
तिलोत्तमा सिटी,१४ असोज २०७८। एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा भैरहवा ग्लाडिएटर्स र ललितपुर प्याट्रिओट्सबीचको खेल बराबरीमा टुंगिएको छ । बिहीबार भएको खेलमा ललितपुरले दिएको ईपीएलको चौथो संस्करणकै सबैभन्दा ठूलो स्कोर १७८ रनको लक्ष्य पछ्याउने क्रममा भैरहवाका कप्तान शरद भेषवाकरले अन्तिम बलमा छक्का प्रहार गरेपछि स्कोर बराबरी भएको थियो ।स्कोर बराबरी भएपछि सुपर ओभर नभई अंक बाँडिएको हो । लक्ष्य पछ्याउने क्रममा शुरुवात राम्रो हुन नसके पनि श्रीलंकन उपुल थरंगा र कुशल मल्लले आक्रमक ब्याटिङ गर्दै भैरहवालाई जितका लागि अन्तिम ओभरमा १८ रन आवश्यक थियो ।अन्तिम ओभरमा भैरहवाले दुई छक्कासहित १७ रन मात्र जोड्न सक्यो ।भैरहवाका लागि थरंगाले ४४ बल खेल्दै ६ चौका र ३ छक्का मद्दतमा अविजित ६७ रन बनाए । कप्तान शरदले १ बल खेल्दै अविजित ६ रन बनाए । यस्तै कुशल मल्लले १९ बल खेल्दै ३ चौका र २ छक्का मद्दतमा ३५ रन जोडे । आरिफ शेखले २८ बल खेल्दै २ चौका र १ छक्का मद्दतमा २८ रन बनाए ।ललितपुरका लागि रासिद खानले ३ र रिजन ढकालले २ विकेट लिए । ४ ओभर बलिङ गर्दा रासिदले ३४ र रिजनले १७ रन खर्चिए ।
त्यसअघि टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले ओपनर सन्दुन विराकोडीको अर्धशतक मद्दतमा ७ विकेट गुमाएर १७७ रन बनाएको थियो । सन्दुनले ४१ बल खेल्दै २ चौका र ५ छक्का मद्दतमा सर्वाधिक ५८ रन बनाए । यस्तै अजमतुलल्ह ओमारजाईले २२ बल खेल्दै २ चौका ४ छक्का मद्दतमा ४२ रन बनाए । सन्दप जोराले २५ बल खेल्दै २ चौका र २ छक्का मद्दतमा ३८ रन बनाए ।ईपीएलमा कप्तानी डेब्यु गरिरहेका ओपनर कुशल भुर्तेल भने लगातार असफल भइरहेका छन् । उनी तेस्रो खेलमा पनि डबल डिजिटमा रन नबनाई आउट भए । भैरहवाविरुद्ध उनले २ रन मात्र बनाए ।बलिङमा भैरहवाका अविनाश बोहराले २ विकेट लिन ४ ओभरमा ४७ रन खर्चिए । धम्मिका प्रसाद, कृष्ण कार्की र आरिफ शेखले समान १ विकेट लिए ।दोस्रो पटक अंक बाँडेको भैरहवा ३ खेलबाट ४ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ । बिहीबारै अघिल्लो खेलमा काठमाडौं किंग्स ११ लाई पराजित गरेर चितवन टाइगर्सले पनि २ खेलबाट ४ अंक नै जोडेको छ । तर रनरेटमा भैरहवा अघि छ ।साविक विजेता ललितपुरले पनि लगातार दुई हारपछि पहिलो १ अंक जोडेको छ ।
कमेन्ट गर्नुहोस्