
तिलोत्तमा सिटी, २०८० असोज १२ गते । भारतका लागि नेपाली राजदूत शंकरप्रसाद शर्माले नेपालको आर्थिक वृद्धिका लागि सबै मित्रराष्ट्रको सहयोग आवश्यक रहेको बताएका छन् । उनले आफ्नो राष्ट्रिय हितलाई केन्द्रमा राखेर नेपालले सबै देशसँगको सम्बन्ध र सहकार्यलाई महत्त्व दिएको बताएका हुन् । बिहीबार नयाँदिल्लीमा अब्जर्भर रिसर्च फाउन्डेसन (ओआरएफ) ले आयोजना गरेको अन्तरक्रियामा राजदूत शर्माले नेपालको सबै देशसँगको सम्बन्धमा फरक–फरक विशेषता रहेको समेत बताए । उनले भारतसँगको सम्बन्ध धेरै दृष्टिकोणले महत्त्वपूर्ण रहेको चर्चा गरे । उनले धेरै क्षेत्रमा भारतमाथि नेपालको निर्भरता रहँदै आएको समेत उल्लेख गरे ।
जनस्तरको सम्बन्धदेखि व्यापार व्यवसाय सबै क्षेत्रमा दुई देशबीचको सम्बन्ध बहुआयामिक रहेको उनको धारणा थियो । चीनसँग नेपालको सम्बन्धबारे सोधिएको प्रश्नमा उनले विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको देश चीनसँग नेपालले आफ्नो राष्ट्रिय स्वार्थलाई प्राथमिकतामा राखेर उसको सम्पन्नताबाट लाभ लिन चाहेको उल्लेख गरे । उनले विश्व शक्ति राष्ट्र अमेरिका वा अन्य जुनसुकै देशसँग पनि नेपालले आफ्नो प्राथमिकतालाई महत्त्वमा राखेर द्विपक्षीय सम्बन्धलाई कायम राख्दै आएको बताए ।
उनले पछिल्लो डेढ वर्षयता भारतसँगको सम्बन्धमा धेरै सुदृढीकरण भएको समेत चर्चा गरे । ‘नेपालले भारतलाई बिजुली बिक्री गर्न थालेको छ, पछिल्लो समयमा भएको यो ठूलो उपलब्धि हो,’ शर्माले भने, ‘७ सय मेगावाट बिजुली भारतलाई निर्यात गर्न थालेका छौं । त्योसँगै दीर्घकालीन रूपमा बिजुली निर्यातको बाटोमा छौं ।’ उनले भारतले नेपालबाट १० वर्षमा १० हजार बिजुली खरिद गर्ने दिशामा कार्य भइरहेको चर्चा गरे ।
भारत हुँदै बंगलादेशमा नेपालको बिजुली पठाउनेबारे पनि धेरै प्रगति भइसकेको र छिट्टै तीन देशबीच त्यस विषयमा सम्झौता हुने उनले बताए । उनले धेरै वर्षदेखि अड्किएर बसेको ५६ सय मेगावाटको पञ्चेश्वर परियोजनालाई गति दिने विषयमा पनि दुई देशले काम गरिरहेको जानकारी दिए । ‘पछिल्ला महिना उक्त परियोजनालाई गति दिने विषयमा बैठकहरू सुरु भएका छन्,’ उनले भने, ‘छलफलहरूले परियोजनालाई बढाउन छिट्टै एउटा बाटो तय गर्नेछ ।’
उनले गत वर्ष नेपालका तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण, त्यसपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी र यसै वर्ष नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणले दुई देशबीचको सम्बन्धमा सकारात्मक संकेतहरू देखापरेको बताए ।
कमेन्ट गर्नुहोस्