
तिलोत्तमा सिटी । असार ३० गते । लुम्बिनी प्रदेशसभा बैठक आज बस्दैछ । आज दिउँसो १ बजे बस्नेगरी सो बैठक आह्वान गरिएको प्रदेश संसद सचिवालयले जानकारी दिएको छ । गत असार २० गते राति लुम्बिनी प्रदेशको आगामी वर्षको बजेट प्रदेशसभाबाट पारित भएसँगै अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित भएको थियो । प्रदेशसभाका सचिव दुर्लभकुमार पुनले जारी गरेको सूचना अनुसार लुम्बिनी प्रदेशसभाको दोस्रो अधिवेशनको १९ औ बैठक असार ३० गते अर्थात् आज दिउँसो १ बजेका लागि सभामुखको निर्देशनअनुसार आह्वान गरिएको हो ।
प्रदेश निजामती सेवाको गठन, संचालन र देहायका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभाका पेस गर्ने, स्वास्थ्य संस्था स्थापना, संचालन तथा नवीकरण र स्तरोन्नती ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल हुने र एक विधेयक फिर्ता हुने सम्भावित कार्यसूचीमा रहेको सचिव पुनले जानकारी दिनुभएको छ । लुम्बिनी प्रदेश सरकारले यसअघि लुम्बिनी प्रशिक्षण प्रतिष्ठानको स्थापना, संचालन तथा व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा पेस गरेको थियो । प्रदेशसभामा छलफल नभई रोकिएको उक्त विधेयक आजको प्रदेशसभा बैठकबाट फिर्ता गर्ने तयारी थालिएको छ ।
कमेन्ट गर्नुहोस्