लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

धार्मिक पर्यटन प्रवर्द्धनका लागि नेपालगन्ज-अयोध्या साइकल यात्रा

IMG

तिलोत्तमा सिटी,२०८० चैत्र २५ गते । नेपाल र भारतबिच धार्मिक पर्यटन प्रवर्द्धन गर्दै बढी भन्दा बढी भारतीय धार्मिक पर्यटक नेपालगन्ज भित्र्याउने उद्देश्यका साथ नेपालगन्ज साइक्लिङ्ग क्लबले नेपालगन्ज–अयोध्या साइकल यात्राको आयोजना गरेको छ । 


भारतीय नागरिकलाई नेपालगन्जको प्रसिद्ध धार्मिक शक्तिपीठ बागेश्वरी मन्दिरसम्म ल्याउन र नेपालगन्जदेखि भारतको अयोध्यास्थित राम मन्दिरसम्म नेपालीहरूलाई सहज रूपमा दर्शन गराउन प्रचारप्रसार गर्ने उद्देश्यले सो साइकल यात्रा गरिएको नेपालगन्ज साइक्लिङ्ग क्लबका पूर्व अध्यक्ष गगन थापाले बताउनुभयो । उहाँले सो यात्रामा नेपालगन्ज साइक्लिङ्ग क्लबका कोषाध्यक्ष राजेश गुप्ताको नेतृत्वमा ६ सदस्यीय साइकल टोली साइकलमै अयोध्यास्थित राम मन्दिर पुगेको बताउनुभयो । 


नेपालगन्जको वागेश्वरी मन्दिरबाट यात्रा सुरु गरेर सो टोली भारतको अयोध्यास्थित राम मन्दिरसम्म पुगेको छ । टोलीलाई पहिलो चरणमा बागेश्वरी मन्दिरबाट बिदाइ गरिएको थियो भने दोस्रो चरणमा नेपाल भारत नाका जमुनाहाबाट बिदाइ गरिएको नेपालगन्ज साइक्लिङ्ग क्लबका पूर्व अध्यक्ष थापाले बताउनुभयो । उहाँले जमुनाहा नाकामा बिदाईका क्रममा क्लबका साईकलिस्टहरूको टोलीलाई भारतको बाबागन्जसम्म स्कटिङ्ग गरेर पुर्‍याइएको बताउनुभयो । 


नेपालगन्जदेखि अयोध्याको दुरी १८० किमी छ । नेपालगन्ज साइक्लिङ्ग क्लबका कोषाध्यक्ष गुप्ताको नेतृत्वमा अयोध्या गएको टोलीमा क्लबका सदस्यहरू बाबुराम विश्वकर्मा, पुष्पराज न्यौपाने, प्रदीप बाहुन, विवेक यादव र रोहित चौहान सहभागी हुनुहुन्छ । टोलीले अयोध्यामा पुगेर बागेश्वरी मन्दिरको महत्त्व बारे त्यहाँका सन्त महन्त लगायत अगुवा व्यक्ति र संस्थाहरूलाई जानकारी गराउने काम  गरिरहेको क्लबका पूर्व अध्यक्ष थापाले बताउनुभयो । 


नेपालगन्ज–अयोध्या साइकल यात्राले दुवै ठाउँबिच धार्मिक पर्यटनको विकासमा ठुलो टेवा पुर्‍याउने विश्वास गरिएको नेपालगन्ज पर्यटन प्रवर्द्धन मञ्चका संयोजक कृष्ण प्रसाद श्रेष्ठले बताउनुभयो । उहाँले भारतीय धार्मिक पर्यटकलाई ठुलो सङ्ख्यामा आकर्षित गर्ने योजना बनाएर काम गर्न सके त्यसबाट देशकै आर्थिक अवस्था बलियो हुने बताउनुभयो। 


नेपालगन्ज साइक्लिङ्ग क्लबले पर्यटनको विकासका लागि टुर दी ठाकुरद्वारा लगायत विभिन्न धार्मिक र ऐतिहासिक महत्वका स्थानहरूसम्म साइकल यात्राको आयोजना गर्दै आएको क्लबले जनाएको छ । 

कमेन्ट गर्नुहोस्