लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

मलेसियामाथि पीएनजीको शानदार जित

IMG

तिलोत्तमा सिटी, २०७८ चैत्र १८ गते । टोनी उरा र असद भालाले उत्कृष्ट ब्याटिङ गर्दै कीर्तिमानी शतकीय साझेदारी गरेपछि पपुवा न्यूगिनी (पीएनजी)ले त्रिकोणात्मक टी-२० श्रृंखलामा शुक्रबार मलेसियालाई ८ विकेटले पराजित गरेको छ ।यसअघि लगातार दुई खेलमा पराजित भएको पीएनजीले पहिलो जितपछि श्रृंखलाको फाइनल पुग्ने सम्भावना जिवितै राखेको छ । जितपछि पीएनजीले यसअघि मलेसियासँग व्यहोरेको हारको बदला लिएको छ । घरेलु टोली नेपाल लगातार तीन खेल जित्दै फाइनल पुगिसकेको छ ।अब लिगको अन्तिम खेलमा शनिवार नेपालले मलेसियासँग खेल्नेछ । यो खेलमा नेपालले मलेसियालाई पराजित गरेमा पीएनजी फाइनल पुग्नेछ । मलेसियाले भने फाइनल पुग्न नेपाललाई हराउनैपर्नेछ ।कीर्तिपुरस्थित त्रिवि मैदानमा भाला र उराले तेस्रो विकेटका लागि अविजित १३७ रनको साझेदारी गरेपछि मलेसियाले दिएको १९७ रनको लक्ष्य पीएनजीले १७.५ ओभरमा २ विकेट गुमाएर पूरा गरेको हो ।


पीएनजीको टी-२० अन्तर्राष्ट्रिय इतिहासमा कुनै पनि विकेटको लागि भएको यो ठूलो साझेदारी हो ।उराले विष्फोटक ब्याटिङ गर्दै ३४ बलमै अविजित ८६ रन बनाए । जसमा २ चौका र १० छक्का समावेश थियो । यस्तै कप्तान भालाले ५१ बल खेल्दै ८ चौका र १ छक्का मद्दतमा अविजित ७४ रन योगदान गरे । चार्ल्स अमिनीले २८ रन बनाए ।खेलको पहिलो बलमै लेगा सिएका खाता नखोली आउट भएपनि भाला र अमिनीले दोस्रो विकेटका लागि ६२ रनको साझेदारी गर्दै इनिङ्स सम्हालेका थिए ।मलेसियाका लागि मुहम्मद वाफिक र स्याज्रुल इद्रुसले एक-एक विकेट लिए ।त्यसअघि कप्तान अहमेद फैज र सयद अजिजतले तेस्रो विकेटकै लागि कीर्तिमानी शतकिय साजेदारी गरेपछि टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले ६ विकेट गुमाएर १९६ रन बनाएको थियो ।अजिले ३५ बल खेल्दै ८ चौका र ३ छक्का मद्दतमा सर्वाधिक ६४ रन बनाए । यस्तै कप्तान फैजले ४३ बल खेल्दै ५ चौका र ३ छक्का मद्दतमा ६३ रन बनाए। ओपनर जुबाईदी जुल्किफलले २२ बलमा ४६ रन बनाए ।बलिङमा पीएनजीका लागि कबुअ मोरेअले ३ ओभरमा २९ रन खर्चेर ४ विकेट लिए ।

कमेन्ट गर्नुहोस्