लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

विमानस्थल निर्माणको काम छिटो सक्न अर्थमन्त्रीको ताकेता

IMG

२८ कात्तिक,२०७८ तिलोत्तमा सिटी ।  अर्थमन्त्री जनार्दन शर्माले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य चाँडो सकाउन ताकेता गर्नुभएको छ । उहाँले यसको लागि सरकारको तर्फबाट गर्नुपर्ने काममा कुनै पनि ढिलाई नहुने बचन समेत दिनुभएको छ ।निर्माणाधीन विमानस्थलको शनिवार निरीक्षण गर्ने क्रममा मन्त्री शर्माले भन्नुभयो ‘काम छिटो सकेर उडान संचालन गर्नको लागि सरकारको तर्फबाट के काम गर्नुपर्नेछ त्यसमा कुनै ढिलाई हुँदैन । निर्माणकर्ताहरुले पनि तीव्र गतिमा काम अघि बढाउनुप¥यो ।’ उहाँले थप्नुभयो ‘सरकारले कुनै नीतिगत निर्णय गरिदिनुपर्नेछ कि वा बजेट व्यवस्था गर्नुपर्नेछ कि तपाईहरुले भन्नुस् । त्यसको व्यवस्थापन सरकारले गर्छ तर काम चाँडो सक्नुपर्छ ।’ 


आगामी २०७९ असार मसान्तसम्म कार्य सम्पन्नता म्याद रहेको विमानस्थल निर्माणको भौतिक प्रगति ८७ प्रतिशत र वित्तीय प्रगति ६७.७० प्रतिशत भएको आयोजनाले जनाएको छ ।विमानस्थल निर्माणको क्रममा विभिन्न समस्याहरु पनि देखिएका छन् । ल्याण्डिङ्ग एप्रोचमा पूर्वपट्टि रहेको रिठ्ठेपानी डाँडाको ४० मिटर हाईट कटान गर्नुपर्नेछ । वन मन्त्रालयको झन्झटिलो प्रक्रियाको कारण उक्त काममा ढिलाई भइरहेको आयोजनाको गुनासो छ । त्यसको लागि बल्ल वातावरणीय प्रभाव मूल्याङ्कनको काम सुरु भएको छ । यस्तै आयल निगमले हवाई इन्धन भण्डारण (आयल डिपो) निर्माणको काम पनि सुरु गरेको छैन । विमानस्थलबाट करिब २ कि.मि. उत्तरमा रहेको ल्याण्डफिल साईड स्थानान्तरणको काम सुरु हुन नसक्दा उडान संचालनमा ‘बर्ड ह्याजार्ड’ को समस्या देखिएको छ ।  


कमेन्ट गर्नुहोस्