लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा कान्छीबजारमा लाखे नाँच सम्पन्न

IMG

तिलोत्तमा, भाद्र २२ गते २०८०। श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर रुपन्देहीको तिलोत्तमा-१० कान्छीबजारमा पहिलोपटक नेवारी परम्परा अनुसार बुधबार लाखे जात्रा प्रदर्शन गरिएको छ ।कान्छीबजार नेवा: समाज तिलोत्तमा-१० को आयोजना तथा ज्वजलपा नेवा: समाज तिलोत्तमाको प्रस्तुतिमा कान्छीबजारमा पहिलोपटक लाखेजात्रा प्रदर्शन गरिएको हो ।भिमसेन मन्दिर बाट ढोलक र झ्याली बजाउंदै, नेवारी भेषभूषा र झांकी सहित निकालिएको जात्रा भिमचोकमा पूगेर बृहत् लाखे नाच प्रदर्शन गरिएको थियो । लाखेजात्रा हेर्न सो क्षेत्रका दर्शकहरुको बाक्लो भिड लागेको थियो । दिउंसो ४ बजेबाट शुरु भएको लाखे नाच राती ८ बजे सम्म प्रस्तुत गरिएको थियो ।


जात्रामा नेवार समुदायका अग्रज तथा युवाहरुको उल्लेख्य सहभागीता रहेको थियो । सो अवसरमा अग्रज नेवा: ७२ बर्षीय क्याप्टेन अमर बहादुर श्रेष्ठले समेत परम्परागत रुपमा नाचिने लाखे नाच प्रस्तुत गर्नुभएको थियो ।नेवारी कला र संस्कृतीको संरक्षण, सम्बर्द्धन र प्रबर्द्धन गर्ने उद्धेश्य अनुरुप समाजले कान्छीबजारमा लाखेजात्रा प्रदर्शन गरेको ज्वजलपा नेवा: समाज तिलोत्तमाका अध्यक्ष जेश कुमार श्रेष्ठले बताउनुभयो ।


स्याङजा तीनदोबाटेबाट बसाई सरि रुपन्देहीका विभिन्न स्थानमा बसोबास गर्दै आएका नेवार समुदायले तीनदोबाटे स्याङ्जामा नचाइने शैलीको लाखेनाच प्रदर्शन गरेको हो । समाजले गत बर्ष पनि रुपन्देहीका बिभिन्न स्थानमा लाखे नाच प्रदर्शन गरेको थियो। कान्छीबजार नेवा: समाजका अध्यक्ष जस बहादुुर श्रेष्ठको अध्यक्षता तथा तिलोत्तमा-१० का वडा अध्यक्ष गोपाल प्रसाद घिमिरेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेश योजना आयोगका पूर्व सदस्य डा. दामोदर भुषाल, समाजका अध्यक्ष जेश कुमार श्रेष्ठ, समाजसेवी उजुरसिंह जिसी, घनसिंह पुन, बिक्रम केसी लगायतले बोल्दै नेवारी कला, परम्परा र संस्कृतीको जगेर्नाका लागि यस्ता खालका सांस्कृतीक गतिविधीको महत्वपूर्ण भूमिका रहने बताउनुभएको थियो ।


कार्यक्रम समाजका सचिव कृष्ण बहादुर श्रेष्ठको सञ्चालनमा तथा उपाध्यक्ष होम प्रसाद कर्माचार्यको स्वागतमा सम्पन्न भएको थियो ।स्थानीय कृष्ण बहादुर श्रेष्ठ, प्रकाश श्रेष्ठ, गजेन्द्र श्रेष्ठ लगायतको पहल र सकृयतामा कान्छीबजारमा पहिलोपटक लाखेजात्रा प्रदर्शन गरिएको हो ।लाखे नाच नेवार समुदायले बिशेष पर्वको अवसरमा लाखेको मुखुण्डो पहिरिएर गरिने परम्परागत नृत्य हो । नाग पञ्चमीको दिन देखि शुरु हुने लाखे जात्रा ऋषि पञ्चमीको दिन बिधीपूर्वक पूजाअर्चना गरि बिसर्जन गरिन्छ ।राक्षसको स्वरुपमा खोपा र रङीबिरङगी वस्त्रसहित ब्यक्तिलाई सिंगारेर लाखे नचाउने प्रचलन परापूर्वकाल देखि नेवार समुदायमा रहंदै आएको छ ।



कमेन्ट गर्नुहोस्