
तिलोत्तमा सिटी, ३० भदौ २०७८। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माण गर्न बाँकी रहेका निजी आवासलगायत संरचनाको पुनर्निर्माणसम्बन्धी बाँकी काम सम्बन्धित निकायमा हस्तान्तरण गर्न थालिएको छ ।बुधबार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा आयोजित एक कार्यक्रममा पुनर्निर्माण हुन बाँकी निजी आवास, बस्ती विकास, सरकारी एवं सार्वजनिक भवन, स्वास्थ्य संस्था, शैक्षिक संस्था, गुम्बाहरु तथा सडक एवं पुलहरुको काम सम्बन्धित निकायमा हस्तान्तरण गरिएको हो ।
गत भदौ ९ गते प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको प्राधिकरणको निर्देशक समितिको २० औं बैठकले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणद्वारा पुनर्निर्माण गर्न बाँकी रहेका कार्यहरु सम्बन्धित निकायहरुमा हस्तान्तरण गर्ने निर्णय गरेको थियो। पुनर्निर्माण गर्न बाँकी रहेका कार्यहरु हस्तान्तरण भए पनि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण भने आगामी पुस १० गतेसम्म क्रियाशील रहनेछ । यसबीचमा प्राधिकरणले धरहरा, रानीपोखरी, सिंहदरबार एवं नारायणहिटी दरबार संग्रहालय परिसरमा रहेको रणोद्दीप दरबारको पुनर्निर्माणको कार्य हेर्नेछ । साथै, लेखा परीक्षणका अतिरिक्त हस्तान्तरण गर्ने कामहरुको सहजीकरण, लेखा परीक्षण र अन्तर्राष्ट्रिय सम्मेलनका कामहरु पनि सम्पादन गर्नेछ ।
कमेन्ट गर्नुहोस्