लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नागढुंगा - सिस्नेखोला सुरुङ खनियो २ किलोमिटर

tillotmacitynews - 2023 May 24 04:59 PM
IMG

तिलोत्तमा सिटी / काठमाडौँ । नागढुंगा - सिस्नेखोला सुरुङ शुरुवाती सम्झौता अनुसार निर्माणको काम नसकिएपछि एक वर्ष म्याद थप गरिएको छ । यसको ठेक्का गत वैशाखमा सकिएको हो । काम नसकिएपछि ०८१ वैशाख १२ सम्म म्याद थपिएको हो । निर्माण थालिएको ३ वर्षमा नागढुंगा-सिस्ने खोला सुरुङमार्ग २ किलोमिटर खनिएको छ ।


नागढुंगा–सिस्नेखोला सुरुङ मार्ग आयोजनाका अनुसार धादिङतर्फ १,०७६ मिटर र काठमाडौंतर्फ ९२५.८० मिटर सुरुङ खनिसकिएको छ । त्यस्तै आपत्कालिन सुरुङ भने २,३०५.८० मिटर खनिएको छ । मुख्य सुरुङको दूरी २.६८८ किमि छ । निर्माण थालेको तीन वर्षमा भौतिक प्रगति ५३.४२ प्रतिशत मात्र पुगेको छ । तर सुरुङ खन्ने काम मात्र ८२.२० प्रतिशत सकिसकेको छ ।


आयोजनाले द्रुत गतिमा काम भइरहेको दाबी गर्दै आए पनि काठमाडौंतर्फ मुआब्जा वितरण गर्न नसक्दा कामले गति लिन नसकेको हो । तोकिएको समयमा काम नसकिने भएरै म्याद थपिएको नागढुंगा–सिस्ने खोला सुरुङ आयोजना प्रमुख नविनमान श्रेष्ठले बताए । ‘अहिले पनि दुई सिफ्टमा काम भइरहेको छ,’ उनले भने, ‘थपिएको समयभित्र सुरुङ खन्ने काममा ब्रेक थ्रु हुन्छ, तर पूरै आयोजना सम्पन्न गर्न भने थप ६ महिना समय लाग्नेछ ।’


ठेक्का सम्झौता अनुसार यसको काम ४२ महिनाभित्र सक्नुपर्ने हो । काठमाडौंको बलम्बु क्षेत्रमा पर्ने घरका लागि २ करोड ३० लाख र जग्गाको मुआब्जा २३ करोड ५० लाख रुपैयाँ वितरण गर्न बाँकी छ । आयोजनाका अनुसार अहिलेसम्म ३ वटा अन्डर पास, ४ वटा बक्स कल्भर्ट, एउटा ओभरपास र ३ वटा पुल निर्माण गरिएको छ । यसको निर्माण जिम्मा जापानी कम्पनी हाज्मा एन्डोले लिएको छ । सुरुङ निर्माणमा जापानको साढे १६ अर्ब रुपैयाँ ऋण सहयोग छ, ठेक्का भने साढे २२ अर्ब रुपैयाँको हो । यसमा ६ अर्ब रुपैयाँ नेपाल सरकारको छ । हालसम्म १२ अर्ब ८३ करोड रुपैयाँ खर्च भइसकेको छ ।

कमेन्ट गर्नुहोस्