर्ने योजना अघि सारेको छ । गाउँ-गाउँमा सहजरूपमा यातायात सुविधा पुर्याउने उद्देश्यले नगरपालिकाले १७ वडाका ग्रामीण सडकमा कालोपत्रे गर्ने काम सुरु गरेको हो । नगर परिषद्ले निणर्य गरी चालु आर्थिक वर्ष २०८०/८१ बाट सञ्चालन गर्ने गरी बहुवर्षीय कार्यक्रमअन्तर्गत काम अगाडि बढाइएको हो । यसका लागि करिब रु १७ करोड बजेट समेत विनियोजन गरिएको छ ।
पहिलो चरणमा १ किमि सडक कालोपत्र हुनेछ भने क्रमशः सबै वडाका सबै सडक आगामी तीन/चार वर्षभित्र कलोपत्रे हुँदै जाने नगर प्रमुख रामकृष्ण खाणले जानकारी दिए । हरेक वडामा समयमै निर्माण सम्पन्न हुने गरि टेण्डर आब्हान गरी निर्माण कम्पनीलाई ठेक्का दिएर काम अगाडि बढाइएको छ । निर्माणमा गुणस्तरीयता कायम गर्न प्रयोगशाला परीक्षण गरिएका निर्माण सामग्री प्रयोग हुने गरि अस्फ़ाल्ट प्रबिधिबाट सडक निर्माण हुने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताए ।
नगरपालिकाले यहाँका ग्रामीण क्षेत्रका सबै वडामा कच्ची सडक निर्माणसँगै बाह्रै महिना सहजरूपमा यातायात सञ्चालनका लागि सडकमा कालोपत्र गर्ने काम गरेको हो। एक वडा एक किलोमिटर सडक कालोपत्र योजनाअन्तर्गत काम थालनी भइसकेको र आगामी जेष्ठ मसान्तभित्र सम्पन्न गर्ने लक्ष्यअनुसार काम भइरहेको सडक अनुगमनका क्रममा सम्पन्न मिति अगावै कार्य सम्पन्न हुनेमा आफु ढुक्क रहेको नगर उपप्रमुख जगेश्वर देवी चौधरीले जानकारी दिईन।सो अभियान अन्तर्गत वडा नम्बर-९ को १ किमि सडक अन्तिम दुई चरणमा सम्झौता भएपनी सम्पन्न मिति अगावै सम्पन्न भएको छ भने अन्य वडाको काम समेत सम्पन्न हुने अन्तिम चरणमा छ।
कमेन्ट गर्नुहोस्