तिलोत्तमा,असोज १९ गते । संघीय निजामति एनको सट्टा एकिकृत निजामति सेवा ऐन जारी गर्नु पर्ने लगाएतका ११ बुदे माग राख्दै रुपन्देहीको तिलोत्तमा नगरपालिकाका कर्मचारी आन्दोलनमा उत्रिएका छन् ।आफ्ना विभिन्न मागहरु राख्दै आन्दोलनमा उत्रिएका कर्मचारीले माग सम्बोधनको माग गर्दै आज पेनडाउन गरेका छन् । स्थानीय तह कर्मचारी संघर्ष समितिले संघीय निजामति सेवा ऐनमा स्थानीय तहमा कार्यरत कर्मचारीहरुका विभिन्न माग समावेश गरी तत्काल एकिकृत कर्मचारी ऐन जारी गर्न दबाबमूलक कार्यक्रम गरिरहेको र सोही क्रममा शुक्रबार पेनडाउन गरिएको संघर्ष समितिका संयोजक अस्मित गौतमले जानकारी दिए ।केन्द्रीय कार्यतालिका बमोजिम तिलोत्तमा नगरपालिका र नगरपालिकाअन्तर्गत कार्यरत वडा लगायत सम्पूर्ण कर्मचारीहरुद्वारा अत्यावश्यक सेवाबाहेकमा पेनडाउन गरिएको नक्सा शाखाका डिल्लीराज पौडेलले जानकारी दिए ।
स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत पद स्थानीय सेवाको रहने व्यवस्था गरिनुपर्ने, निजामतिको परिभाषा भित्र स्थानीय तहका कर्मचारीहरुलाई समेत समेटिनुपर्ने, बिना सहमति ७५३ स्थानीय तहमा स्वचालित वैज्ञानिक पुर्वानुमानयोग्य र चक्रिय प्रणालीमा सरुवा गरिनुपर्ने, स्थानीय तहका कर्मचारीहरुको समान वृति विकासको व्यवस्था गरिनुपर्ने, कर्मचारीलाई ट्रेड युनियनको अधिकार प्रदान गरिनुपर्ने, स्वास्थ्य सेवामा कार्यरत कर्मचारीलाई निजामति सेवामा समावेश गरिनुपर्ने लगायतका माग राख्दै कर्मचारी आन्दोलित भएका छन् ।
संघर्ष समितिले आफ्ना माग पूरा नभएसम्म पेनडाउन गर्ने र कर्मचारीको आन्दोलनमा ऐक्यबद्धता जनाउन माग गर्दै कर्मचारीहरुले नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण अर्याललाई ध्यानाकर्षण पत्र बुझाएका छन् । कर्मचारीको पेनडाउनका कारण शुक्रबार नगरपालिका कार्यालयको अत्याबश्यक सेवा बाहेकको सेवा अवरुद्ध भएको थियो । कर्मचारीहरुले हातमा कालाे पट्टी बाधेर आफुहरुका मागहरु सम्बोधन माग गर्दै सो बिधेयक बिरुद्ध नारावाजी समेत गरेका थिए ।
कमेन्ट गर्नुहोस्