
तिलोत्तमा,२०८० फाल्गुण ३० गते। रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ का पुष्प व्यवसायी इश्वरी भण्डारी आफ्नै बारीमा चितुवा आएको थाहा पाएपछि एक महिनायता तनावमा छन् । ८ कट्ठा जग्गामा बेमौसमी फूल खेती संगै तरकारी र फलफुल बिऊ लगाएका उनी चितुवाका कारण तनावमा परेका हुन् । भण्डारीले फूलखेती गरेको जग्गामा एक महिनायता ८ पटक चितुवा आइसकेको उनले बताए। चितुवा राती आउने र खेतबारीमा पसेर बाली नष्ट गर्न थालेपछि आफू डरले निकै चिन्तित भएको भण्डारीले बताए । “फूलखेतीका लागि बनाएको मल्चिङमा कुल्चंदै चितुवाले बिरुवा खोस्रेर उखेल्लुका साथै पानीको पाइपमा समेत नोक्सानी पु¥याएको छ”–भण्डारीले भने ।
८ कट्ठा जग्गामा लगाएको फूलखेतीमा चितुवा पस्न थालेपछि आफूलाई रातिको समयमा जान समेत डर लाग्ने गरेको उनले बताए । “फूल लाग्न थालेपछि रातको समयमा पनि जानुपर्ने हुन्छ, चितुवा आउन थालेपछि जानको लागि डर भयो, मानिसलाई नै असुरक्षा भयो”–उनले भने ।रातको समयमा खेत खोस्रने र बालीलाई नोक्सान पु¥याउन थालेपछि चितुवाले नै हो भन्ने उनलाई लागेको थिएन । यसबारे पत्ता लगाउन भण्डारीले शंकरनगर वन बिहार तथा अनुसन्धान केन्द्रका उपाध्यक्ष खिमलाल पाण्डेलाई सोधे । पाण्डेले जनावरको पाइलाको तस्विर खिचेर जाउलाखेल चिडियाखानाका अधिकारीलाई पठाए । त्यहाँबाट वन्यजन्तुविज्ञहरुले पाईला हेरेपछि चितुवा हो भन्ने प्रमाणित गरेको र आफूलाई जानकारी गराएको भण्डारीले बताए ।
“बेमौसममा पनि फूल खेती गरेर बजारको आवश्यकता पूरा गर्ने योजना थियो, तर चितुवाले दिनहुँ तनाव दिएको छ, यसको नियन्त्रणका लागि वन कार्यालयले पहल गरिदिए हुन्थ्यो”–उनले भने। १५ दिन भयो प्राबिधिक टोली आएर हेरे अनि २ वटा क्यामेरा जडान गरी खोरमा समात्ने गरि काम गर्ने भनेका हुन् तर फर्केर न आएपछि आफु झनै चिन्तित भएको भण्डारीको गुनासो छ। फलफुल बिऊ, फुलखेती त मास्छ नै तर ज्यानै जोखिम हुने गरि चितुवा आउन थालेपछि उनको डरले ठाउँ छोडेको छ। यसबारेमा भण्डारीले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।
भण्डारीले फूलसँगै नर्सरी उत्पादन पनि गरेका छन् । गतवर्षसम्म १४ कट्ठा जग्गामा फूलखेती र नर्सरी गरेका उनले माग धान्न नसकेपछि यसवर्षको तिहारमा ४६ कट्ठामा फूल र नर्सरी उत्पादन गरेका थिए । जुन रुपन्देहीमै सबैभन्दा धेरै हो ।
कमेन्ट गर्नुहोस्