लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा हरियाली र सुन्दरताको पर्यायवाची हो : सांसद बासुदेव घिमिरे

IMG

तिलोत्तमा, माघ १७ गते २०८०। ग्रीन तिलोत्तमा,क्लीन तिलोत्तमाका अभियन्ता बासुदेव घिमिरेले तिलोत्तमाको सुन्दरता र हरियाली प्रबद्धनले नेपालमा मात्र नभएर अन्तराष्ट्रिय स्तरमा नगरको पहिचान बनाएको बताएका छन्। आफ्नै कार्यकालमा तिलोत्तमा नगरपालिकामा शुरु भएको यस अभियानले हालसम्म सार्थकता पाएको प्रति गर्व गर्दै सांसद घिमिरेले तिलोत्तमा हरियाली र सुन्दरताको पर्यायवाची भएको बताए। नमस्ते नेपालले आयोजना गरेको एक कार्यक्रममा प्रमुख अतिथिको रुपमा  सांसद घिमिरेको  उपस्थितिमा तिलोत्तमा नगरपालिकाको शंकरनगर स्वाथ्य चौकी परिसरमा सोमवार वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ । तीन हजार बेर्ना रोपिएको विशेष सन्दर्भ र नमस्ते नेपालका कोषाध्यक्ष वरदान आचार्यको जन्मदिनको सुखद् अवसरमा आयोजित उक्त वृक्षरोपण कार्यक्रममा प्रमुख अतिथि माननीय घिमिरेले आफू तिलोत्तमा नगरको मेयर हुँदा २०७४ साउनदेखि सञ्चालन गरिएको ग्रीन तिलोत्तमा,क्लीन तिलोत्तमा अभियानलाई सार्थक बनाउनका लागि नमस्ते नेपालसँग हातेमालो गरी अघि बढेको बताए।   


आफ्नो समयावधिमा दुई लाख ४० हजार बेर्ना रोपिएको र मलजलको प्रवन्ध गरी हुर्काउने काममा नगरपालिकाले उल्लेखनीय प्रगति गरेको जानकारी गराए । वृक्षरोपणले नगरको सुन्दरता थपिएको र दातृसंघसंस्थाहरुले सोही कारण सहयोग गर्न इच्छुक भएको समेत उनले उल्लेख गरे ।फजुल खर्च गर्नुको साटो नमस्ते नेपालले वृक्षरोपण गरेर जन्मदिन मनाउने चलनले वन,वातावरण र जैविक विविधता संरक्षणमा टेवा पुगेको संरक्षण अभियन्ता दलबहादुर गुरुङले बताए। संस्थाले रोपेका बेर्नाहरु कहाँ,कस्तो अवस्थामा छन् भन्ने कुरालाई समेत ख्याल गरेर आगामी दिनमा वृक्षरोपण अभियानलाई निरन्तरता दिनुपर्नेमा गुरुङले जोड दिए । पूर्वजनप्रतिनिधि तामनाथ पाण्डेयले नमस्ते नेपालका उल्लेखनीय कामप्रति आफू सधैं सहयोगी रहेको र रहने समेत बताए। युवाहरुको जोश,जाँगर र उन्नतशील कामप्रति आफू सधैं सकारात्मक बन्दै आएको पाण्डेयले उल्लेख गरे । 


उक्त कार्यक्रममा नमस्ते नेपालका संस्थापक अध्यक्ष अर्जुन खरेलले आफूहरुले पाँच वर्षदेखि निरन्तर यो कार्यक्रमलाई प्राथमिकता दिदै आएको बताउँदै युवाहरु संरक्षणका निम्ति सबैसँग हातेमालो गर्न तयार रहेको उल्लेख गरे।  नमस्ते नेपालले सामाजिक कार्यमात्र होइन,संरक्षणका क्षेत्रमा समेत उल्लेखनीय प्रगति गरेको उनले बताए ।जन्मदिनको अवसरमा बेर्ना रोप्दै आइएको र फजुल खर्चलाई रोक्ने कामप्रति आफूहरु सचेत रहेको जानकारी गराउँदै वरदान आचार्यले युवाहरुलाई उत्प्रेरणा जगाउने काममा प्रमुख अतिथि माननीय घिमिरेको भूमिका प्रशंसनीय रहेको बताए । नमस्ते नेपालका अध्यक्ष मनीष भुसालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन सचिव सन्दीप पौडेल क्षेत्रीले गरेका थिए ।


कमेन्ट गर्नुहोस्