लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

ग्राहकले एकदमै ध्यान दिएर खाद्य सामग्री खरिद गरौ : उपमेयर चौधरी

IMG

तिलोत्तमा, असोज ३० गते २०८०।चाडपर्व नजिकिँदै गएपछि तिलोत्तमामा बजार अनुगमनले तीव्रता पाएको छ। बजार क्षेत्रमा अनुगमन गर्दा म्याद गुज्रेका गुणस्तरहीन वस्तु तथा अखाद्य बस्तु जफत गरी नष्ट गरिएको छ। नगरपालिकाका प्रमुख व्यापारिक क्षेत्रहरू मणिग्राम, चार नम्बर, ड्राइभरटोल, भलवारी, कोटिहवा लगायतका स्थानका बजार अनुगमन गर्दा भेटिएका गुणस्तरहीन वस्तु जफत गरी नष्ट गरिएको तिलोत्तमा नगरपालिकाका उपमेयर जगेश्वर देवी चौधरीले जानकारी दिनुभयो। 


किराना पसल, खाद्यान्न पसल, मिठाई पसल, होटल, तरकारी सप्लायर्स लगायतको अनुगमनका क्रममा म्याद नाघेका, लेबल नभएका, रंग प्रयोग भएका, कुहिएका, सुकेका, सामाग्री खोलिएका ( प्याकेट फुटेका) तथा मापदण्ड विपरीतका विभिन्न सामग्री नष्ट गरिएको उहाँको भनाइ छ। उपमेयर चौधरीले ग्राहकले समान खरिद गर्दा सामाग्री खान उपयुक्त छ कि छैन हेरेर, प्याकेजिङ्ग तथा समय गुज्रिने मिति हेर्ने, खाद्य बस्तु खान उपयुक्त छ कि छैन राम्ररी हेरेर, ट्याग निरिक्षण गरि बिल भर्पाइ लिएर मात्रै खरिद गर्न अनुरोध समेत गर्नुभएको छ। उहाँले व्यापार गर्नेहरुले पनि ग्राहक वर्गको स्वास्थ्यलाई ख्याल गरेर उत्पादन र उत्पादित बस्तुको सहज खरिद बिक्री गर्न आग्रह गर्नुभयो। 


चाडपर्वका वेला व्यवसायीले कृत्रिम अभावदेखि मूल्यवृद्धि गर्ने गरेको गुनासो आउने गरेकाले उपभोक्ता अधिकार, महँगी नियन्त्रण र गुणस्तर कायम गर्न नगरपालिकाले खाद्य प्रबिधि गुण नियन्त्रण कार्यालयको उपस्थितिमा अनुगमन गरेको आर्थिक तथा व्यापार शाखा अधिकृत कृष्ण प्रसाद पाण्डेले बताउनुभयो। उहाँले भन्नुभयो  ‘व्यापार बढेसँगै चाडपर्वको समयमा कृत्रिम अभावदेखि कालोबजारी नहोस् भन्नका लागि अनुगमन गरेका हौँ।’ 


नगरले नियमित अनुगमन गर्दै आइरहेको बताउँदै चाडपर्वमा किनमेलका लागि भीडभाड बढी हुने भएकाले म्याद गुज्रेका र अखाद्य वस्तु मिलाएर आउने भएकाले त्यसको नियन्त्रणका लागि अनुगमन प्रभावकारी बनाउने योजनानुसार चाडपर्व अनुगमनलाई तीव्रता दिइएको पाण्डेले बताए।


कमेन्ट गर्नुहोस्