लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

कमलले जिते तेक्वान्दोमा स्वर्ण पदक,चुकिन् पलेशा

tillotmacitynews - 2021 Sep 03 04:25 PM
IMG

तिलोत्तमा सिटी,१८ भाद्र २०७८,शुक्रबार। दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत तेक्वान्दोको पुम्सेतर्फ स्वर्ण विजेता कमल श्रेष्ठले १०औं कोरियन एम्बेसडर राष्ट्रिय खुला भर्चुअल पुम्से तेक्वान्दो प्रतियोगितामा शुक्रबार स्वर्ण जितेका छन् ।पुरुष १८-३५ वर्ष उमेरसमूहमा नेपाल प्रहरीका कमलले ७.७३ अंक जोडे । ७.३९ अंकसाथ प्रहरीका प्रेमबहादुर लिम्बू तथा ७.३० अंकसाथ प्रहरीकै जितबहादुर बोट र ७.१० अंकसाथ नेपाल आर्मीका कृष्णबहादुर तामाङ तेश्रो भए ।१३ औं सागमा प्रेम र जित कांस्य तथा कृष्ण रजत विजेता हुन् । यो स्पर्धामा १३ औं सागका कांस्यधारी शिशिर श्रेष्ठ र अश्विन रावतले पनि प्रतिस्पर्धा गरेका थिए ।नेपालस्थित दक्षिण कोरियाली राजदूतावासको सहयोगमा नेपाल तेक्वान्दो संघद्वारा आयोजित प्रतियोगिताको पुरुष यू–११ मा एब्सुलुट डोजाङका सुभन गुरुङ पहिलो, एब्सुलुटका एरिक राणा दोश्रो तथा एब्सुलुटका अपिल गुरुङ र स्युचाटारका अनिश श्रेष्ठ तेश्रो बने । उक्त स्पर्धाको महिलामा एब्सुलुटकी गुनमाया गुरुङले स्वर्ण, जैसिदेवलकी मुबिक्क्षा गजुरेलले रजत तथा अल्फाकी एरिता पुन र गोदावरीकी सनन्दा घिमिरेले कांस्य जिते ।



प्रतियोगिताको युवा तथा खेलकुद मन्त्रालयका सचिव केदार न्यौपाने र नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क चोङ सुकले एक कार्यक्रमबीच संयुक्त उद्घाटन गरे । उक्त अवसरमा राजदूत सुकले पदक विजेतालाई पुरस्कार स्वरुप प्रदान गरिने तेक्वान्दो सामाग्री तेक्वान्दो संघका अध्यक्ष प्रकाशशमशेर राणालाई हस्तान्तरण गरेका थिए ।सातदोबाटोस्थित तेक्वान्दो एकेडेमी भवनबाट सञ्चालित तीनदिने प्रतियोगितामा ३ सय ९० पुरुष र २ सय ३ महिला खेलाडी गरी जम्मा ५ सय ९३ खेलाडीको सहभागिता रहेको आयोजक तेक्वान्दो संघका उपाध्यक्ष समेत रहेका प्रतियोगिता संयोजक भानु चन्दले जनाएका छन् ।प्रतियोगिताअन्तर्गत व्यक्तिगतको पुरुष/महिलामा ६–६ गरी १२, पेयर र टिममा ६–६ गरी १२ तथा फेमिली र तेक्वान्दो एरोबिकमा १–१ गरी २ सहित कुल २६ स्पर्धा समावेश छन् ।यसै प्रतियोगिताबाट दक्षिण कोरियाले आयोजना गर्ने कोरियन एम्बासडर भर्चुअल पुम्से विश्व च्याम्पियनसिपका लागि नेपालबाट सहभागी हुन १६ खेलाडीको छनोट गरिने छ । कोरियन एम्बासडर भर्चुअल पुम्से तेक्वान्दो प्रतियोगितामा विश्वका विभिन्न राष्ट्रमा पनि भइरहेको तेक्वान्दो संघले जनाएको छ । 




पदक जित्नबाट चुकिन् पलेशा

यता जापानमा जारी टोकियो पारालम्पिक २०२० मा नेपालबाट सहभागी एक मात्र खेलाडी तेक्वान्दोकी पलेशा गोवर्धन रिपेज फाइनलमा पराजित भएकी छन् । के ४४ क्याटगोरी अन्तर्गत महिला ५८ केजीमुनि तौलसमूहमा प्रतिस्पर्धा गरेकी पलेशा कास्य पदकका लागि भएको रिपेज फाइनलमा चिनिया खेलाडी युजी लिसँग १२–९ ले पराजित भएकी हुन् ।टोकियोमा भएको खेलमा पलेशाले पहिलो राउण्डमा ४–२ ले अग्रता बनाएकी थिइन् । तर दोस्रो राउण्डमा लय कायम राख्न नसक्दा युजी लिले ५–० ले नतिजा आफ्नो पक्षमा पार्दा पलेशा ७–४ ले पछि परिन् । तेस्रो तथा अन्तिम राउण्डमा दुवै खेलाडीले ५–५ अंक स्कोर गरेपछि चिनियाँ खेलाडीले १२–९ ले खेल जितिन् ।दोस्रो राउण्डमा अंक जोड्न नसक्दा पलेशाले पदक जित्न सकिनन् । त्यसअघि पहिलो खेलमै बेलायती खेलाडी बेथ मुनरोसँग पराजित भएकी पलेशाले रिपेजमा प्रतिस्पर्धा गर्ने अवसर पाएकी थिइन् ।पलेशाले रिपेजको क्वाटरफाइनलमा अमेरिकी खेलाडी ब्रियान्ना सालिनारालाई १०–० ले र सेमिफाइनलमा सर्वियन खेलाडी मारिजा मिसेभलाई २३–१५ ले हराएकी थिइन् ।पारालम्पिकमा तेक्वान्दो यसै संस्करणदेखि समावेश गरिएको हो ।


कमेन्ट गर्नुहोस्