
तिलोत्तमा,२०८० फाल्गुण २१ गते। रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर-८ को आयोजनामा भान्सा सुधार तथा करेसाबारी सम्बन्धी तालिम शुरु भएको छ।वडा अध्यक्ष कृष्ण प्रसाद पौडेलको अध्यक्षता तथा नगर प्रमुख रामकृष्ण खाणको प्रमुख आतिथ्यतामा शुरु सो तालिममा करी १ सय जना सहभागी रहेका छन्। सोमबारबाट सुरु सो तालिम २ दिन अर्थात भोलि सम्म चल्ने छ। तालिममा भान्साबाट सर्ने रोग तथा यसबाट बच्ने उपाय र सुधार्नुपर्ने तरिका संगै घरको छत र करेसाबारीमा गरिने अर्ग्यानिक तराकारी खेतिको आवश्यकता, माटोको तयारी, बाली छनौट, बेर्ना उत्पादन, बेर्ना सार्ने प्रक्रिया, मलखाद ब्यवस्थापन, सम्भवित रोग र निदानका उपाय र बाली भित्र्याउने प्रक्रिया सिकाइएको वडा सचिव शिवु पाण्डेले बताए।
सो अवसरमा बोल्दै नगर प्रमुख रामकृष्ण खाणले भान्साबाटै धेरै सरुवा रोग आउने र स्वस्थ भान्सा भएमा मात्रै स्वस्थ जीवन जिउन सकिने बताए। नगर प्रमुख खाणले सबैको घरमा औसत आयु बढाउँन भान्सा बाट शुरु गर्नुपर्ने समेत बताए। त्यस्तै करेसाबारी र छत खेती गर्न इच्छुक तर बीउ र मल नहुने घर धनीले घरमै तरकारी फलफुल उब्जाए आफैमा आत्मनिर्भर समेत हुन सक्ने उनले बताए। वडाका महिला तथा पुरुषहरुलाई समय अनुसारको तरकारी खेती सम्बन्धी तालिम दिई बाँझो बारी र कौसीको सदुपयोग गर्न सिकाउन र भान्सा सुधार गराउन तालिमको आयोजना गरिएको वडा अध्यक्ष कृष्ण प्रसाद पौडेलले बताए।
सो तालिमको सहजीकरण गर्दै तिलोत्तमा आयुर्वेदिक औषधालयका प्रमुख प्रकाश ज्ञवालीले भान्साबाट रोग हरु फैलाउदै गएका कारण स्वास्थ्य बर्द्धक खानाको लागि सबै भान्सामा ख्याल गर्नुपर्ने बताए। तालिममा स्थानीय जातका तरकारी लगाउन प्रोत्साहन गरिने र हाइब्रीड जातको समेत जानकारी गराइने छ। भान्साबाट निस्कने फोहरलाई ब्यवस्थापन गरी मल बनाउने विधि समेत तालिममा सिकाइएको ज्ञवालीले बताए।कार्यक्रममा तिलोत्तमा वडा नम्बर ६ का अध्यक्ष गणेश पाठक, करहिया खानेपानीका अध्यक्ष यज्ञ गैरे, वडा सदस्यहरु, टोल बिकासका प्रतिनिधी , आमा समुहका प्रतिनिधी लगायत १ सय बढी वडा बासीहरुको उपस्थिति रहेको थियो।
कमेन्ट गर्नुहोस्