लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सत्यवतीको वर माग्ने मेलाबाट १८ लाखभन्दा बढी भेटी सङ्कलन

tillotmacitynews - 2023 Dec 01 02:44 PM
IMG

तिलोत्तमा सिटी, १५  मंसिर २०८० । पाँच दिनसम्म चलेको वर माग्ने मेलाबाट १८ लाखभन्दा बढी भेटी सङ्कलन भएको छ । जिल्लाको तिनाउ –४, सत्यवतीमा मङ्सिर ७ गतेदेखि ११ गतेसम्म चलेको वर माग्ने मेलामा भक्तजनले १८ लाख ५० हजार रुपियाँ भेटी चढाएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । जिल्लाभित्र र जिल्लाबाहिरबाट आएका दर्शनार्थीबाट पाँच दिनको अबधिमा नगदसहित जिन्सी भेटी सङ्कलन भएको सत्यवती ताल तथा मन्दिर व्यवस्थापन समितिले जनाएको छ । मेला सकिएपछि भेटी गणना गरिएको र मेला अवधिमा भक्तजनले एउटा सुनको सिक्का, एउटा तिलहरी र एउटा चाँदीको बत्ती बाल्ने पानससमेत दान गरेको समितिका अध्यक्ष दानबहादुर गाहाले बताउनुभयो । 


मेला सकिनासाथ पारदर्शिताका लागि भेटी सङ्कलन गरेर सार्वजनिक गरिएको अध्यक्ष गाहाले बताउनुभयो । मेलामा भएको भेटी पारदर्शी बनाएपछि मन्दिरप्रति भक्तजनको विश्वास बढ्ने अपेक्षा गरेको उहाँले बताउनुभयो । पाँच दिनसम्म चलेको वर माग्ने मेलामा एक लाख ६० हजारभन्दा बढी दर्शनार्थीको सहभागिता भएको बताइएको छ । उहाँका अनुसार गत वर्षको तुलनामा यो वर्ष भेटी भने कम सङ्कलन भएको छ । गत वर्ष मेलाबाट २१ लाख भेटी सङ्कलन भएको थियो । 


सङ्कलित भेटीबाट मन्दिरको जीर्णोद्धार, मन्दिरसम्म पुग्ने सडकको स्तरोन्नति, सामाजिक विकास तथा ताल संरक्षणमा खर्च गरिनेछ । हरेक वर्षको तिहारपछिको पूर्णिमामा यहाँ चिच्याएर वर माग्ने मेला लाग्नेगरेको छ । आफूले मनमा चिताएको वर चिच्याएर मागेमा सत्यवती बज्यैले पूरा गरिदिने जनविश्वास रहेको तिनाउ–४ लगाडमा स्थानीय सुनवीर गाहाले बताउनुभयो । 

कमेन्ट गर्नुहोस्