
२०७८,पुष २५,तिलोत्तमा सिटी। राष्ट्रिय जनमोर्चाले लिपुलेक क्षेत्रमा भारतले सडक विस्तारको काम जारी राखेको भन्दै विरोध जनाएको छ ।नेपाल सरकारलाई तुरुन्तै भारतसँग यो विषयमा कुराकानी गर्न तथा निर्माण कार्य रोक्न जनमोर्चाले माग गरेको छ ।जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आज विज्ञप्ति जारी गर्दै मोदीको यो अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै निर्माण कार्य रोक्न माग गरेका हुन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफैंले भारतको उत्तराखण्ड राज्यमा अवस्थित हलद्वानीको एक सार्वजनिक कार्यक्रममा मानसरोवरसम्म जाने सडक पुर्याउन लिपुलेक क्षेत्रमा सडक विस्तारको काम जारी रहेको अभिव्यक्ति दिएका थिए । यस विषयमा जनमोर्चाले विज्ञप्ति जारी गरेर औपचारिक रुपमा विरोध जनाए पनि अन्य राजनीतिक दलहरु मौन छन् ।गत वर्ष भारतले नेपालको कालापानी क्षेत्र अन्तरगत पर्ने लिपुलेकमा नेपाली भूमि अतिक्रमण गरी सडक निर्माण गरेको सार्वजनिक भएको थियो । भारतका रक्षामन्त्री राजनाथ सिंहले भर्चुअल माध्यमबाट सडकको उदघाटन गरेका थिए ।
भारतले नेपाली भूमिमा अतिक्रमण जारी राखेको भन्दै नेपालभर विरोध भएको थियो । सरकारले पनि भारत सरकारलाई कूटनीतिक नोट पठाएको थियो ।तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले भारतको कब्जामा रहेका कालीपानी, लिपुलेक, लिम्पियाधुरा लगायतका भूभागलाई समेटेर नेपालको नयाँ नक्सा जारी गरेको छ ।
कमेन्ट गर्नुहोस्