लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

अब्बल राष्ट्रवादी सीमा क्षेत्रमा बस्ने नेपाली हुन् : गृहमन्त्री खाँण

IMG

२०७८ मङ्सिर ७ ,तिलोत्तमा सिटी ।  गृहमन्त्री बालकृष्ण खाँणले सीमा क्षेत्रमा बसोबास गर्ने नेपाली अब्बल राष्ट्रवादी रहेको बताएका छन् । उनले नेपालको राष्ट्रियता, सान र पहिचान सीमा क्षेत्रका नेपाली जनताबाटै कायम रहेको बताए ।रुपन्देहीको कोटहीमाई गाउँपालिका–६ मर्चवारीदेवी मन्दिरमा नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर ४ ले मंगलबार आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै गृहमन्त्री खाँणले सीमा क्षेत्रमा बसोबास गर्ने नेपालीले नेपालको सीमा रक्षा गरेको भन्दै धन्यवाद व्यक्त गरे । ‘सीमा क्षेत्रमा रहेको खेत, खलिहान, आली, बगैचा लगायतका स्थललाई मेरो हो भन्दै जोगाएकोले आज देश जोगिन पुगेको छ, ’उनले भने । हरेक नेपालीको जीवन रक्षा गर्नु नै नेपाली कांग्रेस पहिलो लक्ष्य राखेको गहृमन्त्री खाँणले बताए ।


वि.सं. २०४८ साल भन्दा पहिला विकासको गति धेरै न्यून रहे पनि २०४८ सालमा बहुदलीय व्यवस्था आएपछि तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले व्यवस्थित तरिकाले अर्थतन्त्रलाई उठाउने काम गरेको उनले बताए ।नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका खांणले भैरहवा–काठमाण्डौ विमान सेवा हप्तामा २ पटक मात्र सेवा दिने अवस्थाबाट नेपाली कांग्रेसले विभिन्न किसिमका संघर्ष गरी दैनिक सञ्चालन गर्ने व्यवस्थापन गरेको बताए ।वि.सं. २०५१ सालमा नेपाली कांग्रेसको आन्तरिक द्वन्दले कम्युनिष्टले सरकार बनाउन सफल भएको र जसले गर्दा नेपालको अर्थनीति बिग्रेको उनले बताए । त्यतिबेला कम्युनिष्टको सरकार आएपछि विकासको गति र देशमा आउने लगानी सबैमा बाधा परेको गृहमन्त्री खाँणको भनाइ थियो ।नेपालमा शान्ती ब्यवस्था गराउने तत्कालीन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाले अघि बढेर माओवादीसँग वार्ता गरी नेपाललाई पुनः विकासको गतिमा ल्याएको उनले बताए ।


‘मर्चवारको विकास पनि द्वन्दकालमा नेपालको आवस्था जस्तै रहेको थियो धेरै पटकको प्रयासपछि मर्चवारमा नेपाली कांग्रेसमाथि विश्वास गरी नेपाली कांग्रेसलाई अवसर दिनासाथ मर्चवार पनि विकासको लहरमा बढेको छ, ’उनले भने ।मर्चवारको अब शिक्षा, कृषि, भौतिक पूर्वाधार, स्वास्थ्य, पर्यटन, मठमन्दिर क्षेत्र लगायत अन्य क्षेत्रको कागजमा नभई देखिने विकास हुने उनले आश्वासन दिए ।आगामाी दिनमा पनि न कांग्रेसमाथि विश्वास गरी अवसर दिएमा पुनः मर्चवारको लागि गुरुयोजना निर्माण गरी विकासको कार्य अगाडी बढाउने उनले प्रतिवद्धता व्यक्त गरे । कार्यक्रमा प्रतिनिधिसभा सदस्य प्रमोद कुमार यादवले मर्चवार क्षेत्रमा कृषिको सम्भावना रहेकाले यो क्षेत्रको विकासका लागि सरकारको अझै ध्यान जानुपर्ने बताए ।लुम्बिनी प्रदेश सरकारका शिक्षा, विज्ञान युवा तथा खेलकुद मन्त्री वसिउद्दीन खानले मर्चवार क्षेत्रमा रहेको विभिन्न भन्सार कार्यालय द्वन्दकालदेखि बन्द भएकोले मर्चवारको अर्थतन्त्रमा ठुलो क्षति भएको  बताए ।


प्रदेशसभा सदस्य अष्ठभुजा पाठकले मर्चवारको मुख्य सडक जीर्ण अवस्थमा रहेकोले संघीय सरकारले तत्काल पहल गरी निर्माण गर्न आग्रह गरेका थिए । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर ४ का सभापति मुकेश यादवको अध्यक्षता तथा महासमिति सदस्य रामप्रसाद हरिजनको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो। 

कमेन्ट गर्नुहोस्