
तिलोत्तमा सिटी / वैशाख ३१ । तीन जना लुम्बिनी प्रदेशका मन्त्रीको जिम्मेवारी तोक्न ढिलाइ भएको छ। आइतबार बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले विनाबिभागीय मन्त्रीहरुलाई जिम्मेवारी प्रदान गर्ने तयारी गरिए पनि पर्याप्त गृहकार्य नभएको भन्दै एक दिन पर सारिएको छ।
सोमवार बिहान ८ बजे बस्ने मन्त्रिपरिषद् बैठकबाट निर्णय गरिने सरकारका प्रवक्ता सन्तोषकुमार पाण्डेले जानकारी दिए। “सरकार बिस्तार गर्ने र जिम्मेवारी तोक्ने बिषयमा छलफल भयो। सबैले धारणा राख्यौं’, उनले भने, ‘भोलि बस्ने बैठकले निर्णय गर्छ।’
मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले दल भित्र सहमति कायम गर्न एक दिनको समय दिएका छन्। मुख्यगरी नेकपा माओवादी भित्र मन्त्रालयको बिषयमा विवाद देखिएकाले आइतबार निर्णय हुन नसकेको स्रोतको भनाइ छ।
‘मुख्यमन्त्री सरकार बिस्तार गर्ने अन्तिम तयारीमा हुनुहुन्थ्यो माओवादीभित्रको आन्तरिक विवादले रोकिनु पर्ने अवस्था आयो। दलभित्र सहमति गर्न भनेर समय दिएपछि आइतबार निर्णय हुन सकेन’, एक मन्त्रीले भने, ‘दलभित्र सहमति भएपछि सरकार बिस्तार हुन्छ।’ नेकपा माओवादी केन्द्रबाट मन्त्री बनेका धनबहादुर मास्कीलाई आर्थिक मामिला मन्त्रालय, नागरिक उन्मुक्ति पार्टीका मन्त्री बनेका धर्मबहादुर चौधरीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय र लोकतान्त्रिक समाजवादी पार्टीबाट मन्त्री बनेका सन्तोषकुमार पाण्डेलाई खानेपानी ग्रामीण तथा सहरी विकास मन्त्रालयको जिम्मेवारी तोक्ने तयारी थियो तर, माओवादीका धनबहादुर मास्कीलाई अर्थको जिम्मेवारी दिन नहुने भन्दै दलभित्रबाट बिरोध आएपछि जिम्मेवारी तोक्ने कार्य पछि धकेलियो। माओवादीबाट मन्त्रीमा सिफारिस कृष्णा केसीले अर्थमन्त्रालयमा दावी गरेपछि जिम्मेवारी तोक्न नसकिएको बताइएको छ।
कमेन्ट गर्नुहोस्