
तिलोत्तमा सिटी,१ अशोज २०७८। साच्चिकै राम्री अप्सरा तिलोत्तमाको नामले प्रसिद्ध नदि तिनाउको नाम बाट नामाकरण भएको साबिक ७ गाबिस मिलि बनेको सुन्दर नगर हो तिलोत्तमा। खानेपानी, सिंचाई, ढल ब्यबस्थापन, चर्पी, हराभरा बनजंगल, खुल्ला पार्क, सुब्यबस्थित सडक, टाउन प्लानिङ्ग बस्तिका बीच यो सुन्दरता ल्याउन मुश्किल थियो। तर निरन्तर कर्म र मेहनत गरे के हुदैन रैछ र आखिर सुन्दरताको प्रयायावाची बनेरै छोड्यो तिलोत्तमा नगर ।
रूपन्देहीको तिलोत्तमा–२ का ७ बर्षीय प्रमोसिना न्यौपाने आफुले खाएको चकलेटको खोल जहाँ पायो त्यही फ्याक्दिनन बरु यहा डस्बिन छैन भन्दै खल्तीमा राख्छिन। त्यसो त तिलोत्तमा १७ बस्ने १३ बर्षीय कमला पोख्रेलले सडकमा भेटिएको प्लास्टिक जन्य कागज या फोहोर देख्यो कि टिपि नजिकको डस्टबिन खोजेर त्यसमा फ्याँक्छिन । सडक होस् या घर, स्कुल होस् या पार्क उनलाई फोहोर मन पर्दैन । फोहोर जहा पायो त्यै मिल्काउन हुदैन भन्ने तिलोत्तामाका हरेक टोल टोलमा भेटिन्नछ्न यस्ता बालबालिकाहरु। यी त उदाहरण मात्रै हुन्, स्थानीय पाठ्यक्रममा फोहोर जहाँ पायो त्यहीँ फ्याँक्नु हुँदैन भनेर पढेकाले टिपेर उचित स्थानमा व्यवस्थापन गर्ने गरेको तिलोत्तमा-५ शान्ति नमुना माविका शिक्षक दिनेश खड्काले बताए ।‘मेरो पकेट मेरो पहिलो डस्टबिन भनेर पढेका विद्यार्थीले ‘नगरपालिकाले पनि बाहिर फोहोर फ्याँकेको देखे जरिवाना लिन्छ । भन्ने उनीहरुलाई थाहा छ’ फलस्वरूप आफूहरूले विद्यालयमा सरसफाइबारे पढेको र सातामा एक दिन सबै विद्यार्थी मिलेर विद्यालयको मैदान र आसपास खुला क्षेत्रमा सफा गर्दै आएको शिक्षक खड्काले बताए ।
धमाधम बसाई सरेर पहाड घर बाट मधेस भन्दै झरेका तिलोत्तमाको रोजाइमा परेका स्थान हरु मणिग्राम शंकर नगर ,नयामिल भलवारी कोटिहवा जस्ता स्थानमा सफा र ब्यबस्थित यस्तो सहर बन्ला भनेर कसैले बिश्वास समेत गर्दैनथे तर ‘अहिले जताततै सफा देखिन्छ,’ ब्यबस्थित र सरसफाइमा नगरबासी एकबद्ध भएकोले यो सम्भव भएको तिलोत्तमा-५ निवासी पिताम्बर पाण्डेले बताए।७ बर्ष अगाडिको मणिग्राम र अहिलेको मणिग्राममा धेरै फरक भएको बताउदै पाण्डेले नगरपालिका भएपछि बाहिरबाट आउनेले मणिग्राम नचिनेर चोकमा रोक्दै सोध्ने गरेको उनको भनाई छ। आखिर सबैले मिलेर गरे गाउँठाउँ सफा हुने उनको बुझाइ छ । नगरपालिकाले पनि विभिन्न मध्यम बाट प्लास्टिक जन्य पदार्थ र सरसफाइमा कडाइ गरेपछि अहिले फोहोरको रुपमा फ्याकिने सबै किसिमका बस्तुहरु ९० प्रतिशत कम भएका छन्। अपवादमा केहि ठाउँमा सामान्य लापरबाहीले देखिने र त्यसको निगरनिपछी स्वत: मानिसले हटाउने या बिसर्जन गर्ने गरेको तिलोत्तमा नगरपालिकाका बाताबरण शाखा हरियाली प्रबर्धन तथा सरसफाई कार्यक्रम संयोजक गोरख नाथ खनालले बताए।
