तिलोत्तमा, माघ १३ गते २०८०। गौतमबुद्धको मावली जाने सिधाबाटो पर्ने मणिग्राम क्षेत्रको धार्मिक तथा ऎतिहासिक महत्व दर्शाउन मणिग्राम चोकमा पूर्णकदको बुद्ध प्रतिमा अनावरण गरिएको छ। सिद्धार्थ राजमार्ग मणिग्राम चोकको पश्चिम साइडमा बुद्ध मुर्ति अनावरण गरिएको छ भने सोही दिन पुर्व साइडमा राष्ट्रिय झण्डा समेत झन्डोत्तोलन गरिएको छ।
तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाणले शनिबार दुबै स्थानमा बुद्ध प्रतिमा र नेपालको राष्ट्रिय झण्डाको अनावरण गरेका हुन्।बुद्धको जन्मस्थल लुम्बिनीलाई चोक-चोकसंगै तिलोत्तमाको हाइवेमा पहिलो पटक तत्कालिन मेयर बासुदेव घिमिरेको पालामा सडकको बिच डिभाइडरमा मुर्ती राखिएको थियो। राष्ट्रप्रती एकताको भावना साथै राष्ट्रभक्ति जगाउन साथै ऐतिहासिक एवं प्राचिन स्थलहरूलाई लुम्बिनीसँगै जोडेर विकास गर्ने विभिन्न प्रयाससंगै धार्मिक पर्यटनका लागि नगरपालिकाले भूमिका खेल्ने बताउदै नगर प्रमुख खाणले बुद्ध र राष्ट्र भक्तिलाई एकसाथ लैजान सके नेपालमा पर्यटनको लहर झाङ्गिने कुरा व्यक्त गरेका थिए।
बुद्धस्थल तीर्थाटनको लागि नेपाल आउने धेरै जसो पर्यटक यहि बाटो भएर जाउने र लुम्बिनी जाने भएकाले त्यसबाट आन्तरिक तथा बाह्यय पर्यटनमा समेत टेवा पुग्ने उनको भनाई छ। नगर प्रमुख खाणले विश्वभरका पर्यटकलाई आकर्षित गर्ने गरी लुम्बिनीसँगै देवदह, तिलौराकोट लगायतका क्षेत्रमा ज्ञान प्राप्तिका लागि हिडेका बुद्धको प्राचिन स्थान र यस संग जोडिएका क्षेत्रको पहिचान गरी ती स्थानहरूको विकासमा सरकार लाग्नुपर्ने समेत बताए। कार्यक्रममा तिलोत्तमा नगरपालिका वडा नम्बर-५ का अध्यक्ष रमेश डुम्रे, वडा नम्बर ६ का अध्यक्ष गणेश पाठक, विभिन्न वडाका जनप्रतिनिधि, मुर्ति स्थापना गर्ने संघ संस्था, सरोकारवाला, टोलबिकास संस्था का प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।