
तिलोत्तमा सिटी, २०८० असोज १२ गते । भारतीय बजारबाट आयात गर्न प्रतिवन्ध गरिएपनि सिमाक्षेत्रबाट चोरी तस्करी गरि कुखुरा ल्याउने कार्य भने रोकिएको छैन। भारतीय बजारमा सस्तो मूल्यमा पाईने ब्रोईलर कुखुरा अवैध रुपमा नेपाल ल्याई विक्रि वितरण गर्ने तस्करहरुको गिरोह सिमाक्षेत्र हुँदै खोलाको नाका र पालिका सिमानाहरुमा सक्रिय रहँदा चोरी तस्करी रोकिएको छैन।सिमानाकामा तस्करी नियन्त्रण र निगरानीका लागि बसेका सुरक्षा निकायको सुरक्षा बार सहजै तोडेर भारतीय कुखुरा नेपाल भित्रिएपनि सुरक्षा निकाय भने बेखबर हुने गरेको छ।कहिलेकाहिँ अवैध रुपमा ल्याईएको भन्दै कुखुरा र चल्लाहरु बरामद हुने गरेपनि कुखुरा ल्याउने तस्करहरु फरार भएको भन्दै उन्मुक्ति पाउने गरेका छन्।
कुखुरा बरामद हु“दा कुखुरा ल्याउने व्यक्तिहरु फरार भन्दै उन्मुक्ति पाईरहँदा तस्करी दोहोरिँदै जाने गरेको छ। रुपन्देहीमा मात्रै पछिल्लो एक वर्षमा चोरी तस्करी गरि ल्याइएका खान अयोग्य ६६ हजार किलो ब्रोइलर कुखुरा नष्ट गरिएको छ।पशु क्वारेन्टाइन कार्यालय भैरहवाले गत आर्थिक वर्ष २०७९/८० मा ६६ हजार २ सय एक किलो ब्रोइलर कुखुरा नष्ट गरेको जनाएको छ। साथै यस अवधिमा अवैध रुपमा ल्याईएका २१ हजार ८ सय ६५ वटा ब्रोइलर कुखुराको चल्ला नष्ट गरिएका छन्। तर सिमा क्षेत्रमा हुने फितलो निगरानीका कारण यो भन्दा धेरै परिमाणमा कुखुरा र चल्लाहरु नेपाली बजारमा पुगिरहेका छन्।पशु क्वारेन्टाइन कार्यालय भैरहवाका प्रमुख डा.भक्त निउरेका अनुसार कार्यालय अन्तर्गत रुपन्देहीको बेलहिया, कपिलवस्तुको कृष्णनगर र पश्चिम नवलपरासीको महेशपुरमा पशु क्वारेन्टाइन चेकपोष्ट रहेकोमा ती पोष्टअन्तर्गत एक वर्षको अवधिमा उक्त परिमाणका कुखुरा नष्ट गरिएको हो। नष्ट गरिएको कुखुराको संख्या विगतको वर्षभन्दा अहिले ३ गुणाले बढेको छ। कार्यालयका तथ्यांक अनुसार कुखुराका चल्ला भने यसवर्ष घटेको देखिएको छ।
कार्यालय प्रमुख निउरेका अनुसार अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा १९ हजार ८ सय ४२ किलो ब्रोईलर कुखुरा नष्ट गरिएको थियो। सोहि वर्ष ४५ हजार १ सय ४० वटा चल्ला, ७ सय ६० केजी कुखुराको मासु, २ हजार ६ सय ४० वटा सेतो अण्डा नष्ट गरिएको थियो।सबैभन्दा बढी बेलहिया पोष्टबाट ११ हजार ५ सय १४ वटा ब्रोइलर कुखुरा नष्ट गरिएको छ। त्यस्तै कृष्णनगर पोष्टमा १ हजार ६ सय ९ र महेशपुर पोष्टमा ८ हजार ९ सय ६४ वटा ब्रोइलर कुखुरा नष्ट गरिएको निउरेले बताए।यस्तै अवैध कुखुरा ओसारपसारमा संलग्न व्यक्तिबाट ७ लाख २३ हजार दण्ड जरिवाना गरि पशु क्वारेन्टाईन चेक पोष्ट बेलहिया पठाईएको बरिष्ट प्रहरी नायव निरिक्षक कवि सेन्चुरीले जानकारी दिए।
