लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

माननीय बासुदेव घिमिरेले भने : गृहमन्त्री ज्यू,गैडहवामा ईलाका प्रशासन कार्यालय राख्नुपर्यो

IMG

तिलोत्तमा सिटी, २०८० भाद्र २७ गते । रुपन्देही जिल्लाको गैडहवा गाउँपालिकामा ईलाका प्रशासन कार्यालय स्थापना गर्न माग गर्दै बुधबार प्रतिनिधिसभा सदस्य बासुदेव घिमिरे र गैडहवा गाउँपालिका अध्यक्ष सुरेन्द्र पौडलले गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग गृहमन्त्रालयमा छलफल गरेका छन् । निर्वाचन क्षेत्र नम्बर ५ मा पर्ने गैडहवा गाउँपालिका, कञ्चन गाउँपालिका, मायादेवी गाउँपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका र सैनामैना नगरपालिकाका ३२ वटा वडाका अधिकांश बासिन्दालाई पायक पर्ने गैडहवाको प्रमुख प्रशासनिक भवन रहेको क्षेत्रमा ईलाका प्रशासन कार्यालय स्थापनाको विषयमा छलफल भएको हो ।


त्यसक्रममा प्रतिनिधिसभा सदस्य घिमिरेले स्थानीय सरकारका जनप्रतिनिधि, राजनीतिक दल तथा सरोकारवालाहरुको सर्वदलीय बैठक बसी गरेको निर्णयको छायाँप्रतिसहित आफ्नो तर्फबाट ईलाका प्रशासन कार्यालय स्थानपाको मागसहितको पत्र गृहमन्त्री श्रेष्ठलाई प्रदान गरे । छलफलमा उनले क्षेत्र नं. ५ का ३२ वडाका अधिकांश नागरिकलाई जिल्ला सदरमुकाम भैरहवा पुगेर प्रशासनिक सेवा लिन कठिन रहेकोले यथाशीघ्र ईलाका प्रशासन कार्यालय स्थापनाको प्रक्रिया अघि बढाइदिन गृहमन्त्री श्रेष्ठसँग माग गरे ।पायक पर्ने स्थानमा ईलाका प्रशासन कार्यालय स्थापना गर्नुपर्ने यहाँका नागरिकहरुको धेरै पहिला देखिको माग रहेको उल्लेख गर्दै उनले यहीँ सन्दर्भलाई लिएर स्थानीय सरकारका प्रमुख, उपप्रमुखलगायतका जनप्रतिनिधिहरु, राजनीतिक दलका नेतालगायत सरोकारवालाहरुको सर्वदलीय बैठक बसेर अधिकांश जनतालाई पायक पर्ने गैडहवाको प्रमुख प्रशासनिक भवन रहेको क्षेत्रमा ईलाका प्रशासन कार्यालय स्थापना गर्न जिल्ला प्रशासन कार्यालयमार्फत् गृह मन्त्रालयमा माग गर्ने निर्णय भएको समेत जानकारी गराए ।


यस्तै गाउँपालिका अध्यक्ष पौडेलले जनतालाई छिटोछरितो प्रशासनिक सेवा प्रदान गर्ने नेपाल सरकारको नीति समेत रहेकोले गैडहवामा ईलाका प्रशासन कार्यालय अनिवार्य रहेको बताए । उनले सामाजिक न्यायको लागि पनि क्षेत्र नं. ५ का बासिन्दाका लागि गैडहवामा नैं ईलाका प्रशासन कार्यालय आवश्यक रहेको उल्लेख गरे ।


यसअघी नेपाल सरकारसमक्ष माग गर्ने विषयमा मंगलबार गैडहवाको प्रमुख प्रशासनिक कार्यालयमा सर्वदलीय बैठक बसेको थियो । प्रतिनिधिसभा सदस्य बासुदेव घिमिरेले रुपन्देही अन्तर्गत् रहेका गैडहवा गाउँपालिका, कञ्चन गाउँपालिका, मायादेवी गाउँपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका र सैनामैना नगरपालिकाका बहुसंख्यक जनतालाई पायक पर्ने गैडहवाको प्रमुख प्रशासनिक भवन रहेको स्थानमा ईलाका प्रशासन कार्यालय स्थापना गर्न प्रदेश सरकारका सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ता, सैनामैना नगरपालिकाका प्रमुख फणिन्द्र शर्मा, गैडहवा गाउँपालिका अध्यक्ष सुरेन्द्र पौडेल, कञ्चन गाउँपालिका अध्यक्ष नवराज ढकाल, कञ्चन गाउँपालिका उपाध्यक्ष मौसमी थापा मगर, पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरु, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु राखी सर्बदलिय बैठक समेत गरेका थिए। बैठकले क्षेत्र नं. ५, रुपन्देही अन्तर्गत् रहेका गैडहवा गाउँपालिका, कञ्चन गाउँपालिका, मायादेवी गाउँपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका र सैनामैना नगरपालिकाका बहुसंख्यक जनतालाई पायक पर्ने गैडहवाको प्रमुख प्रशासनिक भवन रहेको क्षेत्रमा ईलाका प्रशासन कार्यालय स्थापना गर्न नेपाल सरकारसमक्ष माग गर्ने निर्णय सर्वसम्मत गरेको थियो।  



कमेन्ट गर्नुहोस्