लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

शान्त बुद्धभुमि लुम्बिनी,स्वर्गीय आनन्दको स्थल

tillotmacitynews - 2021 Aug 05 04:18 PM
IMG

तिलोत्तमा सिटी,२१ साउन २०७८,बिहिबार। शान्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थल लुम्बिनी ४० को दशकताका खासै चर्चामा थिएन । ५० को दशकबाट चर्चामा आउन थालेको लुम्विनी बौद्धमार्गी मात्र होइन, अहिले शान्तिप्रेमी स्वदेशी र विदेशी पर्यटकहरुको मनमा बसेको छ । बौद्ध मार्गीहरुको धार्मिक केन्द्र मात्रै होइन, लुम्विनी बौद्ध दर्शन अध्यन र अनुसन्धान गर्नेहरुका लागि पनि महत्वपूर्ण स्थल हो ।त्यसो त शान्त वातावरण, चराचुरुङ्गीहरुको आवाज, फुलफुलैको बगैंचाका साथै चारैतिर नेपाली तथा विदेशी कला संस्कृति झल्काउने विभिन्न विहार तथा चैत्यहरु एवं चरा अवलोकनका लागि पनि लुम्बिनी कम आकर्षक नभएको होइन ।शान्त वातावरणमा रमाउन चाहनेहरुका पर्यटकहरुका लागि यो निकै उपयुक्त स्थल हो । परिवारका वा साथीभाइको साथ लुम्बिनी घुम्न आएमा यहाँ दिन बितेको थाहै हुँदैन । यहाँको मनोरक प्राकृतिकको दृश्यमा पर्यटकहरु निकै रमाउने गर्छन् ।


यहाँ वर्षेनी लाखौँको संख्या तीथार्लु, पर्यटक तथा अध्येताहरु आउने गर्दछन् । विश्वभरका बौद्ध धर्मालम्वीहरुका लागि लुम्बिनी महत्वपूर्ण तीर्थस्थल हो ।यहाँ आउने प्रत्येक पर्यटकलाई लुम्बिनीले मोहनी लगाउने गर्छ । यहाँ करिब २ सय ५० प्रजातिका चराहरु, जसमध्ये सारस लगायतका दुर्लभ प्रजातिहरु छन् । यसको जैविक विविधता र मनोरम प्राकृतिक दृश्यले प्रकृतिविद, वनस्पतिविद, जीवशास्त्रीहरुलाई लुम्बिनीले मोहनी लगाउँछ । अहिलेको मौसम लुम्बिनी घुम्नका लागि उत्तम मौसम हो ।ई.पु ६२३ मा यहाँको सुन्दर बगैचाँमा मायादेवीको कोखबाट गौतम बुद्धको जन्म भएको थियो । उनी जन्मिने वित्तिकै सात पाइला हिँडेको किम्वदन्ती छ । सन् १९९७ देखि लुम्बिनी विश्व सम्पदा सुचीमा सुचीकृत छ ।


लुम्बिनीको मुख्य आकर्षण केन्द्रविन्दु भनेको मायादेवी मन्दिर हो । बुद्धको जन्मदृश्यसहितको प्राचीन मायादेवी मूर्ति मायादेवी मन्दिरभित्र अवस्थित छ । मन्दिरभित्रका भग्नावशेषहरु ई.पू. पाँचौँ शताब्दीदेखि सातौँ शताब्दीसम्मका छन् ।चौथो शताब्दीमा निर्मित मूर्तिले बुद्धको जन्म दृश्यलाई देखाएको छ । आमा मायादेवीले सहाराका लागि दाहिने हातले रुखको हाँगा समातेकी छिन् । दायाँतिर छेउमा उनकी बहिनी प्रजापति उभिएको देखिन्छ भने दुई देवगणहरु बुद्धको स्वागतका लागि तयारी अवस्थामा देखिन्छन् र नवजात बुद्धको मूर्ति बीचमा देखिन्छ ।


त्यस्तै मायादेवी मन्दिर परिसरमा अशोक स्तम्भ र पवित्र पोखरी रहेको छ । ई.पू २४९ मा सम्राट अशोकले स्थापना गरेको अशोक स्तम्भमा कुँदिएका शिलालेखले गौतम बुद्धको जन्म लुम्बिनीमा भएको तथ्य ऐतिहासिक प्रमाण दिन्छ । यो स्तम्भ ढुगांले बनाइएको छ ।यस्तै अशोक स्तम्भको दक्षिणमा पवित्र पोखरी अवस्थित छ । मायादेवी बुद्धलाई जन्मदिनु भन्दा अघि उक्त पोखरीमा नुहाउनु भएको र साथै बुद्धलाई प्रथम स्नान गराई शुद्ध बनाइएको थियो भन्ने विश्वास रहेको छ ।


साथै मन्दिर परिसरमा एउटा बोधिवृक्ष समेत रहेको छ । उक्त वृक्ष तल मायादेवीले बुद्धलाई जन्म दिएको किम्वदन्ती छ । लुम्बिनी आउने पर्यटकले उक्त पवित्र वृक्षका पातहरुसमेत लैजाने गर्दछन् । यहाँहरु बौद्ध धर्मालम्वीहरुका लागि ध्यान केन्द्र रहे पनि मायादेवी परिसरको फूलैफूलको बगैंचाको शान्त वातवरणमा ध्यान गर्न गर्दछन्। त्यस्तै मान्दिर परिसरमा बाहिर उत्तर दिशातर्फ शान्तिदीप छ । जुन २४ घण्टा नै जलिरहन्छ । अदभुत मानिएको यो दीप पानी पर्दा समेत निभ्दैन ।दीपसँगै रहेको नहरमा लुम्बिनीमा आउने पर्यटकहरु डुंगा चढेर पनि रमाउने गर्छन् । लुम्बिनी गुरुयोजना अन्र्तगत लुम्बिनीलाई सौन्दर्य दिनका लागि करिब एक किलोमिटर दुरीसम्म बनाइएको नहरमा डुंगा चल्ने गर्दछ ।


कसरी जाने लुम्बिनी ?

