
तिलोत्तमा,२०७९ साल १९ कार्तिक। रुपन्देहीमा क्रियाशिल स्रष्टाहरूले दलालहरू उत्पादन गर्ने राजनीतिक प्रणाली विरुद्ध लड्न घनश्याम भुसालले जित्नुपर्ने बताएका छन् । शनिबार देवदहमा आयोजित 'स्रष्टासंग घनश्याम भुसाल' कार्यक्रममा बोल्दै स्रष्टाहरूले अहिलेको निर्वाचन अग्रगमन र पश्चगमन विचको घमासान लडाइँ भएकोले अग्रगामी शक्तिले जित्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा बोल्दै समालोचक तथा लेखक रामचन्द्र श्रेष्ठले अहिलेको निर्वाचन, निर्वाचनमात्रै नभएर विचारको लडाइ भएको बताए । उनले भने, "यो निर्वाचनमा एकातिर कमल थापा र दिपक बोहोराहरू छन् भने अर्कोतिर घनश्याम भुसालहरू ।" नेकपा एमालेतर्फ संकेत गर्दै श्रेष्ठले थपे, "आज एमालेको टिकटबाट कमल थापाहरू निर्वाचन लड्दै गर्दा बर्षौ पसिना बगाएर एमाले पार्टी बनाएका घनश्यामहरूले त्यहाँ स्थान पाएनन् र स्वतन्त्र भुमिकामा लड्दैछन । यसले अहिलेको हाम्रो राजनीति सहि ट्र्याकमा छैन भन्ने संकेत गर्छ ।
घनश्याम भुसालहरूले गणतन्त्रको लागि आन्दोलन गर्दैगर्दा उनलाई पुर्न खाल्डो खन्नेहरूले एमालेको चुनाव चिन्हबाट निर्वाचन लड्न पाउने तर घनश्याम भुसाल त्यहाँबाट बाहिरिनुपर्ने अवस्था आउनुले राजनीतिक दलहरू भ्रष्टिकरणको दिशामा गैसकेको प्रमाणित हुने उनको भनाइ छ ।
अहिलेको राजनीतिले दलालहरू उत्पादन गरिरहेको र समाजमा रहेका लेखक, पत्रकार, शिक्षक, कर्मचारी लगायत सबैमा तिब्र दलालीकरण भैरहेको उल्लेख गर्दै उनले यस प्रकारको दलालीकरण विरुद्ध लड्न घनश्याम भुसालले जित्नुपर्ने तर्क दोहोर्याए ।
कार्यक्रममा बोल्दै आदिवासी जनजाति पत्रकार संघ रुपन्देहीका उपाध्यक्ष प्रेम थापा, युगीन साहित्य समाजका सचिव विष्णु विवश पोखरेल, कलाकार तेजु अर्याल लगायतले यस क्षेत्रबाट निर्वाचित हुने सांसदले यस क्षेत्रको पुर्वाधार विकाससंगै कला, साहित्य र संस्कृतिको विकासमा काम गर्नुपर्ने बताएका थिए ।
कमेन्ट गर्नुहोस्