
तिलोत्तमा,२०७९ माघ १६ गते। सडक बालबालिकाको क्षेत्रमा कार्य गर्दै आएको तिलोत्तमा-९ मंगलापुरको सृजनशील सस्थाले आश्रमको बहुउपयोगी भवन निर्माणका लागि आर्थिक सहयोग जुटाउन आश्रमले भब्य महायज्ञ गर्ने भएको छ । सस्थाको आज सम्पन्न बृहत भेलाले सो कुरा बताएको हो। यही फाल्गुन २८ गतेदेखि चैत्र ४ गतेसम्म तिलोत्तमाको मंगलापुर चोकदेखि पुर्व सैनिक पथमा महायज्ञ सञ्चालन गर्न लागेको आश्रमका महासचिव बिजु पौडेल पाण्डेले बताउनुभयो।
एक हप्तासम्म चल्ने महायज्ञबाट भवन निर्माणका लागि तिलोत्तमा नगरपालिका-७ मा जग्गा व्यवस्थापन भइसकेको आश्रमका अध्यक्ष प्रतिमा शर्माले बताउनु भयो । बेसहारालाई सेवा दिन मिल्ने गरी सुविधासम्पन्न, बालमैत्री पार्क सहितको भवन बनाउने तयारी आश्रमको छ । तिलोत्तमा नगरपालिका बालमैत्री नगरपालिका घोषणा भइसकेको सन्दर्भमा बाल संरक्षण को नीति अपनाएर सेवाको स्थायित्वका लागि भवन निर्माण र आश्रतिहरुको भरणपोषणका लागि अक्षयकोष पनि स्थापना गर्ने महायज्ञको उद्देश्य रहेको उहाँले बताउनुभयो।
सो अवसरमा बोल्दै तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाणले सामाजिक सेवामा लागेको सृजनशील सस्थाले गरेको सो पुण्य कार्य प्रति नगरपालिका र समग्र नगरबासीको सहयोग रहने बिश्वास ब्यक्त गर्नुभयो। उहाँले सामाजिक त्यसमा पनि पुण्य कमाउने कार्यको थालनीले नगरपालिकाको शिर समेत उचो बनाएको कुरा समेत ब्यक्त गर्नुभयो। नगर प्रमुख खाणले यो एक सामाजिक कार्य भएकाले सबैलाई सहयोग गर्न आग्रह समेत गर्नुभयो।
बढी जसो अन्य जिल्लाका बालबालिका सडकमा बेसहारा लाई शैक्षिकसंगै अन्य सम्बेगात्मक बिकासका लागि आर्थिक श्रोत नभएकाले रकम संकलन गर्न महायज्ञ आयोजना गरिएको यस क्षेत्रका धार्मिक समाजसेवी रोमणी प्रसाद पाठकले बताउनुभयो । उहाँले अन्य महायज्ञ भन्दा मानवीय सेवा र परोपकारी भावनाले आयोजना गरिएकाले सबै क्षेत्रबाट सहयोग आउने अपेक्षा गरिएको समेत बताउनुभयो। ‘घर-परिवारको संरक्षण र अभिभावकत्व अभावमा सडकमा बस्न बाध्य बेसहारा, अशक्तहरुको मानवोचित व्यववस्थापनको पवित्र उद्देश्यले महायज्ञ गर्न लागेका हौं,’ मोक्षधाम आश्रमका अध्यक्ष समेत रहेका पाठकले सोमबार आयोजित बृहत भेलामा भन्नुभयो, ‘देशभित्र र विदेशमा बस्ने नेपालीबाट फराकिलो छाती बनाएर सहयोग जुट्ने हाम्रो विश्वास छ ।
’सो कार्यक्रममा बोल्दै लायन्स क्लब इन्टर्नेशनलका नवराज न्यौपानेले सामाजिक सेवामा अग्रसर सृजनशील सस्थाले गरेको सामाजिक कार्यको प्रशंशा गर्दै सामाजिक कार्यमा सहकार्य गरि अघि बढ्न आफु तयार रहेको बताउनुभयो। त्यस्तै सोहि अवसरमा बोल्दै समाजसेवी तेज प्रसाद पाठकले यो सबैको साझा कार्य भएकोले सबैको सहयोग अपरिहार्य रहेको समेत बताउनुभयो। सस्थाकी कोशाध्यक्ष कल्पना ढकालको स्वागत मन्तव्यमा शुरु भएको बृहत भेलाले महायज्ञ सम्पन्न गर्न मूल समिति र उपसमितिहरु निर्माण गर्न अर्को भेला आयोजना गर्ने समेत बताएको छ।कार्यक्रममा तिलोत्तमा नगरपालिकाका मेयर रामकृष्ण खाण, वडा नम्बर ९ का अध्यक्ष ध्रुव न्यौपाने, वडा नम्बर ७ का अध्यक्ष देवीलाल पंगेनी, मोक्षधाम सेवा आश्रमका अध्यक्ष रोमणी प्रसाद पाठक, लायन्स इण्टरनेशनलका नवराज न्यौपाने लागायत सयौ स्थानिय तथा शुभेच्छुकहरुको उपस्थिति रहेको थियो।
कमेन्ट गर्नुहोस्