
तिलोत्तमा सिटी । भाद्र २१ गते । बुटवलको जितगढीमा भएको युद्धमा अंग्रेज फौजलाई नेपाली सेनाले पराजित गरेको खुशियालीमां आज पाल्पाको तानसेनमा ऐतिहासिक भगवती जात्रा मनाइँदैछ । सदरमुकाम तानसेनमा जितगढी युद्धको सम्झनामा रणउजिरेश्वरी भगवतीको रथयात्रा निकाल्न लागिएको हो । २०३ औं संस्करणको रूपमा जात्रा निकाल्न थालिएको र जात्राको सम्पूर्ण तयारी पूरा भएको मन्दिर व्यवस्थापन समिति अध्यक्ष अशोक कुमार महर्जनले जानकारी दिनुभएको छ । ९ वटा उपसमिति गठन गरेर जिम्मेवारी बाँडफाँड गरिएको छ । जात्रामा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरी र नेपाली सेनाका बलाधिकृत रथी सरोजप्रताप राणाको उपस्थिति रहने अध्यक्ष महर्जनले बताउनुभयो ।
जात्रामा ‘५० हजारभन्दा बढीको सहभागिता रहने अनुमान आयोजक पक्ष्यको छ । जात्रामा सहभागी हुन गुल्मी, अर्घाखाँची, स्याङ्जा, पर्वत, कास्की, रुपन्देही, काठमाडौँ लगायतका जिल्लाबाट समेत श्रद्धालु भक्तजनहरू पुग्ने गरेका छन् । भगवती जात्राका लागि मन्दिर सरसफाई र रङ्ग रोगन सजावट गरिएको छ भने रथयात्रामा डुलाउने खट् समेत तयार पारिएको छ । खट् यात्रा (विजय उत्सव) समपन्न गर्न झण्डै ६७ लाख खर्च हुने ब्यवस्थापन गुठीले जनाएको छ । दर्शनार्थीको सुरक्षा लागि प्रहरी, स्वयंसेवक परिचालन गरिने छ।’ जात्रामा सहभागीका लागि ठाउँठाउँमा खानेपानीको समेत व्यवस्था मिलाइएको छ । साइतअनुसार आज दिउँसो सवा १२ बजेदेखि साढे १२ बजेसम्म भगवतीको रथ उठाइने सचिव प्रकाशनाथ गोंगलले बताउनुभयो । रथयात्राले तानसेन बजार परिक्रम गर्नेछ । भगवतीको रथयात्राले नेपाल अङ्ग्रेज युद्धको जितगढी युद्धलाई सम्झाउँछ ।
वि.सं.१८७१÷७२ तिर जितगढीमा भएको अङ्ग्रेज युद्धमा तत्कालिन कर्णेल उजिर सिंहको नेतृत्वमा गएको नेपाली फौजले अङ्ग्रेज फौजलाई परास्त गरेको थियो। भगवतीको भाकल गरी युद्धमा गएका सिंहले साम्राज्य विस्तारवादको नेतृत्व गरेको अंग्रेज फौजलाई परास्त गरेको खुसियालीमा विजयोत्सव सहित भगवतीको रथयात्रा निकाल्ने चलन छ । जितगढीको युद्ध ऐतिहाँसीक मानिन्छ। युद्धमा विजयी प्राप्त गरेपछि खुसियालीमा कर्णेल उजिरसिंहले भगवती मन्दिरको मर्मतसम्भार गर्नुका साथै सिन्दुर जात्रा गरी बजार परिक्रमा गराएका थिए। १८७७ सालदेखि हरेक वर्ष पाल्पामा भगवती जात्रा भव्यताका साथ मनाउन थालिएको हो । भगवती जात्रा निकालिने दिन आज पाल्पामा सार्वजनिक विदा दिइएको छ । प्रदेश सरकारले विज्ञप्ती जारी गरी बिदा दिएको जनाएको हो ।
कमेन्ट गर्नुहोस्