
तिलोत्तमा २० कार्तिक २०८०।रुपन्देहीको तिलोत्तमा नगरपालिकाले रुकुमपश्चिमको भूकम्प प्रभावित क्षेत्रका बासिन्दाका लागि राहत सामग्री पठाएको छ। आइतबार दिउसो नगरपालिकामा बसेको विपद् व्यवस्थापन समितिको बैठकको निर्णयअनुसार आइतबार राती देखि नै सहयोगको आब्हान गरेसंगै चामल, दाल, तोरीको तेल, नुन, चाउचाउ, चिउरा, दालमोठ, तयारी खाजा, ओड्ने तथा ओछ्याउने सामाग्री सोयाबिन, ब्लाङकेट र पिफम म्याट गरी एक ट्रक सामान रुकुमपश्चिम पठाएको तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाणले बताउनुभयो।
नगरपालिकाले एकद्वार प्रणालीमार्फत राहत सामग्री हस्तान्तरण गर्ने निर्णयअनुसार नगर प्रमुख खाण सहित उपप्रमुख जागेश्वर देवी चौधरी, विपद समितिका संयोजक सुरेन्द्र श्री, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल, विभिन्न वडाका अध्यक्ष हरु तथा कार्यपालिका र नगर सभा सदस्यहरुको उपस्थितिमा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालमार्फत रुकुमपश्चिम पुग्ने गरी राहत सामग्री हस्तान्तरण गरेका छन् ।
राहत सामग्री हस्तान्तरण गर्दै नगरप्रमुख खाणले नगरपालिकाले १० लाख रुपैयाँ सहित तिलोत्तमा भित्रका संस्थाहरुलाई एकद्वार प्रणालीमार्फत राहत सामग्री पठाउने व्यवस्था भएकाले सोहीअनुसार सहयोग गर्नका लागि आह्वान समेत गर्नुभयो। अव्यवस्थित रुपमा राहत सामग्री पठाउँदा वास्तविक प्रभावितसम्म पुग्न नसकेको र अन्योल सिर्जना भएको खबर आएकोले राहत सामग्री संकलन गरी पठाउने व्यवस्था नगरपालिकाले मिलाएको नगर उपप्रमुख जगेश्वर देवी चौधरीले बताउनुभयो।राहत सामग्री लिएर नगरपालिकाका नगर प्रहरी इन्चार्ज रुकुमपश्चिम प्रस्थान गरेको प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताउनुभयो ।
नगरपालिकाले तिलोत्तामाका संघसंस्था र अन्य सहयोगीहरुलाई एकद्वार प्रणालीबाट राहत सामग्री पठाउन अपील गरेको छ । जसका लागि नगरपालिकाले विपद व्यवस्थापन समितिका संयोजक समेत रहेका कार्यपालिका सदस्य सुरेन्द्र श्रीलाई फोकल पर्सन तोकेको छ।उहाँलाई सम्पर्क गर्न र सहयोग गर्न चाहेमा ९८५७०३५७१३ मा गर्न सकिनेछ।
कमेन्ट गर्नुहोस्