अहिले ‘ग्रिन तिलोत्तमा, क्लिन तिलोत्तमा’ सफाइ अभियान चलिरहेको छ । २०७६ फागुन ३० गतेबाट सुरु अभियानले तिलोत्तमालाई मुलुककै नमुना र पहिलो पूर्ण सरसफाइउन्मुख नगरपालिका बनाएको छ । यहाँका हरेक वडा, टोल विकास संस्था र जनसहभागिताले तिलोत्तमाको सफाइ अभियानमा हातेमालो गरेर आफ्नो क्षेत्रबाट सफाइ गर्ने गरेका छन् । विकास भनेको सडक, पसल निर्माण मात्र नभई सरसफाइजस्तो सामाजिक विकास पनि पालिका विकासको सूचक हो भन्ने अवधारणाअनुसार कार्यक्रमलाई निरन्तर अगाडि बढाइरहेको नगर प्रमुख वासुदेव घिमिरेले बताए । पहिलो प्राथमिकतामा राखिएको सरसफाइ अभियानबाट थोरै बजेटले ठूलो परिवर्तन सम्भव भएको उनले सुनाए । ‘महिनाको १ र १५ गते हरेक टोल, वडा र गाउँमा सरसफाइ गरिन्छ,’ उनले भने, ‘त्यसबाहेक ज्यालादारीमा खटिएका ४० कर्मचारीले दिनहुँ फोहोर संकलन गर्ने र व्यवस्थापन गर्ने गर्छन् ।’ चोकचोकमा राखिएका डस्टबिनमा फोहोर राख्ने बानी यहाँका हरेक नागरिकको बनिसकेको छ । जनस्तरबाट नगरे केही हुन्न भनी जनसहभागितामै सरसफाइमा जोड दिइएको घिमिरेले बताए ।
हाल नगरपालिकामा सार्बजनिक शौचालय, सडककै छेउछाउमा बायो चर्पी, रुख बिरुवाको नियमित सरसफाई, काँटछाँट गोडमेल, पार्क , उद्धान , बिग्रिएका सडक मर्मत, पशुचौपाया ब्यबस्थापन, सडक मानव ब्यबस्थापन, फुलबारी, बिद्यालय उद्धान, नगरपालिका प्रसासनिक भवन पार्क, शाखा सडक छेउका बोटबिरुवा लगायत सबैखाले सरसफाई र ब्यबस्थापनको कार्य गर्दै आएको छ। करहिया सामुदायिक वन क्षेत्रमा रहेको सुखौरा खोला उकास क्षेत्रमा जनसहभागिता वास स्वास्थ्य सहकारी संस्था लिमिटेडले नगरका ७ देखि १७ वडासम्मको फोहोर संकलन गरी त्यसबाट आम्दानीसहित रोजगारी दिइरहेको छ ।
सहकारीअन्तर्गत ४० जना कर्मचारीले संकलन गरी ल्याएको फोहोर छुट्याएर तोकिएको मूल्यमा बिक्री गरिरहेको संस्थाका अध्यक्ष खेम गौतमले बताए । नबिक्ने फोहोर व्यवस्थापन चुनौती भइरहेकाले यूएनडीपी, नगरपालिका र आफूहरूको संयुक्त समन्वयमा पीजीआरपी (प्रोमोटरी ग्रिन रिकभरी प्रोजेक्ट) चलाई कम्पोस्ट मल बनाउने र पुनः रोजगारीसहित आम्दानीको स्रोत बढाउने तयारी भइरहेको उनले जनाए । ‘उक्त प्रोजेक्ट सञ्चालनको सहमति भई काम अघि बढेको छ,’ उनले भने, ‘अब थप ढाइ सय जनाले काम पाउनेछन् भने घरघरमा कम्पोस्ट मल बिक्रीपश्चात् आम्दानीसमेत हुनेछ ।’
४ करोड लगानी अनुमान गरिएको प्रोजेक्टका लागि संस्थाको २ करोड रुपैयाँ फोहोर मैला व्यवस्थापनमा लगानी हुनेछ भने बाँकी यूएनडीपी र नगरपालिकाले सहकार्य गर्नेछन् । नगरको फोहोर व्यवस्थापनका लागि १ देखि ६ वडासम्म वातावरण सुन्दर नेपाल प्रालिले काम गरिरहेको छ । तिलोत्तमा–५ स्थित तिनाउ खोलानजिकै खाली जग्गामा काम नलाग्नेलाई खाल्टोमा पुरिने र प्रयोग हुनेलाई कम्पनीको सेग्रिगेसन सेन्टरबाट बिक्री गर्ने गरिएको प्रबन्ध निर्देशक बलभद्र पुरीले बताए ।
कमेन्ट गर्नुहोस्