चालु वर्षको दुई महिनामा नवलपरासी पश्चिम, कपिलबस्तु र रुपन्देहीका पशु क्वारेन्टाइन कार्यालयले भारतबाट तस्करी भएको पाँच हजार बढी किलो मासु नष्ट गरेको छ। त्यस्तै सात हजार पाँच सय २० गोटा कुखुराका चल्ला र करिव दुई हजार किलो माछा नष्ट गरेको कार्यालयले जनाएको छ।सिमाक्षेत्रमा संचालन गरिएका पोल्ट्री फर्मबाट नेपाली बजारमा कुखुरा, चल्ला र मासु समेत ल्याउन थालिएपछि कार्यालयले सिमा क्षेत्रमा खोलिएको ८ वटा ब्रोइलर फर्म पनि बन्द गराएको जनाएको छ।सिमा नजिकै रहेका कुखुरा पालक किसानको अभिलेख कसैले राखेको छैन। न त त्यहाँ संचालन गरिएका फर्म र मासु पसलहरु नै दर्ता छन्। त्यस्ता व्यापारीले किसानका नाममा भारतीय कुखुरा तस्करी गर्ने गरेको तथ्य फेला परेको छ।
भारतबाट दैनिक रुपमा अवैध रुपमा कुखुरा ल्याउँदा नेपाली कुखुरा पालक कृषक समस्यामा परेका छन्। भारतबाट ल्याउने अवैध कुखुरासँग प्रतिष्पर्धा गर्न नसक्दा नेपाली कुखुराले बजार नपाएको रुपन्देहीको सियारीका कुखुरा पालक कामेश्वर चौधरीले गुनासो गरे।अहिले भारतीय बजारमा जिउँदो कुखुराको मूल्य भारतीय एकसय २८ रुपैयाँ प्रतिकिलो र मासु प्रतिकिलो एक सय ५० रुपैयाँ मात्रै छ। नेपालमा जिउँदो कुखुरा दुई सय ७० र मासु चारसय २० रुपैयाँ प्रतिकिलोमा विक्री हुँदै आएको छ। मूल्यमा ठूलो अन्तर भएपछि रुपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासीका सिमाक्षेत्रबाट कुखुराको अवैध तस्करी बढेको छ।
पशु क्वारेन्टाइन चेक पोष्ट बेलहियाका प्रमुख सन्तोष यादव नाकामा खुकुलो निगरानी र सामान्य जरिवाना तिरेर छानविन बिनै तस्करहरु छुटिरहेकाले अवैध आयात बढिरहेको बताउँछन्।सिमा निगरानीकालागि राखिएका सुरक्षा निकायका सुरक्षा बार सहजै तोडेर कुखुरा भित्रिन थालेपछि त्यसलाई रोक्न किसानहरु आफै सक्रिय भएका छन्। गएको आइतबार रुपन्देहीको मर्चवार क्षेत्रबाट तस्करी गरि ल्याउँदै गरेको साढे तीन सय किलो कुखुरा सहित सवारी साधन र तीनजना व्याक्तिलाई स्थानीय किसान आफैले नियन्त्रणमा लिएर प्रहरीमा बुझाएका थिए।तस्करी नियन्त्रणका लागि भन्दै सिमा नाकाहरुमा प्रहरी तैनाथ गरिएको भएपनि कुखुरा तस्करी प्रहरीको छेकबारबाट सजिलै उम्किरहेको किसानहरुको गुनासो छ।
सिमाबाट हुने अवैध आयात तथा चोरी तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरी र जनपथ प्रहरी हरेक नाकाहरुमा तैनाथ रहने गरेका छन्। तर सुरक्षा निकायको आँखा छलेर अवैध रुपमा कुखुरा र अन्य वस्तु समेत आइरहेपनि नियन्त्रणका लागि पहल नभएको स्थानीयको गुनासो छ।तथ्यांक अनुसार कुखुराको मासुमा मुलुक आत्मनिर्भर भनिएपनि सिमावर्ती बजारबाट भारतीय कुखुराको मासु सस्तोमा बिक्री भईरहँदा नेपाली कुखुरा पालक किसानले मूल्य पाउन सकेका छैनन्।नेपालमा बर्डफ्लुको उच्च जोखिम बढेपछि भारतबाट कुखुरा तथा पंक्षीजन्य वस्तु आयातमा प्रतिबन्ध लगाईएको छ। बर्डफ्लुको उच्च जोखिम बढेपछि कुखुरा बिक्रीकालागि स्वस्थकर प्रमाणपत्र लिनुपर्ने व्यवस्था गरिएको छ। तर नेपालका पशु चिकित्सकहरुले नै तस्करी भईरहेका कुखुराको स्वस्थकर प्रमाणपत्र दिने गरेको पाईएपनि कारवाही नभएको किसानहरुको गुनासो छ।
कमेन्ट गर्नुहोस्