
तिलोत्तमा सिटी, २०८० भाद्र १८ गते । ताप्लेजुङ — नेपाल एयरलाइन्सले झन्डै तीन महिनापछि ताप्लेजुङ–काठमाडौं हवाई उडान गरेको छ । सोमबार बिहान काठमाडौंबाट सात जना यात्रु लिएर आएको विमान ताप्लेजुङवाट फुङलिङ नगरपालिका–९ हाङदेवाका एक जना यात्रु राम लावुङलाई लिएर फर्किएको हो ।जेठ २६ गतेयता हुन नसकेको उडान मौसममा सुधार आएसँगै सुरु भएको नेपाल एयर लाइन्सका ताप्लेजुङ इञ्चार्ज सचिन तिवारीले बताए । उनका अनुसार अब सोमबार, बिहीबार र शनिबार सातामा तीन दिन उडान हुनेछ ।
एयरलाइन्सले पहिलाको तुलनामा भाडादर पनि घटाएको छ । ताप्लेजुङ–काठमाडौं ८ हजार ४ सय रुपैयाँ र काठमाडौं–ताप्लेजुङ ८ हजार ६ सय रुपैयाँ रहेको कार्यालयले जनाएको छ । यसअघि ताप्लेजुङ–काठमाडौं ९ हजार ४ सय ५ रुपैयाँ र काठमाडौं–ताप्लेजुङ ९ हजार ६ सय ५ रुपैयाँ रहेको थियो । अहिले एक हजार रुपैयाँ घटेको हो ।
सुकेटार विमानस्थल प्रमुख एटीसी उदय राजवंशीका अनुसार निजी कम्पनी सीता एयरको पनि उडान तालिका रहेको छ । सीताले सोमबार र शनिबार गरी सातामा दुईवटा उडान तालिका राखेको छ । काठमाडौं–ताप्लेजुङ उडान ५५ मिनेटको हुने प्राधिकरणले जनाएको छ । उडान तालिका रहेको दिन मौसम नखुल्ने र मौसम खुलेको दिन तालिका नहुँदा लामो समय उडान हुन नसकेको राजवंशी बताउँछन् ।अघिल्ला वर्षहरुपनि असारदेखि मध्य भदौसम्म उडान नहुने र त्यसपछि नियमित हुने गरेको पाइएकोले यात्रुहरु आशावादी हुन थालेका छन् ।
कमेन्ट गर्नुहोस्