अन्य पर्यटकीय स्थलभन्दा गौतम बुद्धको जन्मस्थल लुम्बिनी पुग्नलाई निकै सहज छ । लुम्बिनी रुपन्देही जिल्लामा अवस्थित छ । देशको कुनै पनि स्थानबाट सार्वजनिक वा निजी सवारीमार्फत् लुम्बिनी पुग्न सकिन्छ । त्यस्तै हवाइमार्गबाट आउन चाहनेहरु हवाइजहाजबाट पनि लुम्बिनी घुम्न आउन सक्छन् । छोटो दुरीमा लुम्बिनी जानका लागि पहिला भैरहवा शहर पुग्नुपर्दछ । भैरहवाको बुद्ध चोकबाट लुम्बिनी २० किलोमिटरको दुरीमा पर्दछ । भैरहवाबाट लुम्बिनीको पुग्न राम्रो सडक छ ।भैरहवाको बुद्धचोक पुगेपछि उक्त चोकबाट सार्वजनिक बस वा ट्याक्सीमा सहजै लुम्बिनी पुग्न सकिन्छ । सार्वजनिक बसमा जादाँ प्रत्येक व्यक्ति ४५ रुपैयाँ भाडा लाग्ने गर्दछ भने ट्याक्सीमा जानका लागि एक हजार २ सय रुपैयाँ लाग्ने गर्दछ ।लुम्बिनी घुम्नका लागि रिक्सा, ट्याक्सीको सुविधा लिन सकिन्छ भने सवारी नचहानेका लागि पैदल पनि घुम्न सकिन्छ ।लुम्बिनी आउने पर्यटकहरुका लागि यहाँ होटलहरुको पनि व्यवस्था रहेका छ । पर्यटक अनुसारको यहाँ होटलहरुमा बास बस्न पाइन्छ । एक रातको एक हजारदेखि लिएर ५ हजार रुपैयाँसम्म पर्ने यहाँ होटलको कोठाहरु पाइन्छन् ।यहाँ सस्तो र महंगो दुवै होटल उपलब्ध छन् । लुम्बिनीमा पर्यटकहरुको धेरै खर्च हुँदैन । किनभने यहाँ खाद्यवस्तु बजार दररेट अनुसारकै हुनाले महंगा छैनन् ।


कहाँ कहाँ घुम्ने ?

आउने जाने समय छाडेर लुम्बिनी मात्रै घुम्नका लागि एक/दुई दिनले पुग्छ । तर, बुद्धसँग सम्बन्धित अन्य स्थान पनि भ्रमण गर्ने हो भने ३/४ दिन भ्रमण प्याकेज टुर बनाएमा उत्तम हुनेछ । मुख्य भनेको लुम्बिनी हो जुन घुम्नको लागि एक दिनले पुग्छ ।


तिलौराकोट

त्यसपश्चात दोस्रो दिन बुद्धले आफ्नो जिवनकालको २९ वर्ष बिताएको शाक्य राज्यको राजधानी कपिलवस्तु जिल्लाको तिलौराकोट घुम्न सकिन्छ । जहाँ बुद्धले ज्ञान प्राप्त गरी कपिलवस्तु आउँदा पहिलोपटक आफ्ना बुबा शुद्धोधनलाई भेटेका थिए । यो स्थान लुम्बिनीदेखि २८ किलोमिटर दक्षिण पश्चिम क्षेत्रमा पर्छ । लुम्बिनीबाट तिलौराकोट जानका लागि सार्वजनिक यातायातको व्यवस्था छ । कपिलवस्तु पुगेपछि बुद्धसँग सम्बन्धित स्थल गोटिहवा, सग्रहवा, निग्लीहवा, अरौराकोट र सिसहनिया पनि घुम्न सकिन्छ ।


देवदह

त्यस्तै तेस्रो दिन रुपन्देहीको देवदह र नवलपरासीको रामग्राम घुम्न सकिन्छ । भैरहवादेखि करिब ३५ किलोमिटर पूर्व प्राचीन कोलिय वंशको राजधानी देवदह स्थित छ । यो बुद्धको आमा मायादेवीको माइतीको रुपमा चिनिन्छ । बुद्धत्व प्राप्तिको ७ वर्ष पछि गौतम बुद्ध देवदह आएका थिए । देवदह वरिपरि अन्य पुरातात्विक स्थलहरु रहेका छन् ।


रामग्राम

यस्तै नवलपरासीको रामग्राममा रहेको सात मिटर अग्लो स्तुपमा बुद्धको अस्तु रहेको छ । उक्त स्तुप रामग्रामका राजाले बनाउन लगाएका थिए । झराही खोलाको किनारमा अवस्थित रामग्राम स्तुप इटाद्धारा निर्माण गरिएको छ । यो स्थल भैरहवादेखि २४ किलोमिटर र नवलपरासीको सदरमुकाम परासीदेखि ४ किलिोमिटर दक्षिणीपूर्वमा पर्छ । सलमान खान/ साभार अनलाइन खबर 

कमेन्ट गर्नुहोस्