लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

गोरखपुरकी “लेडी डन” भैरहवाबाट पक्राउ

IMG

तिलोत्तमा,२१ असार २०८० साल। भारतको गोरखपुरमा “लेडी डन” को नामले चर्चित गीता तिवारीलाई रुपन्देही प्रहरीले भैरहवाबाट पक्राउ गरेको छ । चोरी, लुट, हत्या आरोप लगायतको घटनामा संलग्न रहेको आरोपमा भारतीय प्रहरीको हिरासतमा रहेकी उनि धरौटीमा रिहा भएकी थिईन । तिवारीलाई रुपन्देही प्रहरीले बिभिन्न चोरीको घटनामा संलग्न रहेको आरोपमा पक्राउ गरेको हो ।रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरिक्षक भरत बहादुर विश्वकर्माका अनुसार तिवारी भैरहवामा भएको सिलसिलेवार चोरी घटनाकी मूख्य आरोपी हुन । भारत गोरखपुर बस्ने ४३ बर्षिय गीता तिवारीले बैशाख ९ गते सिद्धार्थनगर नगर पालिका वडा नम्बर ३ बस्ने हेमन्त कुमार हलवाईको घरबाट सुनका गरगहना सहित ५० लाख बराबरको चोरी गरेको घटनामा संलग्न रहेको एसपी विश्वकर्माले बताए ।


यस्तै बैशाख २३ गते सिद्धार्थनगर नगर पालिका वडा नम्बर ३ बस्ने डाक्टर नरेन्द्र चौधरीको घरबाट सुन चाँदीका गहना, ल्यापटप र ३ लाख ८० हजार रुपैया चोरी गरेको, जेठ ३ गते सिद्धार्थनगर नगर पालिका वडा नम्बर ८ बस्ने हुमनाथ पाण्डेको घरबाट ६० हजार नगद सहित ल्यापटप, मोबाईल, सुनको औठी चोरी गरेको आरोप प्रहरीले लगाएको छ ।तिवारीकै समूहले असार ११ गते सिद्धार्थनगर नगर पालिका वडा नम्बर ९ बस्ने श्याम सुन्दर अग्रवालको घरबाट सुनको गहना, ल्यापटप मोबाईल लगायत नगद १ लाख १५ हजार लुटेको प्रहरीको दावी छ । प्रहरीले तिवारीलाई सिद्धार्थनगर नगर पालिका वडा नम्बर ३ बस्ने दिपक यादवको घरबाट पक्राउ गरेको जनाएको छ । प्रहरीले तिवारीबाट कटुवा पेस्तोल जस्तो देखिने पेस्तोल १ थान, केएफ ७ दशमलव ६५ लेखेको गोली ३ राउण्ड, २ वटा खुकुरी, १ वटा चक्कु, सलाई रिन्च ३ वटा, छिनो १ वटा, एक वटा मोटरसाईकल , भारतीय नम्बर प्लेट भएको स्कुटि १ वटा, ग्यासकटर, ७ हजार ६ सय ६५ नेपाली रुपैया र ५ हजार ४ सय ४५ भारतीय रुपैया बरामद भएको एसपी बिश्वकर्माले बताए ।


पक्राउ परेकी तिवारीलाई चोरी तथा डाका सम्बन्धि कसुरमा ५ दिन म्याद थप गरि अनुसन्धान भईरहेको उनले बताए । यस्तै हातहातियार तथा खरखजाना सम्बन्धि कसुरमा समेत अनुसन्धान भईरहेको विश्वकर्माको भनाई छ । तिवारीका समूहका अन्य सदस्यहरुको समेत खोजी भईरहेको उनले बताए ।

कमेन्ट गर्नुहोस्