लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

पृथ्वी जयन्तीकाे अवसरमा गोरखादेखि काठमाण्डौसम्म सेनाकाे पदयात्रा शुरु

IMG

२०७८ पुष २१, तिलोत्तमा सिटी। पृथ्वी जयन्तीको अवसर पारेर नेपाली सेनाले गोरखादेखि काठमाण्डौसम्म पदयात्रा शुरु गरेको छ । ऐतिहासिक महत्वको एकीकरण अभियानलाई हर्षोल्लासका साथ मनाउन गोरखादेखि काठमाण्डौसम्मको ऐतिहासिक पदमार्गमा पदयात्रा शुरु गरिएको सेनाले जनाएको छ । नेपाली सेनाले दुई वर्षदेखि यही बाटो हुँदै काठमाण्डौसम्म पदयात्रा गर्दै आएको छ । नेपाली सेनाको मध्यकमाण्ड हेडक्वाटरका कमाण्ड सेनापति उपरथी बाबुराम श्रेष्ठ र गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पन्तले नेपालको राष्ट्रिय झण्डा र टर्च हस्तान्तरण गरि पदयात्राको शुभारम्भ गर्नुभएको हो । आज गोरखा दरवारबाट शुरु भएको यात्रा धादिङ, नुवाकोट हुँदै पृथ्वीजयन्तीको दिन अर्थात् पुस २७ गते काठमाण्डौ पुग्ने गोरखाको रिपुमर्दन गणले जनाएको छ । 


पदयात्रामा बाजागाजा सहित पृथ्वीनारायण शाहकालीन नेपाली सेनाको पोशाकमा रिपुमर्दन गणको फौज सहभागी भएको छ । यात्राको क्रममा टर्च सहितको नेपालको झण्डा सहित पृथ्वीनारायण शाहको पालामा स्थापना भएका सेनाका प्रथम पाँच कम्पनीका झण्डा पनि समावेश गरिएको गणका सेनानी प्रकाश परियारले जानकारी दिनुभयो । पृथ्वीनारायण शाहको पालामा श्रीनाथ, कालिबक्स, पुरानो गोरख, बर्दवाणी र सबुज नाममा ५ कम्पनी स्थापना भएका थिए । तत्कालीन कम्पनीहरु अहिले पनि सेनाको गणका रुपमा रहेका छन् । पदयात्राका क्रममा गोरखाको टोलीले नेपाली सेनाको धादिङको टोलीलाई, धादिङले नुवाकोटको टोलीलाई र नुवाकोटमा तैनाथ नेपाली सेनाको टोलीले काठमाण्डौंमा तैनाथ गणलाई टर्च, राष्ट्रिय झण्डा र सेनाका ५ कम्पनीको झण्डा हस्तान्तरण गर्नेछ । 


काठमाण्डौको गणले पृथ्वीजयन्तीको दिन काठमाण्डौमा हुने कार्यक्रममा भाग लिने नेपाली सेनाले जनाएको छ । सरकारले गोरखादेखि काठमाण्डौसम्मको पुरानो बाटोलाई एकीकरण पदमार्गका रुपमा विकास गर्न थालेको हो । सेनाले यस पदमार्गको अध्ययन पूरा गरेको छ । गोरखाबाट धादिङ, नुवाकोट हुँदै काठमाण्डौबाट काभ्रेसम्मको करिब १ शय ९२ किलोमिटर बाटोलाई सरकारले एकीकरण पदमार्गको रुपमा प्रबद्र्धन गर्न लागेको हो । नेपाली सेनाको गोरखामा रहेको गणले भने गोरखाभित्रको बाटोको अध्ययन गरेको छ । 


काठमाण्डौको हनुमानढोकाबाट गोरखा दरबार २६ कोषको दूरीमा रहेको छ । बाटोको बीचबीचमा रहेका अधिकांश कोसेढुंगा हराएका छन् भने भएकाको पनि संरक्षण हुन सकेको छैन । एकीकरण पदमार्गमा पर्ने गोरखाखण्डमा ६ वटा कोसेढुंगा हुनुपर्नेमा ५ वटामात्रै सुरक्षित छन् । गोरखा दरवारको हनुमान भञ्ज्याङ, मेलबिसौना, ताप्लेकोट, अश्राङको ठाँटी र बोर्लाङको घाटवेसीको कोसेढुंगा सुरक्षित छन् । यस्तै पदमार्ग आसपास दर्जनौं ऐतिहासिक मठमन्दिर, गुम्बा, पाटीपौवा लगायतका पुरातात्विक सम्पदाहरु रहेका छन् । पदमार्गको धेरैजसो खण्डमा भने मध्यपहाडी लोकमार्ग निर्माण भैरहेको छ । जसका कारण ऐतिहासिक सम्पदा नासिने जोखिम पनि बढेको छ । पुरानो हुलाकी मार्गका रुपमा रहेको बाटो आसपासका पुराना चौताराहरुको पनि संरक्षण हुन सकेको छैन । 


पदयात्रामा सहभागी सेनाको टोलीको बिदाई कार्यक्रममा बोल्दै नेपाली सेनाको मध्यकमाण्ड हेडक्वाटरका कमाण्ड सेनापति बाबुराम श्रेष्ठले पदमार्गमा पर्ने सम्पदाहरुको संरक्षणमा पनि सेना सहभागी भैरहेको बताउनुभयो । उहाँले राष्ट्रिय एकताको सन्देश दिन सेनाले पदयात्राको थालनी गरेको पनि जानकारी दिनुभयो । यस्तै गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले त्यस्ता सम्पदाको संरक्षणमा नेपाली सेनालाई गोरखा, धादिङ, नुवाकोट र काठमाण्डौका स्थानीय सरकारले साथ दिनुपर्ने बताउनुभयो । यस्तै, प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले एकीकरण पदमार्गमा पर्ने जिल्लाहरुबीच त्यसको प्रचारप्रसारका लागि समन्वय हुनुपर्ने बताउनुभयो ।

कमेन्ट गर्नुहोस्