लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

गृहमन्त्री पाण्डेयको आग्रह : विपद्को समयमा मर्यादा नखोजौं

IMG

तिलोत्तमा,२०८० चैत्र ७ गते।लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष कुमार पाण्डेयले विपद्को समयमा मर्यादा नखोज्न आग्रह गरेका छन् । उनले मानिसमा सेवा भाव नभएसम्म विपद् व्यवस्थापन प्रभावकारी बनाउन नसकिने बताए ।नेपाल सरकार गृह मन्त्रालय राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, लुम्बिनी प्रदेश सरकार गृह मन्त्रालयको आयोजनामा बुधबारदेखि रुपन्देहीको भैरहवामा सुरु भएको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन (डीआरआरएम) मा लैंगिक समानता, अपांगता र सामाजिक समावेशीकरण (जेईडीएसआई) को उद्घाटन कार्यक्रममा मन्त्री पाण्डेयले बताएका हुन् ।


उनले भने, ‘मन्त्रालय, सिडिओ वा कुनै व्यक्तिले मात्र गरेर विपद् व्यवस्थापन हुँदैन । सबैले आ–आफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्नुपर्छ । ’ कोरोना महामारीमा मर्यादा (प्रोटोकोल) खोज्न नहुने उनको भनाइ छ ।लुम्बिनी प्रदेश सरकारका प्रवक्ता समेत रहेका मन्त्री पाण्डेयले कोरोना महामारीको बेला पनि कतिपय अवस्थामा मर्यादाका कुरा गर्दा समस्या भएको बताए । उनले इमान्दारीका साथ काम गरे विकास सम्भव रहेको बताए ।उनले भने, ‘जबसम्म सोच परिवर्तन गर्न सक्दैनौं । कार्यक्रम गरेर, पूर्वतयारीका कुरा मात्र गरेर हुँदैन ।लुम्बिनी प्रदेश सरकारले विपद् व्यवस्थापनका लागि विभिन्न निकायसँग समन्वय गर्दै कार्यक्रम अघि बढाएको बताए । उनले थोरै सहयोग गरेर धेरै प्रचार गर्न नहुने बताए । उनले भने, ‘बुद्धको पवित्र भूमिमा छौं । मर्यादा खोजेर हुँदैन ।’


गृह मन्त्रालय लुम्बिनी प्रदेशका सचिव लालबाबु कवारीले लुम्बिनी प्रदेश विपद्को जोखिम भएको प्रदेश रहेको बताए । उनले यो प्रदेशमा भूकम्प, बाढी पहिरो, आगलागि, डढेलो जस्ता विपद् आउने गरेको बताए । विपद् व्यवस्थापनका सन्दर्भमा ७ वर्षे विपद् जोखिम न्यूनीकरण रणनीति बनाइएको उनले बताए । गृह मन्त्रालयले सुरक्षा निकायका लागि विपद् व्यवस्थापन सम्बन्धी सुरक्षा सामग्री खरिद गरेको उनले बताए ।


त्यस्तै गृह मन्त्रालय राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेलले विपद् जोखिम न्यूनीकरण गर्न विपद् व्यवस्थापन गर्न मिलेर काम भइरहेको बताए ।सामाजिक विकास मन्त्रालय लुम्बिनी प्रदेशकी अधिकृत शारदा बस्याल बेल्बासेले विपद्को समयमा मानव बेचबिखन तथा ओसारपसारको जोखिम उच्च हुने गरेको बताइन् ।नेपाल रेडक्रस सोसाईटी लुम्बिनी प्रदेश अध्यक्ष लाल प्रसाद पंगेनीले विपद् पश्चाच बढी ध्यान केन्द्रीत रहने तथा विपद् पूर्व ध्यान, योजना र नीतिगत रुपमा गर्ने अलि कम भएको जस्तो देखिएको बताए । तालिम शुक्रबारसम्म सञ्चालन हुनेछ  ।

कमेन्ट गर्नुहोस्