
तिलोत्तमा सिटी,११ कार्तिक २०७८। तिहारपछि छायांकन सुरु हुन लागेको चलचित्र ‘सत्यम्’को वर्कशप धम्पुसमा चलिरहेको छ । चलचित्रको वर्कशपका लागि मुख्य कलाकारहरु नायक राजेश हमाल, पल शाह, नायिका मलिका महत्त लगायतको टोली धम्पुसमा छ ।यो चलचित्रको शिर्ष भूमिकामा नायक राजेश हमाल देखिनेछन् । चलचित्रमा खलपात्रको भूमिकामा भने नायक अनुप विक्रम शाही देखिदैछन् ।
चलचित्रमा नायक पल शाहको अपोजिटमा नायिका मलिका महत्त देखिदैछिन् । यसैविच, यसको निर्माणपक्षले चलचित्रका लागि अर्की एक नायिकाको पनि खोजी गरिरहेको छ । चलचित्रमा नायक राजेश हमालको अपोजिटको रुपमा नायिका निरुता सिंहलाई अफर गरिएको छ । श्रोतका अनुसार, निरुतालाई चलचित्रको लागि अफर गरिएपनि उनले काम गर्ने वा नगर्ने पक्का भैसकेको छैन ।नायिका निरुता सिंह एक डान्स रियालिटी शोको निर्णायक बन्नका लागि एक साता अगाडि नेपाल आएकी थिइन्। यो डान्स रियालिटी शोका लागि निरुताले करिब ३ महिनाको समय दिनुपर्नेछ । यसैले, उनले चलचित्रमा काम गर्ने वा नगर्ने बिषयमा फाइनल गर्न सकेकी छैनन् ।
शंकर कार्कीको निर्देशनमा तयार हुन लागेको यो चलचित्रलाई रेशम सापकोटाले निर्माण गर्दैछन् । नायिका निरुता सिंहले चलचित्र ‘दाल भात तरकारी’मा मुख्य भूमिकामा काम गरेपछि नयाँ नेपाली चलचित्रमा काम गरेकी छैनन् । निरुताले नेपाल आएपछि कथावस्तु राम्रो भएको खण्डमा आमाको भूमिकामा पनि काम गर्ने बताएकी थिइन् ।
कमेन्ट गर्नुहोस्