
तिलोत्तमा सिटी । भदौ १० गते । वर्षा सुरु भएदेखि राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग रुकुमपूर्व खण्डमा पहिरोले ठाउँ ठाउँमा क्षति पु-याइरहेको छ। दिनैपिच्छे साना–ठुला पहिरोले मध्यपहाडी लोकमार्गको रुकुमपूर्व सडकखण्डमा ओहोरदोहोर गर्ने यात्रु सास्ती भोग्न बाध्य छन्। वर्षा हुने बित्तिकै ठाउँ ठाउँमा पहिरो झर्ने गरेकाले सडक अवरुद्ध हुँदा यात्रुले दुःख झेल्नु परेको हो। मध्यपहाडी लोकमार्ग रुकुमपूर्व खण्डमा ५५ किलोमिटर रहेको छ। जिल्लाको भूमे गाउँपालिका–१, लुकुमदेखि सिस्ने गाउँपालिका–६, रुकुमकोटस्थित रानीकोटसम्मको ३५ किलोमिटर कालोपत्रे गरिएको छ। रानीकोटदेखि रुकुमपश्चिमको सिमाना खोपिचारसम्मको सात किलोमिटर र भूमे गाउँपालिका–१, लुकुमदेखि बागलुङको सिमाना यीरनेता (पातिहाल्ने) सम्मको १३ किलोमिटर गरी २० किलोमिटर कालोपत्रे गरिएको छैन। कालोपत्रे भएको सडकखण्ड पनि आयोजना कार्यालयलाई ठेकेदारले हस्तान्तरण गरेका छैनन्।
कालोपत्रे गरिएको र नगरिएको विभिन्न ठाउँमा पहिरो खसिरहेको छ। प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले सडक निर्माण सेवाका ठेकेदार भने बेखबर रहेको बताउनुभयो। निरन्तरको वर्षाले लगातार पहिरो गइरहेको प्रजिअ शर्माले बताउनुभयो। पहिरो झर्दा यात्रु अलपत्र पर्ने गरेका छन्। एक ठाउँको पहिरोले अर्को ठाउँमा लेदो माटो सडकमा पानी बग्दा समस्या हुने गरेको शर्माको भनाइ छ। पहिरो हटाउने र पहिरो जान नदिन लेदो माटोलाई पहिरो नजाने ठाउँमा निकासी गर्दा सडक क्षति हुनबाट जोगाउन सकिने प्रजिअ शर्माले बताउनुभयो। उहाँले भन्नुभयो, “तर दुःखको कुरा सडक निर्माणका लागि जिम्मा लिएको ठेकेदार सम्पर्कविहीन भएपछि अवरुद्ध सडक खुलाउन र पहिरो रोक्न स्थानीय सरकार र जिल्ला प्रशासनलाई गाह्रो भइरहेको छ। अवरुद्ध भएको सडकलाई सडक आयोजना कार्यालय दैलेख, जिल्लाको स्थानीय सरकार र जिल्ला प्रशासनको पहलमा जसोतसो पहिरो हटाई सडक सञ्चालन गरिराखेका छौँ।”
यद्यपि ठेकेदार सम्पर्कमा हुने भए पहिरो हटाउने र सडकमा बग्ने गरेको पानीलाई ठेकेदारले पन्छाइ राख्यो भने सडक क्षति हुनबाट बच्ने प्रजिअ शर्माले बताउनुभयो। हालसम्म स्थानीय सरकारका जेसिबी र सडक आयोजनाको इन्धन सहयोग र प्रशासनको पहलमा अवरुद्ध सडक खुलाई सञ्चालन गरिएको शर्माले बताउनुभयो। प्रजिअ शर्माले भन्नुभयो, “ठेकेदार आफ्नो कार्यक्षेत्रमा छैनन् फोन गर्दा उठाउँदैनन्। सडक दिनैपिच्छे पहिरोले अवरुद्ध हुन्छ। खुलाउने काम हाम्रो काँधमा आएको छ।” आयोजनाका इन्जिनियर होमनाथ पौडेलका अनुसार आयोजना कार्यालयले पनि ठेकेदारलाई कार्य क्षेत्र नछोड्न निर्देशन दिइराखेको बताउनुभयो। उहाँले भन्नुभयो, “तर ठेकेदार आफ्नो कार्यक्षेत्रको सम्पर्कमा बस्दैनन्, हामीले पटक पटक ताकिता गरिराखेका छौँ।”
भूमे गाउँपालिका–१ देखि बागलुङ यीरनेतासम्मको १३ किलोमिटर खण्डमा भारत महादेव सिद्धिशाही जेभीले कालोपत्रेका लागि जिम्मा पाएको छ। यस खण्डमा कालोपत्रे तयारीको काम हाल अलपत्र अवस्थामै छ। सिस्ने गाउँपालिका–६, रानीकोटदेखि रुकुमपश्चिमको सिमाना सात किलोमिटर खण्डमा कालिका प्यासाफिक जेभीले पनि कालोपत्रेको काम अलपत्र पारेको छ।
कमेन्ट गर्नुहोस्