लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

पर्खाल बनाउने सरकारी बजेटबाट उपभोक्ता समितिका अध्यक्षले गरे ३३ लाख रकम हिनामिना

tillotmacitynews - 2023 Sep 10 12:51 PM
IMG

तिलोत्तमा सिटी , २०८० भाद्र २४ गते ।  काठमाडौं महानगरपालिका–३२ स्थित कोटेश्वरमा रहेको एक उपभोक्ता समितिका अध्यक्षले ३३ लाख रुपैयाँ सरकारी रकम हिनामिना गरेको खुलेको छ । शुभकामना मार्ग टोल सुधार समितिको नाममा उपत्यका विकास प्राधिकरणले दिएको रकम समितिका अध्यक्ष भगवान गिरीले व्यक्तिगत रुपमा खर्च गरेर दुरुपयोग गरेको फेला परेको हो ।काठमाडौं–३२ स्थित शुभकामना मार्गमा रेटेनिङ वाल (पर्खाल) लगाउनुपर्ने भएपछि सो काम गर्ने जिम्मा प्राधिकरणले शुभकामना टोल सुधार समितिमार्फत बनाउने निर्णय गरेको थियो । सो कामको लागत ४८ लाख १० हजार ७ सय ९१ रुपैयाँ अनुमान गरिएको थियो ।


सोही अनुसार २७ भदौ २०७३ मा समितिसँग निर्माण सम्झौता भएको थियो । र, त्यो काम सोही वर्षको १० मंसिरमा काम सम्पन्न गर्नुपर्ने थियो ।

कुल लागतमध्ये उपत्यका विकास प्राधिकरणले ३६ लाख ९८ हजार नगद र २ लाख १२ हजार रुपैयाँ बराबरको प्राविधिक सहायता उपलब्ध गराउने सहमति भएको थियो । स्थानीयको जनसहभागिताबाट ९ लाख रुपैयाँ खर्च बेहोर्ने तय भएको थियो । प्राधिकरणले बेहोर्ने रकममध्ये ३३ लाख ४५१ रुपैयाँ २८ असोज ०७३ मा उपभोक्ता समितिको कृषि विकास बैंकको खातामा जम्मा गरिएको थियो । सो रकम जम्मा भएपछि टोल सुधार समितिनका अध्यक्ष भगवान गिरीले त्यो सम्पूर्ण रकम पेस्कीका रुपमा आफ्नो खातामा सारेका थिए । तर, एकदमै थोरै क्षेत्रमा मात्रै रिटेनिङ वाल बनाएर बाँकी रकम फर्जी बिल बनाएर दुरुपयोग गरेका थिए ।



उक्त सम्पूर्ण रकम समितिको खाता मार्फत सबै रकम अध्यक्ष भगवान गिरीका खातामा ट्रान्सफर भएको देखिएको छ । गिरीले नक्कली बिल खडा गरी श्रमिकको ज्यालामा १८ लाख २७ हजार रुपैयाँ खर्च भएको विवरण पेश गरेका छन् । त्यस्तै रामेछाप हार्डवेयर सेन्टरमा ५ लाख ७४ हजार १४० रुपैयाँ र बालकुमारी रोडा बिक्री डिपो १३ लाख १८ हजार ७ सय रुपैयाँ भुक्तानी भएको बिल पनि पेश गरेका छन् ।रकम अपचलन गरेको स्वीकारे तर तिरेनन्


अध्यक्ष भगवान गिरीले सरकारी रकम अपचलन गरेको आफैंले स्वीकार गरेका थिए । टोल सुधार समितिको रकम व्यक्तिगत प्रयोजनका लागि दुरुपयोग गरेको भनेपछि ३२ नम्बर वडा कार्यालयले १० चैत २०७८ मा समितिका पदाधिकारी र गिरीबिच छलफल गराएको थियो । वडाध्यक्ष नवराज पराजुली, वडा सदस्य हिरादेवी पोखरेलसहित बसेर उपत्यका विकास प्राधिकरणबाट प्राप्त रकम दुई किस्ता गरेर वडा कार्यालयमा बुझाउने निर्णय भएको थियो । निर्णयमा भनिएको छ, ‘३३ लाख ४५१ मध्ये पहिलो किस्ता वापत ११ लाख रुपैयाँ २० जेठ २०७९ भित्र र दोस्रो किस्ता वापतको रकम २२ लाख ४५१ रुपैयाँ १५ असारभित्र वडा कार्यालयमा बुझाउने ।’ उक्त निर्णयम गिरीले पनि हस्ताक्षर भने गरेका छन् ।


उनले दुई किस्तामा बुझाउने भनेको रकम अहिलेसम्म पनि बुझाएका छैनन् । काठमाडौं–३२ का वडाध्यक्ष नवराज पराजुलीले वडा कार्यालयले समन्वय गरी गिरीसँग रकम फिर्ता गराउने सहमति गराएको जानकारी दिए । ‘अध्यक्ष र समितिबीच विवाद भएपछि वडा कार्यालयमा हामीले सहमति गराएका थियौं, अध्यक्ष गिरिले सो रकम तिर्छु भन्नुभएको थियो । तर, अहिलेसम्म नतिरेको भन्ने सुनेको छु । रकम तिराउने जिम्मेवारी वडाको होइन, हामीले समन्वय गरेका मात्रै हौं,’ पराजुलीले भने ।


यस्तो समितिको वैधानिकतामा नै प्रश्न उठ्ने ठाउँ देखिएको छ । २०७२ सालदेखि स्थापना भएको टोल सुधार समितिले स्थापना कालदेखि अहिलेसम्म नियमित बैठक र वार्षिक साधारणसभा गरेको देखिँदैन । विधान अनुसार अध्यक्षको कार्यकाल दुई वर्ष मात्रै हुनेछ तर अध्यक्ष गिरीले ८ वर्षदेखि आफैं अध्यक्ष भएर काम गरिरहेका छन् ।


टोल सुधार समितिका सदस्यहरुले २८ साउन ०७७ मा जिल्ला प्रशासन कार्यालय, त्यसअघि २२ साउनमा काठमाडौं उपत्यका विकास प्राधिकरणलाई छानबिनको लागि निवदेन दिएका थिए । यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ६ चैत २०७७, १८ असोज ०७८, २९ मंसिर ०७९ र ५ भदौ ०८० मा उजुरी परेको छ । तर अहिलेसम्म अख्तियारले कुनै छानबिन अगाडि बढाएको छैन ।


अध्यक्ष गिरीले भने आफूले सरकारी रकम भ्रष्टाचार नगरेको बताए । ‘८ वर्षअगाडि गरेको कामको भुक्तानी श्रमिकलाई दिएको हुँ, अहिले पैसा चाहिएपछि भुक्तानी भएको छैन भन्न मिल्छ र ?’ उपभोक्ता समितिका अध्यक्ष रहेका गिरीले अनलाइनखबरसँग भने । उनले आफुले ८ वटा सरकारी निकायलाई यससँग सम्बन्धित सबै कागजातहरु बुभाएको बताए ।


आफ्नो खातामा सरकारी रकम किन सार्नुभयो भन्ने प्रश्नमा उनले उपभोक्ता समितिका सदस्यहरुकै सहमतिमा रकम सारिएको दाबी गरे । वडा कार्यालयमा आफूलाई रकम तिर्न भनेर जबरजस्ती हस्ताक्षर गराएको पनि उनले दाबी गरे । उपत्यका विकास प्राधिकरणसँग गरेको सम्झौता अनुसार काम गरिसकेपछि अहिले विवाद निकालेको उनले बताए ।

कमेन्ट गर्नुहोस्