
जेठ १४, २०८० तिलोत्तमा। शुक्रबारदेखि दुई नेपाली चलचित्र ‘हुक्काः एन एब्सर्ड ड्रिम’ र ‘टुल्की’ प्रदर्शनमा आएका छन् । दुवै चलचित्र सामाजिक विधामा निर्मित भए पनि विषयवस्तुको हिसाबले भने निकै फरक छन् ।शम्भु थापाको निर्देशन रहेको ‘हुक्काः एन एब्सर्ड ड्रिम’ मा प्रकाश घिमिरे, सन्तोषकुमार आत्रेय, प्रमिला खनाल, तेज गिरी, अशु न्यौपाने, तलिशा गुरुङ, निश्चल विमल, अलिशा भोगलगायत कलाकारकाे अभिनय रहेकाे छ ।सामाजिक कथानक चलचित्र भनिए पनि यसमा पूर्ण मनोरञ्जनको सामग्री रहेको अभिनेता घिमिरेले बताए।
'हुक्का र त्यसको प्रतिष्ठालाई चलचित्रमा विम्बका रूपमा प्रयोग गरिएको छ । हाम्रो गाउँ समाजमा हुने घटनाक्रम र यथार्थलाई प्रस्तुत गरेका छौँ', उनले भने ।यस्तै, शुक्रबारदेखि प्रदर्शनमा आएकाे ‘टुल्की’ मा नेपालको हिमाली क्षेत्रमा चलिआएको बहुपति प्रथालाई देखाइएको छ । देव थापाको निर्देशनमा तयार भएको याे चलचित्रमा डोल्पाको तल्लो क्षेत्रमा पर्ने एक फरक समुदायमा हुर्केकी केटी प्रेम विवाह गरी उपल्लो क्षेत्रमा जाने र त्यहाँ गइसकेपछि उनले प्रथाका नाममा भोग्नुपरेको कथावस्तुलाई उजागर गरिएको छ ।याे चलचित्रमा शिशिर वाङ्देल, स्वस्तिमा कार्की, सोफिया लिम्बू, नरेन्द्र तामाङ, सोम लामा, शेखर लामा, सौजन सुब्बा, भक्तसिंह कठायत, रत्नप्रसाद न्यौपानेलगायत कलाकारकाे अभिनय रहेकाे छ ।
कमेन्ट गर्नुहोस्