लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलौराकोटमा भेटियो छ्योरतेन

tillotmacitynews - 2024 Mar 03 11:13 PM
IMG

तिलोत्तमा सिटी २०८० फागुन २०  गते । प्राचीन शाक्य गणराज्यको राजधानी सहर तिलौराकोटस्थित पूर्वी विहार क्षेत्र उत्खनन गर्दा छ्योरतेन भेटिएको छ । यस वर्ष पनि पूर्वी विहार क्षेत्र र दरबार क्षेत्रभित्र रहेको केन्द्रीय संरचना परिसर थप अनुसन्धानका लागि उत्खनन गरिएको हो । लुम्बिनी विकास कोषका पुरातत्व अधिकृत हिमाल उप्रेतीका अनुसार तिलौराकोटस्थित पूर्वी विहार क्षेत्र उत्खनन गर्दा छ्योरतेन भेटिएको हो । उहाँले गत वर्षको उत्खननमा प्राप्त स्तूप, त्यसमाथि पोस्टहोल, टायल र गजुर भेटिएको हुनाले नेपालको उत्तरी भागमा यस्ता छ्योरतेन देख्न सकिने बताउनुभयो । 


उहाँले भन्नुभयो, “बुद्ध धर्मको प्रचार प्रसारका क्रममा यहाँका छ्योरतेन देखेर हिमाली क्षेत्रमा पनि हुबहु निर्माण भएको विश्वास गरिएको छ ।” पुरातत्व विभागका प्रमुख पुरातत्व अधिकृत भाष्कर ज्ञवालीका अनुसार उत्खननबाट भेटिएको संरचना कहिले बन्यो भने यकिन गर्नका लागि रेडियो कार्बन नाप गरेर मिति निर्धारण गरिने र त्यसको लागि माटोको नमुना प्रयोगशालामा पठाइएको बताउनुभयो ।


हिनयान र महायानमा पूजाआजा गर्न स्तूप निर्माण गरेसरह हिमाली बौद्धमार्गीले पूजाआजाका लागि छ्योरतेन निर्माण गर्ने गर्छन् । बौद्ध धर्मका जानकारका अनुसार सामान्य बोलीचालीको भाषामा यिनलाई माने भन्ने गरिए पनि तिब्बती भाषामा छ्योरतेन भन्ने गरिन्छ ।  नेपालको हिमाली क्षेत्रमा बौद्धमार्गीले छ्योरतेन यत्रतत्र निर्माण गर्ने गरेका छन् । पूर्वी विहार क्षेत्रको उत्खननबाट माटाका भाँडाका टुक्राहरू, कोइला, हाड, टायल, तामाका सिक्का भेटिएका छन् । नेपाल सरकारको तर्फबाट तिलौराकोटलाई सम्पदा सूचीमा सूचीकृत गर्न अन्तिम मनोनयन दस्ताबेज युनेस्को विश्व सम्पदा केन्द्रमा पेस गरिएको छ । युनेस्कोले सन् १९९६ मै ऐतिहासिक पुरातात्त्विक स्थल तिलौराकोटलाई सम्भावित विश्वसम्पदा सूचीमा राखेको थियो ।

कमेन्ट गर्नुहोस्