
तिलोत्तमा सिटी,माघ १३ गते २०७८। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समिति गठनको तयारी गरेका छन् । केन्द्रीय समितिको आकार ठूलो भएको र कोरोना महामारीका कारण बैठक बस्न सम्भव नभएपछि देउवाले कार्यसम्पादन समिति गठन गर्न लागेका हुन् ।केन्द्रीय कार्यसम्पादन समिति गठनकै लागि शुृक्रबार कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । भर्चुअल बस्ने बैठकमा समिति गठनको प्रस्ताव पेश गर्न तयारी भएको महामन्त्री गगनकुमार थापाले जानकारी दिए । ‘भोली (शुक्रबार) बैठक बस्ने को प्रयोजन नै कार्यसम्पादन समिति गठन गर्ने नै हो,’ उनले भने, ‘बैठकमा यही एउटा एजेण्डा मात्रै हो ।’१४ औं महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको दुई महिनामा सभापति देउवाले कार्यसम्पादन समिति गठन गर्न लागेका हुन् ।
पार्टीका आन्तरिक र राष्ट्रिय राजनीतिका महत्वपूर्ण विषयमा निर्णय गर्नुपर्ने भएकाले कार्यसम्पादन समिति गठनलाई देउवाले प्राथमिकता दिएका हुन् ।‘अस्ति नै कार्यसम्पादन समिति बनाउने तयारी थियो । तर कोरोनाका कारण बैठक बस्न सकेन । अब भर्चुअल बसेर भएपनि कार्यसम्पादन बनाऔं भन्ने समझदारी सभापतिज्यूसँग भएको हो,’ महामन्त्री थापाले भने, ‘कार्यसम्पादन बनाएपछि पार्टीका बाँकी नियमित कामहरु समितिबाटै गर्न सकिन्छ भनेर सभापतिज्यूसँग कुराकानी भएको हो ।’कांर्यसम्पादन समितिमा पार्टी पदाधिकारीहरु स्वतः पदेन सदस्य हुनेछन् भने सभापतिले कार्यसमितिका सदस्यमध्येबाट समावेशी सिद्धान्तसमेतलाई ध्यानमा राखी केन्द्रीय समितिका ३१ जनाको नाम केन्द्रीय समिति बैठकमा प्रस्ताव गर्ने विधानको व्यवस्था छ । सभापतिको प्रस्ताव केन्द्रीय समिति बैठकले बहुमतले अनुमोदन गर्नुपर्नेछ । त्यस्तै कार्यसम्पादन समितिमा पार्टी प्रवक्ता पनि पदेन सदस्य हुनेछन् भने संसदीय दलको नेता पनि कार्यसम्पादन समितिको पदेन सदस्य रहने विधानमा व्यवस्था छ ।
कमेन्ट गर्नुहोस्