लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

पाल्पामा पौडी खेल्दा डुबेर मृत्यु हुने क्रम बढ्दा, सोमबार २ जनाको मृत्यु

IMG

तिलोत्तमा सिटी । असार ४ गते । पाल्पाका खोला, नाला तथा खाेंचहरुमा पौडी खेल्दा डुबेर मृत्यु हुने क्रम बढ्दै गएको छ । सोमबार मात्रै पनि रुपन्देहीका एक युवा सहित २ जनाको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । सोमबार एकैदिन २ जनाको डुबेर मृत्यु भएको छ । यसैबीच  रैनादेवी छहरा–८ जलुके झरना भन्ने स्थानमा रुपन्देहीका एक युवाको डुबेर ज्यान गएको छ । सुद्धोदन २ जहाड बस्ने २२ वर्षीय सन्जय चौधरीको जलुके झरनामा डुबेर मृत्यु भएको पाल्पा प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आफ्नो साथीसँग पौडी खेल्न पुगेका चौधरी पौडी खेल्ने क्रममा झरनाको पोखरीमा डुबेकोमा साथीहरूले उद्दार गरी उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल ल्याएकोमा चिकित्सकले चेकजाँच गर्ने क्रममा मृत घोषणा गरेका थिए ।



सोमबार नै पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ३ स्थित सिद्धबाबा मन्दिर नजिकै रहेको तिनाउ खोलामा पौडी खेल्ने क्रममा भारतको गोरखपुरका ३४ वर्षीय विपिन दुसियाको मृत्यु भएको थियो  । पछिल्लो समय तिनाउ गाउँपालिकाको वडा नम्बर ३ मा अवस्थित भुत खोला, विद्युत ड्याम साइड तथा वडा नम्बर २ को खुर्साने, कालीगण्डकी, जलुके झरनालगायतका स्थानमा डुबेर मृत्यु हुनेको सङ्ख्या बढेको छ । सोमबार मृत्यु भएसँगै पाल्पामा ११ महिनाको अवधिमा डुबेर मृत्यु हुनेको संख्या २३ पुगेको छ । पछिल्लो एक वर्षको अवधिमा तिनाउ गाउँपालिकामा घुम्न आउने विभिन्न जिल्ला तथा भारतीय नागरिक गरी १० जनाले पानीमा डुबेर ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा १ महिला, २ बालबालिका र अन्य पुरुष रहेको प्रहरीले जनाएको छ ।


कमेन्ट गर्नुहोस्