लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

विकास निर्माणका काममा हामी एकताबद्ध होऔँ : ऊर्जामन्त्री भुसाल

IMG

तिलोत्तमा सिटी न्युज, साउन ८ गते २०७९। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विकासका निर्माणका काममा एकताबद्ध भएर अगाडि बढ्न आग्रह गर्नुभएको छ । ललितपुरको गोदावरी नगरपालिका वडा नं १२ ठेचोमा आज ‘पाको पार्क’ उद्घाटन कार्यक्रममा उहाँले विकास निर्माण निरन्तरको प्रक्रिया भएकाले सबैको ऐक्यबद्धता आवश्यक हुने बताउनुभयो ।मन्त्री भुसालले भन्नुभयो, “विकास निर्माण कार्यमा एउटै मनले समन्वकारी भूमिका निर्वाह गर्नुपर्छ । निर्वाचनका बेला विभिन्न दलका नाममा मत मागे पनि विकासका काममा हामी एक मत छौँ, हुनुपर्छ । सँधै जनताको काममा एकताबद्ध भएर लाग्छौँ ।” उहाँले सार्वजनिक जग्गा सदुपयोग गरेर निर्माण गरिएको पार्कले स्थानीयवासीको जीवनशैली विकासमा सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।


ठेचोबासीको सुविधाका लागि निर्माण भएको पार्कको उचित संरक्षण र संवद्र्धन  गरेर उपयोग गर्नुपर्नेमा जोड दिँदै मन्त्री भुसालले भन्नुभयो, “यो पार्कको उचित संरक्षण र उपभोग गर्ने जिम्मा स्थानीयवासीको हो ।” रु ७५ लाखभन्दा बढी लागतमा निर्माण भएको सो पार्कमा शारीरिक ब्यायमका लागि आवश्यक पर्ने पूर्वाधार विकास गरिएको छ ।सो अवसरमा बागमति प्रदेशसभा सदस्य राजकाजी महर्जनले शारीरिक अभ्यास र बालबालिकाका लागि उपयुक्त हुने गरी पार्क निर्माण गरिएको जानकारी दिनुभयो । उहाँले पार्कलाई २४ सै घण्टा प्रयोग गर्न सकिनेगरी सिसिटिभी र बिजुलीबत्तीको उपयुक्त व्यवस्था गरिने बताउनुभयो । कार्यक्रममा वडा नं १२ का वडा अध्यक्ष जगतबहादुर महर्जनले वडाको विकासमा संघ र प्रदेशबाट भरपर्दो सहयोग प्राप्त भएको बताउनुभयो ।

कमेन्ट गर्नुहोस्