
तिलोत्तमा सिटी । भाद्र ९ गते । केही दिनदेखि परेको लगातारको झरी आजदेखि बिस्तारै कम हुँदै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले कोशी, मधेस, गण्डकी र बाग्मती प्रदेशका केही ठाउँ तथा बाँकी प्रदेशका एक÷दुई ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । काठमाण्डौ उपत्यकामा पानी पर्ने क्रम बिस्तारै कम हुँदै गएको छ । आज दिउँसोपछि रुपन्देही सहित देशका पश्चिमी क्षेत्रमा क्रमश मौसममा सुधार आउने सम्भावना रहेको मौसमविद् रोजन लामिछानेले बताउनुभयो ।
मौसमविद्का अनुसार रुपन्देही सहितका छिमेकी जिल्लाहरुमा समेत कम वर्षा हुने अनुमान गरिएको छ । रुपन्देहीमा मौसम बदली नै छ । भारतको उत्तर प्रदेशको उत्तरपूर्वी क्षेत्रमा रहेको न्यून चापीय क्षेत्र र बङ्लादेशको उत्तरी भू–भागमा रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभावका कारण केहीदिन अघिबाट रुपन्देही सहित देशैभरि बर्षा भैरहेको थियो । रुपन्देहीमा निरन्तरको वर्षाले जिल्लाका तिनाउ, रोहिणी, डण्डा र दानव लगायतका विभिन्न नदी तथा खोला नालामा पानीको बहाव बढेको छ । वर्षाका कारण बाढी पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन मौसमविद्को आग्रह छ ।
कमेन्ट गर्नुहोस्