लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

कस्तो बच्चाहरुलाई निमोनिया हुने जोखिम बढी हुन्छ?

IMG

२०७८ मङ्सिर ९  ,तिलोत्तमा सिटी । 


निमोनिया के हो: निमोनिया भनेको श्वासप्रश्वास सम्बन्धि संक्रमण हो र यसले फोक्सोमा असर गर्छ। निमोनिया भएको अवस्थामा फोक्सोभित्र भएका स-साना हावाका थैलीहरुमा तरल पदार्थ भरि श्वास फेर्न कठिनाई भई शरीरमा आवश्यक अक्सिजनको मात्रामा कमी हुन जान्छ। ५ वर्ष मुनिका बच्चाहरुको मृत्युको प्रमुख कारण निमोनिया हो।


निमोनिया के कारणले हुन्छ?

- निमोनिया विभिन्न खालका संक्रामक तत्वहरु जस्तै व्याक्टेरिया, भाइरस तथा फन्गाइबाट हुने गर्दछ।


निमोनिया कसरी सर्दछ?

मुख्यतया बच्चाहरुको नाक र घाँटीमा रहेका संक्रामक जिवाणु वा किटाणुहरु श्वासको माध्यमबाट फोक्सोसम्म पुगि निमोनिया गराउन सक्दछन्। संक्रमित व्यक्तिहरुले हाछ्यूँ गर्दा वा खोक्दा थुक र सिंगानको छिट्टाबाट सर्न सक्दछ।


कस्तो बच्चाहरुलाई निमोनिया हुने जोखिम बढी हुन्छ?

विशेषगरी रोग प्रतिरोधात्मक क्षमता कम भएका, पूर्ण स्तनपान गर्न नपाएका, कुपोषित र जन्मदै कम तौल भएका बालबालिकाहरुमा निमोनिया हुने सम्भावना बढी हुन्छ। खाना पकाउँदा निस्कने घरभित्रको धुँवा र धूम्रपान गर्दा निस्कको धूवाँले साथै एउटै कोठामा धेरै मान्छेको भिडभाडले यो रोग लाग्ने सम्भावना बढाउँछ।


निमोनियाको चिन्ह तथा लक्षणहरु के के हुन्?

ज्वरो आउने

शरीरमा काँढा उम्रने र कम्पन आउने

छिटो छिटो सास फेर्ने

श्वास फेर्न कठिन हुने

श्वास लिँदा र छोड्दा अस्वभाविक आवाज आउने

कोखा हान्ने

झोल कुरा पिउन नसक्ने वा आमाको दूध राम्री चुस्न नसक्ने

धेरै सूति रहने वा ब्युँझाउन गाह्रो हुने

नाकबाट सिँगान बग्ने

खोकी लाग्ने


निमोनिया भएका बच्चाहरुमा अन्य स्वास्थ्य समस्याहरु जस्तै झाडापखला, दादुरा, औलो, कुपोषण समेत देखा पर्न सक्छ। यदि बच्चामा माथिको चिन्ह वा लक्षणहरु देखा परेमा तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा लैजानु पर्दछ।


निमोनियाको उपचार तथा रोकथाम कसरी गर्ने?

बच्चाहरुलाई समयमा सबै खोपहरुको मात्र पूरा लगाउने

बच्चालाई पटक पटक खाना वा झोल कुराहरु खान दिने

बच्चालाई बिरामी पर्दा पनि पटक पटक स्तनपान गराइरहने र पूर्ण स्तनपान गराउने

बच्चालाई न्यानो पारेर राख्ने तर नगुम्स्याउने

बच्चालाई धुँवा (घरभित्र धुँवा, भिडभाड तथा धूम्रपानका धुँवा), धुलोबाट बचाउने, बच्चाको वरिपरी धूम्रपान नगर्ने र अरुलाई पनि गर्न नदिने।

बच्चाको नाक बेला बेलामा सफा गरिदिने।

कमेन्ट गर्नुहोस्