
तिलोत्तमा सिटी,१५ भाद्र २०७८,मंगलबार। एएसबीसी युथ तथा जुनियर बक्सिङ प्रतियोगितामा सहभागी भई ३ खेलाडीसहित ४ सदस्यीय नेपाली बक्सिङ टोली मंगलबार स्वदेश फर्किएको छ ।टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य एवं नेपाल बक्सिङ संघका वरिष्ठ उपाध्यक्ष अर्जुनबहादुर केसी, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।६ खेलाडीले प्रतिस्पर्धा गरेकोमा मंगलबार स्वदेश फर्किने तीनै खेलाडी पदक विजेता हुन् । प्रतियोगिता अगष्ट २० देखि ३१ तारिखसम्म दुबईमा भएको थियो । ३ खेलाडीसहित ७ सदस्यीय टोली भने यसअघि नै फर्किसकेको नेपाल बक्सिङ संघले जनाएको छ ।
पुरुष जुनियर ५४ केजीमा छिरिङ वाङदी शेर्पाले कास्य जिते । क्वाटरफाइनलमा कुवेतका खेलाडीलाई ५–० गोलले पराजित गर्दै छिरिङले सेमिफाइनलमा स्थान बनाएका थिए । सेमिफाइनलमा छिरिङ ताजकिस्तानका खेलाडीसँग चुके । पछि यो स्पर्धामा ताजकिस्तानका खेलाडीले स्वर्ण नै जिते । घरेलु प्रतियोगितामा चावहिलको बक्समाण्डुबाट खेल्ने छिरिङको यो दोस्रो अन्तर्राष्ट्रिय प्रतियोगिता हो ।महिलातर्फ जुनियर ५२ केजीमा स्वस्तिका तिरुवा तथा युथ ५७ केजीमा नारिका राईले कास्य पदक जिते । पहिलो चरणमा वाइ पाउदै सेमिफाइनलमा पुगेपछि दुवैको कम्तीमा कास्य पदक सुनिश्चित भएको थियो । सेमिफाइनलमा दुवै भारतीय खेलाडी पराजित भए । कास्य विजेता खेलाडीत्रयले १ हजार अमेरिकी डलर नगद पुरस्कार जिते । बाँकी तीन खेलाडी सुलभ माली, इन्द्रबहादुर सुनार र सुदेन गिरी पहिलो चरणबाटै बाहिरिएको पदक विजेता खेलाडीसँगै स्वदेश फर्किएका प्रशिक्षक दीपक महर्जनले जानकारी गराए ।
अध्यक्ष अवालेले खेलाडीको सफलताले बक्सिङ परिवार मात्र नभई सिंगो मुलुकलाई गौरवान्वित तुल्याएको धारणा व्यक्त गर्दै नेपाली खेलाडी पनि कोहीभन्दा कम छैनन् भन्ने सन्देश दिन सफल भएको बताए ।
कमेन्ट गर्नुहोस्