लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सीमा क्षेत्रमा रहेको कवाडको गोदाममा रोहिणी गाउँपालिकाले लगायो डोजर

IMG

तिलोत्तमा सिटी,१६ मंसिर २०८०। रुपन्देहीको रोहिणी गाउँपालिकाले सीमा क्षेत्रमा रहेको कवाडको गोदाममा डोजर लगाएको छ । शनिबार बिहान कवाड गोदाममा नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय जनप्रतिनिधि तथा स्थानीयबासीको उपस्थितिमा डोजर लगाइएको रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले बताए ।रोहिणी गाउँपालिका–२ मैनिहवास्थित ए.एस.पी. स्क्रेप सप्लायर्स नामक कवाडी संकलन गर्ने व्यवसाय गाउँपालिका कार्यालयमा दर्ता नगरी सञ्चालन रहेको, सो व्यवसायप्रति जनमानसको गुनासो रहेको र सीमा क्षेत्रमा सञ्चालित व्यवसायमा अवैध गतिविधि हुन सक्ने भएकोले व्यवसाय सञ्चालनमा रोक लगाइएको अध्यक्ष यादवले जानकारी दिए ।


पटकपटक व्यवसाय सञ्चालन नगर्न जानकारी गराउँदा पनि वेवास्ता गरेपछि गोदामको मुख्य गेट तथा पर्खाल भत्काइएको उनले बताए । उनले भने, ‘सीमा क्षेत्रमा रहेको कवाडको गोदामका कारण अवैध गतिविधि हुन सक्ने कुरालाई मध्यनजर गर्दै गोदाम हटाइएको छ ।’रोहिणी गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष करम हुसेन खानले दर्ताबिना सञ्चालन भइरहेको कवाड संकलन गर्ने गोदामबाट अवैध गतिविधि भइरहेको भन्ने जनताको गुनासो आएकोले गोदामको संरचना भत्काइएको बताए । उनले आगामी दिनमा सीमा क्षेत्रमा कुनै पनि अवैध गतिविधि हुन नदिने गरी अघि बढ्ने बताए ।


कमेन्ट गर्नुहोस्