लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

भूकम्पले भत्काएका ५० हजार आवास पुनर्निर्माणको काम सम्पन्न

IMG

२०७८ पुष २१, तिलोत्तमा सिटी। वि.स. २०७२ सालमा गएको विनाशकारी भूकम्पले भत्त्काएका ५० हजार घरहरुकाे पुनर्निर्माण सम्पन्न भएकाे छ । आवास पुनर्निर्माण सम्पन्न भएपछि भूकम्पको केन्द्रबिन्दु रहेको गोरखाको बारपाकका स्थानीयहरु ६ वर्षपछि आफ्नै आवासमा बसेका छन् ।जग्गाहीनहरुले पनि घर बनाउनका लागि जग्गा पाएको र बस्नका लागि उचित बासस्थान पाउँदा खुशी देखिन्छन् । भारत सरकार र संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम यूएनडीपीको संयुक्त सहयोगमा गोरखा र नुवाकोटका करिब ५० हजार घर पुनर्निर्माण सम्पन्न भएको छ । अझै पनि गोरखामा भूकम्पबाट भत्किएका सांस्कृतिक सम्पदाहरुको पुनर्निर्माण गर्नसके गोरखाको मुहार फेरिने स्थानीयहरुको भनाइ छ । ३ लाखमा सरकारले बनाइदिएको घरमा अहिले आनन्द महशुस गरिरहेको उनीहरु बताउँछन् ।


त्यस्तै गोर्खा नगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष हरिबहादुर खनालले अहिले निर्माणसम्बन्धी अधिकांश कामहरु सकिएको र केही विद्यालय तथा सांस्कृतिक सम्पदाका कामहरु बाँकी रहेको बताउनु भयो । उहाँले नेपाल सरकारले भूकम्पका कारण भत्किएका घरहरु पुनर्निर्माणका लागि ३ लाख रुपैयाँ दिए पनि त्यो पर्याप्त नहुँदा कतिपय आवास अहिलेसम्म पनि निर्माण हुन नसकेको गुनासो गर्नुभयो ।त्यस्तै नेपालकाे लागि भारतीय दूतावास उपप्रमुख  खम्पा नामग्यालले भारत सरकारले भूकम्पबाट भत्किएका आवासगृह बनाउन सहयोग गरिरहेको र अझै विकासका क्षेत्रमा पनि सहयोग गर्ने बताउनु भयो । उहाँले यूएनडिपी र भारत सरकारको सहयोगमा नुवाकोट र गोरखाका ५० हजार घर पुनर्निर्माण सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै भारत सरकारले नेपालमा स्वास्थ्य, शिक्षा र संस्कृतिको क्षेत्रमा सहयोग गरिरहने बताउनु भयो ।


त्यस्तै संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमका नेपाल उपप्रतिनिधि बेर्नान्र्डाे काक्कोले २०१५ मा गएको भूकम्पले भत्काएका गोरखा र नुवाकोटका आवास पुनर्निर्माणको काम पूर्ण रुपमा सम्पन्न भएको बताउनु भयो । उहाँले यूएनडिपीले यसमा सामाजिक र प्राविधिक सहयोग गरेको बताउँदै भारत सरकारको सहयोग उल्लेखनीय रहेको बताउनु भयो ।




कमेन्ट गर्नुहोस्